Skip to content


कुरो हो नैराश्यताको, वेदनाको, वेदनाभित्र लुकेको विवशताको, छल, धोका अनि कुटिलताको, चेतना शून्य मानवताको, छियाछिया भएको निःशब्द, निर्मलता र कुण्ठित चञ्चलताको, निस्तेज, विवश, निर्जीव आत्माको, सजीवबाट पराजित निर्जीव प्रकृतिको, घृणाको, तिरस्कारको, दुव्र्यवहारको । छि केके हो, केके नामै लिएर नसकिने कुण्ठा अनि प्रवृत्तिको ।

एउटा टिठलाग्दो विडम्बना भनुँ वा मर्मस्पर्शी वेदना, निरीह बागमतीको करुण व्यथा अनि पुकार ! रुँदारुँदा कहिल्यै नथाकेकी बागमती र त्यससँग सहसम्बन्ध जोडिएको म ।

कुरा वागद्वारदेखि अविरलरूपमा बग्दै आएकी बागमती र तिनै बागमतीसँग दैनिकरूपमा ८/१० घण्टा वार्तालाप गर्ने मबीचको हो । पत्यार लाग्दैन मलाई तर पत्याउनुपर्ने, करिब १० वर्ष बितिसकेछ बागमतीसँगै दैनिक वार्तालाप गर्न थालेको पनि । यस १० वर्षको अवधिमा अन्तरङ्ग सम्बन्ध गाँसिएछ म र मेरी बागमतीबीच ।

बागमतीको तिरैमा मेरो कर्मथलो छ, जहाँ म दैनिक करिब ९ देखि १० घण्टा बिताउने गर्छु । मेरो आश्रयस्थल पनि बागमतीको करिब ५ मिनेटकै वरपर पर्छ । मेरो आश्रयस्थलदेखि कर्मथलोसम्म आइपुग्न हिँडेर करिब २० मिनेटको यात्रा तय गर्नुपर्ने हुन्छ । जुन बागमतीको तिरैतिर आउँदा सबैभन्दा छोटो पनि हो । यसलाई संयोग नै मान्नुपर्छ, नचाहँदानचाहँदै पनि बागमतीसँगै सहयात्रा गर्नुपर्ने । यसैले होला बागमतीका प्रत्येक पाइलामा म नजर राख्ने गर्छु ।

अब त बागमती चिटिक्क पर्लिन्, कोरीबाटी गर्लिन्, सिँगारिएर लजाउँदै मेरोसामु आउलिन् अनि उनका फिँजारिएका केशहरू फहराउँदै आˆनो उपस्थितिको बोध गराउलिन् भनेर कुर्दा कुनै कुन बेला बागमती वयोवृद्ध भइसकिछन् पत्तै भएन । यो १० वर्षको अवधिमा ममा केही शारीरिक परिवर्तन आए पनि, कपालमा फाट्टफुट्ट सेता रौं देखापरे पनि चालढालमा खासै प्रभाव परेको छैन । कहिलेकाहीँ कल्पनामा रमाउँदा, विगतका दिनहरूलाई सम्झेर ल्याउँदा अस्ति मात्र जस्तो लाग्छ, मैले बागमतीलाई आँखा झिम्काएको तर आज तिनै बागमतीलाई हेर्दा उनी र मबीच जिजुहजुरमुमा र पनातिको सम्बन्ध जोड्दा खासै फरक नपर्ला किनभने उनी वयोवृद्ध भइसकेकी छन्, जीर्ण अवस्थाकी सायद अब थलाबाट उठ्न सक्दिनन् होला कि Û

हिजो मात्र यसो हेरेको त उनका सर्वाङ्ग शरीरभरि महारोग फैलिएर विसेकै नहुने घाउहरू जसबाट यत्रतत्र दुर्गन्ध फैलिएको, मानिसहरू नाक खुम्चाउँदै मुखमा रुमालले ढाकेर उनीबाट टाढा भाग्ने प्रयासमा यत्रतत्र दौडिएको देख्दा मन असहृय हुन्छ । टिठ लागेर आउँछ, आँखा त्यसैत्यसै रसाएर छछल्किन्छन् ।

उनलाई महारोग लागेको पनि धेरै भइसक्यो । उपचार र संरक्षणको अभावमा अब त उनका प्रत्येक घाउहरू फुटेर छताछुल्ल भइसकेका छन्, जसलाई देखेर असहृय भई मन पीडाले अमिलो हुन्छ । लाग्छ, अब त उनको उपचारका लागि सामाजिक एकता जुटाउनुपर्ने हो ।

बीचमा एकपटक बागमतीलाई सोधेको थिएँ साह्रै सञ्चो छैन कि कसो ? उनले गहभरि आँसु पारेर भनेकी थिइन्- “खै अब त आशा मरिसक्यो, उपचारले पनि छुँदैन होला ? तिमीलाई थाहा छैन र ? म त दीर्घरोगी भइसकेँ, कालको पर्खाईमा छु, उपचार र सहयोगको अपेक्षा छोडिसकेँ । अब त लाग्दैन मलाई कसैले मेरो नाममा दुई थोपा आँसु पनि झार्दिन्छ भनेर । मेरो लागि सोचिदिने फुर्सद कसलाई छ र । सबै मलाई मार्न चाहन्छन् । मेरो अस्तित्व मेटाई मरणोप्रान्त मेरो तस्बिरमा माल्यार्पण गर्न चाहन्छन् । निरश भावमा पोखिएका ती वेदनाहरू सम्झँदा भक्कानो फुटेर आउँछ । मुटु छियाछिया हुन्छ र भन्न मन लाग्छ- के संसारबाट मानवता हराइसक्यो ?

फुटेका कानले कहिलेकाहीँ सुन्ने गर्छु- मेरी बागमतीको उपचारको नाममा कैयौँ डलरहरू भित्रिएका छन् रे Û उपचारका लागि हजारौँ डाक्टर, अस्पतालहरू लागिपरेका छन् रे । क्याप्सुल, ट्याबलेट र टनिक दिने कि वा पूरा शरीर नै चिरफार गर्ने भनी ठूलाठूला सेमिनार र गोष्ठी पनि भएका छन् रे । पाँच तारे होटेलका मिटिङ हलहरू डाक्टर, कम्पाउण्डर र नर्सहरूले छ्याप्छ्याप्ती भरिएका छन् रे तर पनि बागमतीको हालत उस्तै, घाउहरू अझ बढ्दै छन् । घाउबाट पिप निस्कनेक्रम जारी छ, टाउकोदेखि खुट्टोसम्म फुकुण्डो आएर हेर्न मात्र नसकिने हो र अगाडि पर्नै नसकिने अवस्था भएको छ तर पनि आशा छ मलाई- बागमती निको हुन्छिन्, जाति हुन्छिन्, हाँस्न, खेल्न र बोल्न थाल्छिन्, नाति-नातिनालाई खित्का छोडाएर हँसाउँछिन्, नचाउँछिन् र जुरुक्कजुरुक्क उचालेर सारा संसार घुमाउँछिन् । सारा संसारलाई चकित पार्दै आˆनो उपस्थिति बोध गराउँछिन् । मेरोसामु लजाएर पुनः मलाई कुतकुती लगाउँछिन्, मेरी बागमती फेरि मेरो सामु पक्कै लजाएर आउँछिन् ।

-झौखेल-४, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *