“हेर्नुहोस् अँझ पनि म भनिरहेको छु । हाम्रो लागि यो बडो लाजलाग्दो कुरा छ । हाम्रो समाजबाट बालश्रमलाई कसरी निर्मूल गर्ने भन्ने कुरामा हामी धेरै सचेत छौ । वास्तवमा यो हाम्रा लागि मात्र नभई सारा दुनियाँकै लागि लाजमर्दो कुरा हो । बालश्रम र बाल शोषण जसरी पनि अन्त्य हुनुपर्छ ।”

“तपाईको भनाइ शतप्रतिशत सही हो । यसबाट हामीहरुले अन्तरराष्ट्रिय रुपमै इज्जत गुमाइरहेका छौ । होटलमा हेर्नु बालश्रमिक उत्तिकै छन् कारखामा हेरौ वा धरेलु कामदाका रुपमा हेरौ सवितर नै । बालबालिकाको सबै अधिकार पनि हामीहरुले लुटिरहेका छौ । उनीहरुले पढ्न पाउनु पर्ने खेल्न पाउनु पर्ने र अन्य समाजमा बसेर श्रमरहित जिन्दगी बाँच्न पाउने अधिकार पनि हामीले सबै बर्वाद पारिदिएका छौ ।”

“यसका अतिरिक्त हामीले बालश्रम कति उपयोग गरेका छौ भनेर विश्वले हामीहरुलाई हेरिरहेको पनि छ । हामीले अन्तरराष्ट्रिय इज्जत पनि गुमाइरहेका छौ । हाम्रो देशले उत्पादन गर्ने वस्तुमा बालश्रम प्रयोग भएको पाएर हाम्रो उत्पादन नै उनीहरुले बहिष्कार गरिरहेका छन् । अँझ पनि हामीले चेतेका छैनौ ।”
“हो नि ।”

होलीका दिन बेलुकातिरको कुरा हो । साथीसाथीहरू थिए धनवीर र रामदयाल । उनीहरू साँझको बेलामा यसो सेन्टेरमको सुर्को लगाएर होली मनाउने सुरसारमा थिए । यसैले फुर्सदको बेलामा कुरा गरिरहेका थिए ।

“ए धनवीर के कुरा मात्र गरिरहनु ? कि केही यसो बन्दोबस्त पनि गर्ने हँ ?” रामदयालले यसै बीचमा सोधे ।

“हो तिमीले अब सम्झायौ । म पनि कुरा गर्न थालेपछि भुलिहाल्छु । ए कनेरिया कता मर्यो यो । अहिलेसम्म पनि होली खेल्नु पर्ने यसलाई ?” कराए धनवीर ।

यसै बेला एक दस बार वर्षको केटो देखियो उनीहरुका अघि । उसका एक हातमा पानीले भरिएको बोतल थियो अर्को हातमा दुइटा गिलास थिए । गालीले डराएर उसका हातबाट एक गिलास भैमा खसेर चकनाचुर भयो ।

“फटाहा बदमास, लु हेर काम गरेको यसले !! नालायकले सत्यानास गर्यो । अब यसको तलबबाट नअसुली ता कहाँ छोड्छु र !!” कराए धनवीर ।

“दिउसो भरि खेल्नु छ पेट भरि खानु छ । मातिएर खपिसक्नु छैन । लु अब के हेरिरहेको । यो सबै फुटेको गिलासका टुक्रो उठा । अनि अर्को गिलास लिएर आइज । छिटो काम गर् नत्र खालास् चुटाइ ।”

“भैगो तिमी बढी नकराऊ न । यस्ताहरुसँग मुख लाग्नु हुन्न । तलबबाट काट्नु नि ।” रामदयालले भन्यो ।

“होस् यो सबै कुरा । बरु अलिक चाँडो केही लिन पाए हुने थियो । म पनि तिमीलाई बेर्थैमा कुराइरहेको छु !” धनवीरले भन्यो ।

एकै छिनमा केटाले फेरि अर्को गिलास ल्यायो । गिलास भरिए । गिलास मुखतिर घोप्टिन थाले । दुवै जना खानपिनमा मस्त हुन थाले अनि यो बालश्रमकै बारेमा गम्भीर बहस पनि जारिराखे ।

बालक भने उनीहरुको खानपानमा कतै कमी पो हुने हो कि भनेर सतर्क हुँदै कहिले के कहिले के ल्याएर टक्रयाइरहेको थियो । बेला बेला बाहिर सडकमा ऊ सरहका केटाकेटीहरुले रङ्ग खेलेर उफ्रिरहेको दृश्य हेर्न चाहेर पनि हेर्न पाइरहेको थिएन ।

2018-08-20 02:36:22 +0900

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *