Skip to content

भाषणमा पहाड फोरिन्छ

“जात गोत्रथर पनि कसैले परिवर्तन गर्दैमा परिवर्तन हुन्छ ? मान्छे जुन परिवारमा जन्मियो उसको त्यही थर हो, जात हो र त्यही गोत्र हो । हामी महिला उहिल्यैदेखि सट्टापट्टाको वस्तुजस्तो हुँदै आएका छौंं । लोग्नेको चैं जात, थर गोत्र उही रहने अरे हामीले चैं बिहे गरेपछि फेरिनु पर्ने अरे । हामीलाई यो कुरामा अपमान र अन्याय गर्न पाइन्न….”
सामाजिक कार्यकर्ताका रुपमा सुपरिचित शकुन्तला थापाजीको महिला सचेतनाका लागि बोलिरहेका यस भाषणमा बिचबिचमा तालीको गडगडाहट थियो । आमसभा भएको टुँडिखेलको छेउमा सुरक्षा दिन उनकै पति इन्सपेक्टर चहकमान थापा अरु पुलिसका साथ पल्लो छेउमा गाडीभित्र बसेर उनकी पत्नीको भाषण सुनिरहेका थिए ।
भाषणमा अझ थपेकी थिइन्, “महिला भनेर अब नहेपियोस्, हाम्रो इतिहास हेरियोस्, अवसर नपाएर मात्र हो वीर नारीहरुले जे पनि गर्न सक्छन्, जून तारा खसाउने कल्पना अब पुरुषले मात्र नगरुन् नारीहरु पनि सक्षम छन् । नारी वीराङ्गना हुन् उनीहरु नौला इतिहास कोर्न सक्छन् पहाड फोर्न सक्छन्…..”
झन् तालीको गडगडाहट भो । बाहबाह भो । कार्यक्रम सकियो ।
कार्यकर्ताले घेरेको हुँदा उही बेलुकीपख मात्र लखतरान घर आइन् । उनका पति अझ ढिलो केही खाने कुराहरु लिएर आए ।
“दूधचिउरा छ । कर्नफ्लेक्स र फलफूल पनि छ । त्यही खाएर सुतम है ।” प्रस्ताव राखिन् ।
“भैहाल्छ नि ! अनि त्याँ मैले ड्राइ पू्रmट्स ल्याएको छु । त्यो पनि खाऊँ न । पर्दैन भातसात पकाउनु यो गर्मीमा” भने ।
दुबैको कुरा मिल्यो । शकुन्तलाले खाने वस्तु तयार पारिन् । उनका पतिले सघाउपघाउ गरे । अनि टेलिभिजनमा खबर हेर्दै खान थाले । लोकल च्यानलमा शकुन्तलाको जोडजोडले अघि दिउसोको भाषण पो आइरहेको रहेछ ।
खाँदै गर्दा दाँते ओखर पनि फुटाएर खानु पर्ने भो ।
“फुटाउनु त यो” शकुन्तलाले भनिन् ।
“फुटाऊ न आफैं । भाषणमा ता पहाड फुटाउन सक्ने कुरा आउँदै छ त । त्यस्तो बहादुरी गर्नेले यति मुला दाँते ओखर पनि फुटाउन सकिन्न र !…” निकै कठोर व्यङ्ग्य गरे ।
“नकराउनु है बढी त्यो भाषणको कुरा हो …..!!” उनले चेपारा पारिन् ।
त्यसै बेला टेलिभिजनमा “….वीराङ्गना नारीहरु नौला इतिहास कोर्न सक्छन्, पहाड फोर्न सक्छन्…..” भनेर उनले स्रोतालाई जुरुकजुरुक उठाइरहेको दृश्य आइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *