पर्देशबाट घरको सम्झना


दसरा मसराका साथ ह्रस्व र दीर्घका गेडा नकेलाइ पढ्ने भए असलै छ ।

बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्काएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?

खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?

बैंसालुहरुलाई जिस्कन हिलो छ्याप्ता हुनन् बाउसे
मायालुहरु इत्रिंदै मुसुमुसु बाँड्दा हुनन् दोपरे
“छ्या है जिस्कन लाज छैन यसरी” रोपार भन्दा हुनन्
ब्यासी फाँट असारका डिमिडिमे बाजा बजेका हुनन् ।।

खोल्सा मूल फुटी छङछङे छाँगा बनेका हुनन्
छाँगा छङ्छङको सुसाहट झिकी उर्लिरहेका हुनन्
बरीका हरिया मकै ती भरिला घोगा फलेका हुनन्
नास्पाती र अनारका रुखहरु लच्किरहेका हुनन् ।

अग्ला ती हिमशैलका चमकले मैलाई ब्यूँझाउँछन्
पाखा फाँट र ब्याँसीका मुटु भरि झल्का सधैं आउँछन्
आमा हिक्क निकाली ‘पुत्र तँ कता लागिस् !’ भनी तड्पी हुन्
च्याङ्बाकी जननी लुकेर गहका आँसुहरु पुस्ती हुन् ।।

गोठालाहरुका सुसेलीहरुले गुन्जन्छ होला बन
सल्लोघारी सुसाई प्रेमीहरुको सङ्लन्छ होला मन
आफ्नो गाउँ सपार्नलाई कतिले कुटे समाते हुनन्
ढाक्रेका हुलले गलो भरी नयाँ गाना सुसाए हुनन् ।।

पोथ्रा रुख भए हुनन् कि बिरुवा नौला पलाए हुनन्
बर्साको हरियालीले प्रकृति नै अर्कै बनेकी हुनन्
भुन्टे भो कि जवान नानीहरुको सुर्ता यहाँ लाग्दछ
भोकै मागिहिंडे कि या ती बिचरा रोए कि झैं लाग्दछ ।।

वर्षाका दिनमा उजाड सरीका पर्देशको ठाउँमा
आफैंदेखि भगाई आज कसरी बेचेंछु यो भेसमा
आफैंलाई ठगेर जिन्दगी डुब्यो के पाप मैले गरें
आफ्नो देश समाजबाट पर गै साँच्चै म ज्यूँदै मरें ।।
२०३३ साल, असार काठमाडाै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *