बाधा नपार मेरा मेची र कालीलाई
भो भो सहन्न तिम्रो हाली मुहालीलाई ।।
यो देशको सीमानामाथि नगाढ आँखा
लाखौ अडाडि सर्लान् को छोड्छ जालीलाई ।।
थाप्लो उठाई उच्चा पारेर बाँच्न सक्छौं
सियो नठान साथी तातो छ फालीलाई ।।
चोखो र तथ्य के हो हेक्का रहन्छ हाम्रो
छुट्याउने छ बानी छोक्रा र छालीलाई ।।
हामी सपार्न सक्छौं हाम्रै छ बाटिका यो
काँढा र फूल के हो थाहा छ मालीलाई ।।
