समयको पाइला–ध्वनि सुनेर आफूलाई हरेक बिहान अपडेट गरिराख्ने मनप्रसाद सुब्बा


(मनप्रसाद सुब्बा चर्चित भारतीय नेपाली कवि हुन् । भारतीय नेपाली कविताको इतिहासमा उनको योगदानलाई भुल्ने हो भने त्यहाँको कवितात्मक इतिहास अपाङ्ग भएको महसुस गर्छ । कविता र काव्यका गरी करिब एक दर्जन कृतिका यी स्रष्टा वर्तमानमा पनि कविता लेखनमा सक्रिय भएर लागिरहेका छन् । कविताकर्ममै लागेबापत भारतीइ अकादमी पुरस्कारजस्तो गुणवत्तापरक पुरस्कार हात पारिसकेका यी स्रष्टासँग हामीले केही पहिले मेलवार्ता गरेका थियौं । कस्तो थियो त उनीसँगको भलाकुसारी । प्रस्तुत छ सो जस्ताको तस्तै ।)

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?

मप्रसु – थोरै समानता र धेरै असमानताहरू छन् । मेरा आमा–बाबु निरक्षरप्रायः अनि पारम्परिक सोचका थिए र उनीहरूले खेती–किसानी तथा बनीबुतो गरेरै हामीलाई बढाउने–पढाउने काम गरे । मेरा छोराछोरीका आमा–बाबाहरू आधुनिक तथा समकालीन सोच राख्ने भएकाले उनीहरूको बाल्यकालमा त्यै अनुरूप प्रभाव पर्नु स्वाभाविक हो ।

२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नुभयो ?

मप्रसु – धेरै सङ्घर्ष र साधनाले यहाँसम्म आइपुगिएको छ ।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझी सक्नुभयो ?

मप्रसु – जीवन कहिल्यै बुझिनसकिने रहस्य लाग्छ । केही बुझेजस्तो पनि लाग्छ फेरि कत्ति पनि नबुझिरहेछु भन्ने पनि लाग्न छोड्दैन ।

४) के रहेछ त वास्तवमा हाम्रो जिन्दगी भनेको ?

मप्रसु – मानिसझैँ विकसित चेतनशीलले मात्र जीवनको अर्थ सोध्छ त्यसैले जीवन भन्नु यै चेतना हो जीवनको अर्थ नसोध्नेहरू शरीर मात्र जिउँछन् ।

५) कृतिहरू कति छन् ? तपाईं अँझै कति कुनकुन विधाका कृतिहरू निकाल्ने योजनामा हुनुहुन्छ ?

मप्रसु – सातवटा कवितासङ्ग्रह, एक उपन्यास, तीनचारवटा अनुवाद कृतिहरू छन् । कविता विधामा अँझै तीनवटा शृङ्खलाबद्ध कविताका योजनाहरू छन् । दुईवटा जति लेख–सङ्ग्रहहरू र आत्म संस्मरणको एक पुस्तक तयार पार्ने योजना छ ।

६) तपाईंलाई आफ्नो मौलिक कृति निकालेपछि कस्तो अनुभूति हुने गर्छ ?

मप्रसु – आफ्नो मौलिक कृति आफूले भनेजस्तै, चित्तपर्दो कलेवरमा र आफूले भनेकै समयमा निस्कँदा निकै ठूलो सन्तुष्टिको अनुभूति हुन्छ ।

७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ?

मप्रसु – आफ्नो जीवनसित केही हदसम्म सन्तुष्ट छु । पूर्ण सन्तुष्ट सायद् महायोगीहरू होलान् । हामी सायद् कैयौं असफल जीवनहरूसित आफ्नो जीवन दाँजेर सन्तुष्टि लिइरहेका हुन्छौं । फेरि कति यस्ता पनि देख्छौं जो केही नभई केही नगरी पनि सन्तुष्ट बाँचिरहेका लाग्छन् । त्यसैले सन्तुष्टि–असन्तुष्टि भन्नु सापेक्षिक कुरा मात्र हुन् ।

८) भारतीय नेपाली साहित्यिक गतिविधिलाई तपार्इँका दृष्टिमा कसरी मूल्याङ्कन गर्नुभएको छ ?

मप्रसु – भारतीय नेपाली साहित्यको आफ्नै इतिहास र आफ्नै सामाजिक–राजनैतिक पृष्ठभूमि छ जसमाथि उभेर यहाँको साहित्यले आफ्नो स्वरूप प्राप्त गर्छ । त्यसो त नेपालको नेपाली साहित्यबाट यसले पर्याप्त प्रभाव ग्रहाण गरेकै छ तथापि भारतीय नेपाली साहित्यको आफ्नो विशिष्ट स्वर र स्वरूप ।

(९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?

मप्रसु – मानिसको जीवनमा कैँयौँ आधारभूत जैविक र मनोवैज्ञानिक आवश्यकता जस्तै हो यौन पनि । मानिसको व्यक्तिगत जीवनमा साथै समग्र मानव–समाजमा नै यसले सृष्टिदेखि नै अह म भूमिका खेलिरहेको छ । त्यसैले, जीवनको अनुभूति र मानव–समाजको यथार्थ चित्रण गर्ने साहित्यमा यौन जस्तो कुरो कसरी अनावश्यक र निरर्थक हुनसक्छ ? यत्ति हो कि हरेक कुरोको उपयोग र दुरुपयोग हुन्छ । सृजनात्मक लेखनमा नग्न यौनको पनि आफ्नै सौन्दर्य हुन्छ तर अरू नै उद्देश्यको भद्दा लेखनले यसलाई अश्लील तुल्याउन सक्छ ।

१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनु भएको छ ?

मप्रसु – अढाई दशक अघिका अधिकतर कृतिहरूमा आधुनिकतावादी वर्चस्व अँझ कायमै रहेको पाइन्छ जीवन–जगत्का तात्विक गम्भीर प्रश्नहरूबाट प्रभावित देखिन्छन् । ती लेखन र ती गम्भीर प्रश्नलाई उनीहरूले उस्तै गम्भीर भाषा–शैलीमा अभिव्यक्ति दिए । त्यस्ता अभिव्यक्तिले उस्तै गम्भीर पाठकको माग गर्नु स्वाभाविक हो तर यस्ता पाठक थोरै हुन्छन् । आम पाठकहरू आधुनिकतावादी लेखनबाट टाढा रहेका कारण पनि यही हो । हुन त त्यस समय पनि थिए भूपी शेरचन जस्ता लोकप्रिय कवि अनि लेखकहरू । पछिल्लो समयका समकालीन लेखन बढी समाजमुखिरहेको छ अनि त्यसै अनुरूप लेख्य भाषा र शैली पनि सरलता र सहजतातिर उन्मुख छ । लेखन बढी अनौपचारिक र पत्रकारीय देखिन्छ । जीवनको तात्विक प्रश्नमा नउल्झेर यहीँ र अहिल्यैको कुरामा बढी चासो राख्छ –समकालीन लेखनले ।

११) तपाईलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?

मप्रसु – नेपालीमा अहिले धेरै राम्रा कृतिहरू आइराखेका छन् । आख्यान विधामा जगदीश घिमिरेको ‘सकस’, नयनराज पाण्डेको ‘लू’, अमर न्यौपानेको ‘सेतो धरती’, बुद्धिसागरको ‘कर्णाली ब्लूज’ मैले पढ्न पाएका केही नामहरू हुन् । अरू धेरै संस्मरण, नियात्रा र निबन्ध विधाका कृतिहरू छन् ।

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु पर्यो होला ?

मप्रसु – संसारमा यतिका मान्छेहरू छन् जीवन जिउने, तपाईंले नै किन जिउनुपर्यो यो जीवन ? मलाई अन्तर्वार्ता लिनेहरू कैँयौं छन्, तपाईंले नै परिश्रमपूर्वक अन्तर्वार्ता किन लिनुपर्यो होला ?

१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईका विचारमा नेपाली साहित्यमा यसको प्रयोग केकसरी भैरहेको छ ?

मप्रसु – आँशिक रूपमा यसको उत्तर माथि प्रश्न –१०मै दिइसकेको छु । माथिको उत्तरबाहेक छोटोमा भन्नुपर्दा उत्तरआधुनिकताले कुनै पनि कुराको प्रभुत्व तथा केन्द्रीयतालाई अस्वीकार गर्छ । यसले बहुलार्थ (ओपन–एन्डेडनेस्) र सर्वसमावेशिता (अल–इनक्लुसिवनेस्) –मा विश्वास गर्छ । समसामयिक नेपाली साहित्यमा यसको प्रयोग धेर–थोर भइराखेको छ ।

१४) अब जीवनको धोको के रहेको छ ?

मप्रसु – जीवनमा धोको नै भन्ने कुरो मेरो पहिले पनि थिएन र अहिले पनि छैन । बस् जीवनलाई आफ्नै ढङ्गमा बाँच्न चाहन्थें अनिरहल जिन्दगी त्यसरी नै बाँच्न पाऊँ ।

१५) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?

मप्रसु – समयको पाइला–ध्वनि सुनेर आफूलाई हरेक बिहान अपडेट गरिराख्ने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *