शिथिल शरीर, वाक्य बसिसकेके अवस्था, लम्पसार परिरहेकै थिएँ । झिँगाहरू अनुहार, घाँटी, हात, खुट्टा, नाकका प्वालभरि ठेलमठेल गरेर पस्दथे, जहाँजहाँ मन लाग्यो त्यहाँत्यहाँ आउँथे, निर्धक्क बस्थे, आफ्नै सुरमा मस्तले चर्थे र उडेर जान्थे । यस्तो लाग्थ्यो कि अब मलाई झिँगाहरुले एकलौटी रुपमा आफ्नो नाममा नामसारी गरिसकेका छन् । घरका सदस्यहरू छेउछाउमा रहुन्जेल झिँगा आक्रमणबाट म मुक्त भए पनि एक दुई दिनको कुरा नभएको र महिना दुई महिनासम्म झिँगाको गोठालो लागेर साध्य नहुने भएकोको घरका सदस्यहरू यता उता भएपछि झिँगाको साम्राज्य मेरो शरीर हुने गरेको थियो । त्यही माथि फुर्सद पनि त मिल्नुपर्यो नि । जति नै ठूलो परिवार भए पनि आमालाई घरधन्दाको चटारो, दिदीहरुलाई घाँस, दाउरा, गाईबस्तु, अनि भाइ बहिनीलाई पढाइ । उसो त फुर्सद मिलेका बेलामा परिवारका सबै सदस्यले स्नेहधारा बर्साउँदै वरिपरि बसेर भएभरका झिँगा नधपाएका कहाँ हुन् र ?

यसरी नै दिन बिते, हप्ता बिते र महिनामहिना पनि बिते । म कहिले चेत अवस्थामा त कहिले अचेत अवस्थामा लडिरहेँ लडिरहेँ । मेरो ठुलो डाक्टर वा सुविधासम्पन्न अस्पताल उनै आमा हुनुहुन्थ्यो । बेलाबखत अनेक अनेक स्वादका टर्रा, खल्ला, तीता हेर्दै खलपत्रे झोल ल्याउनुहुन्थ्यो । आशा र निरासामिश्रित आँखा टिलपिल पार्दै मेरो टाउको आफ्नो काखमा थपक्क तानेर राख्नुहुन्थ्यो । बटुकाको झोल खुवाउन थाल्नुहुन्थ्यो । मलाई लाग्थ्यो आमाले खुवाएको यो सञ्जीवनीको झोलले अबचाहिँ च्वाट्टै पार्ला कि ? सकिनसकी चुपचाप पिइदिन्थेँ म । हुन त त्यो झोल नमिठो छ आमा भन्न मसँग नबोली थियो न बोल्ने तागत नै थियो । नाकैमा बसेर ठ्वाङ्ग ठ्वाङ्ग ठुँगेर हैरान गराउँने झिँगो धपाउँनेसम्म सामर्थ्य गुमाइसकेकी मलाई यो खान्छु यो खान्न भन्ने जाँगर पनि थिएन र रहर पनि थिएन । मेरो निम्ति के दिन के रात सबै एकनास थिए । मलाई न उठ्नु थियो न हातमुख धुनु थियो न त बुरुक्क उफ्रदै, रमाउँदै, खेल्दै स्कुल जानु थियो । मलाई देख्नासाथ म्याँ म्याँ गरेर खोले माग्ने प्यारा मुनेहरुले मलाई नदेखेको महिनौँ भैसकेको थियो । मलाई लाग्थ्यो तिनीहरुले मेरो बाटो हेरेर खोले घाँस पाउने आस नै मारिसकेका थिए । तिनले मलार्ई बिर्सिसकेका थिए । गोठमा झाले गोरु घाँस हाल्न जाँदा पनि फ्वाँ गरेर मलाई तर्साए झैँ गरेर जिस्क्याउँथ्यो, हान्न चाहिँ कहिल्यै हान्दैनथ्यो, त्यसले पनि मलाई फ्वाँ गरेर जिस्क्याउँन नपाएर न्यास्रो मान्दै होला, म चूपचाप सुतेर यिनैका मायामा हराउँन पुग्छु, अनि व्यथाले च्यापेर कष्ट भएपछि मीठो कल्पना भङ्ग हुन पुग्छ ।

सिरानी छपक्क भिजेको हुन्छ । म साबिककै ओछ्यानमा त्यही हालमा रहेको हुन्छु । बाल्यकालको चञ्चले मन न हो कहिले पौवा खोला र बैजनाथ खोलामा पौडी खेल्न पुगेँ । कहिले स्कुलको साँस्कृतिक कार्यक्रममा गीत गाउन र नाच्न पुगेँ, काली भैसीँका ढाडैमा चढेर उसैसँग पौडिएँ । चौथीका काँक्रा चोरेर खाएँ । घरमुनिको ठूलो आँपको टुप्पोमै पुगेर घामको किरणले सिन्दुरे रङ्ग हालेको चम्किला आँपहरू छानी छानी खाएँ । त्यही ओछ्यानमा कल्पनाका अनेक अनेक घटनासँग हाँसेको छु र रोएको पनि छु ती घटनाबारे मलाई उति चासो पनि छैन अब । यी सबै कुरा भुलिसकियो अब ।

तर एक दिनको अविस्मरणीय घटनालाई चाहेर पनि भुल्न सकेको छैन मैले । न त त्यो घटना पुरानो हुँदै गएर विस्मृत नै हुन सकेको छ । त्यो सत्य घटनाकी मुख्य नायिका भएर फर्किएको मान्छे हुँ म । जहिल्यै ताजा घटना झैँ दिमागमा झलझली आउने त्यही घटनाबारे भन्नकै लागि त आज कलम समातेकी हुँ मैले । यो घटना पनि उही मैले एकोहोरोसँग एकै ‌ओछिनमा पल्टेका बेलाकै हो । महिनौँदेखिकै साबिककै ओछ्यानमा म सुतिरहेकी थिएँ । मेरा आँखा खुलै थिए, मेरा आँखा एकाएक एउटा अनौठो दृष्यमाथि ठोक्किन पुग्छन् । मैले कोठाको दलिन हैन खुला आकाश देखिरहेकी थिएँ । आकाशबाट हेर्दैमा शान्त स्वभावका, पँहेला बस्त्रमा सजिएका, आम मान्छेहरुभन्दा अलि ठूलो आकारका लोभलाग्दा मान्छे वादल डुलेको चालमा सानोसानो ढुंगा जस्तो वाहन चढेर बिस्तारै म भएतिरै आउँदै थिए । उनले बडो स्नेहभावले एक टकसँग मलाई हेरिरहेका थिए । मानौँ मेरी आमाले टर्रो झोल खुवाउँने बेलामा मेरो अनुहार हेरिरहेकी छिन् । मेरा आँखा पनि एक तमासले उनको अनुहारमा परिरहे । यस्तो लाग्दथ्यो उनले चढेको विमान स्वचालित नै थियो उनले विमानको उडान र अवतरणका लागि केही गरेकै थिएनन् । उनको ध्यान मप्रति मात्रै थियो । विमान भने मन्दमन्द गतिमा मेरो ओछ्यानतर्फ आफैँ अवतरण हुँदै थियो । मेरो सम्पूर्ण ध्यान तिनै दिव्य अनुहार भएका विमानमा बसेका मान्छेतर्फ मात्र थियो । यस्तो लाग्थ्यो कि उनको म कोही हुँ र उनी मेरा कोही न कोही हुन् । हामी एक अर्कालाई एक तमाससँग हेरिरहेका थियौँ । हेराइले नै उनले मेरो मन जितिसकेका थिए । जब उनी मेरो नजिक आए बडो प्रेमपूर्वक मेरो टाउकोमा हात राखे, उनको स्पर्शले म अँझ आनन्दित बन्न पुगेँ । सत्तेसत्ते छिनमै उनको प्रेममा चुर्लुम्म डुबिसेककी थिएँ । उनले मलाई उठाएर आफ्नो काखमा राखे, पराई मान्छे जस्तो लागेको भए पो आमा, बा, दिदी भाइ, बहिनी गुहारेर चिच्याउथेँ र ? कसैलाई सझिनँ र सहर्ष बसिदिएँ उनको काखमा । जब म उनको काखमा पुगेँ विमानले अघि अवतरण गर्दाकै गतिका साथमा फेरि बिस्तारै आकाशतर्फ उचाइ लिँदै गयो । म उनकै काखमा आनन्दले बसिरहेँ, बसिरहेँ, बसि नै रहेँ…….. । कति समय उनको काखमा बसेँ भन्ने त यकिन छैन ममा । केही समय पछि त्यो स्वर्णिम कल्पनाबाट झल्याँस्स ब्यूझिँएँ म । साँझ पर्नपर्न लागेको बेलुकी पखको समय हुँदो हो, म ब्यूँझिँदा महिनौँदेखि सुतेको साबिकको ओछ्यानमा रहिनछु । साबिकको कोठा पनि थिएन । साबिकको तलामा पनि थिइनँ । अँझ भनौँ म मेरो घरको छानो मुनि नै थिइनँ । खुला आकाशमुनि थिएँ ममाथि मेरो घरको छानो नभए पनि मलाई बेलुकीको रातो घामबाट जोगाउँदै मेरो ओछ्यानसम्म सँयल पार्दै घरको छानो मनिर आइपुगेको थियो । वरिपरि सयौँ मान्छेहरू बसिरहेका थिए, जो मेरा परिवारका सदस्यहरू मात्र नभएर नजिकका आफन्तजन, छरछिमेकका परिवारका सदस्यहरू समेत भएर मलाई एक टकले हेरिरहेका थिए । सबै मिलेर एकसाथ मेरै पालो पहरा गरिरहेका थिए । म झल्याँस्स ब्यूझिँदा सबैका अनुहारमा अनौठो भाव छल्किरहेको थियो । आमाको मुखबाट एउटा आवाज अएको सुनें “लु अब फर्किई” ।

त्यसरी फर्किएकी भवानी अहिले यहाँ यसरी कलम चलाइरहेकी छे । अब यो भवानी उही हो भनेर कसले पत्याउला र !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *