लगौंटिया साथीहरुसँग बरालिदै
हातमा गुलेली अनि
कट्टुका इँजारघर भरी
कमेरे मट्याङ्ग्रा बोकेर
उन्मुक्त अल्लारे भै
डाँडा पाखा अनि बन फाँट
चहार्दाका ती स्वप्निल स्मृतिले
चस्काइरहँदा, झस्काइरहँदा
मिठो सपनामा हराउन पुग्छु
बितेका ती मधुपलहरू सम्झदै
कुत्कुती र भावुकता बीच
घरी भक्कानिन थाल्छु
घरी मुस्कुराउन थाल्छु
लुटेरा वर्तमान ! मेरो अतित नखोसिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ
स्वर्णिम बालापनका पलहरुमा
खोलाका दहहरुमा निर्वस्त्र पौडेर
स्वर्गानन्दीय शीतलता लुटियो
आमाका सुर्के थैली र सन्दुकबाट
सञ्चित द्रब्य लामोहात गरेर
खोपी र गुच्चामा उडाइयो
खोला र वनबिहारमा बरालिएर
शानले खिर्रोपाते पान चपाउँदै
बडोपनको सुखानुभूति गरियो
नाङ्लाको कुँडुले बाहनलाई
छाताको घुङ्ग्रे करङले ठेलेर
सिँगाने ओठले सीटी फुक्दै
गाडी कुदाइ खेल खेलियो
निश्ठुरी बिपना ! मेरो सपना घुराइदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ
झुम्रे गोल, गुच्चा, पाङ्रा
अनि डण्डिबियो खेलाईमा रमेका
मेरा चञ्चले बाल्यकालहरू
अनिच्छामै शान्त बनिदिए
बुबु,लिटो र मामका स्वादहरुमा
भिजेको मेरो लपलपे जिब्रो
नअघाई भोको बनिदियो
अबोध चकचकमा रमाउने
मेरो धुन्धुकारी बालकपन
रहरै नपुगी भद्र भैदियो
हिलोमाटोमा नाङ्गैभुतुङ्गै खेल्ने
मेरो निर्लज्ज बालत्व
परिबन्दको दास भैदियो
तानाशाह समयचक्र ! मेरो अतित फर्काइदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ
ढाकाको पेटे भोटोभित्र धड्किने
नटखट बाल धड्कनहरू अनि
कटकटे नाक र लिसे जुल्फी लिएर
फुत्रुङ फुत्रुङ हिड्दै खोपिएका पदचापहरू
समयको तुफानले मेटाइसके
लाड्प्यारको कवच पहिरेर
तोते बोलिले संसार मागेर
पाएको त्यो बरदानी क्षणले
मलाई बिदाइ गरिसक्यो
घुर्क्याईको अचुक अस्त्रले
मागहरुलाई तारो हानेर
लक्षभेदित ती सुखद पलहरू
मेरो हिरासतबाट भागिसके
कठोर बिपना ! मेरो सपना नलुटिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ
भगवानले मसँग भिक्षा मागे
म उनीलाई निसर्त
समय यात्राको भिख दिन्थें
जुन वरदानी दातव्यमा
एउटा बृद्द यात्राी रथ चढेर
बाल्यकालीन संसारमा पुग्न सकोस
त्यो ऐश्वर्य कालखण्डमा
चिन्तारहित खुशीको धुले आँगनमा
लडिबुडी गर्दै खेल्न पुगोस
त्राशरहित बिपनामा पनि
स्वप्निल यथार्थताको खुशीमा रमोस
मात्रृस्तनको अमृत पानसँगै
लोरी सुन्दै निदाउन पाओस
समय साऋणी ! कृपया उल्टो घुमिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ ।
इति
–राजेश आधिकारी

आहा
आहा