Skip to content

पद्याङ्कन
होम सुवेदी

लेखककाे भनाइः
परालकाे अागाे, के नेपाल सानाे छ ?, खैराती मास्टर, श्वेत भैरवी, मैनवत्तीकाे शिखा, मातेकाे मान्छेकाे भाषण मध्यरातकाे सडकसँग यति कृति तलकाे नमुना अनुसार पद्यमा लगेकाे छु । काेही सहृदयी प्रकाशक अघि अाएर हात थापिदिनु भए अाभारी हुनेछु । नमुनाका रुपमा केही श्लोक तल छन् ।

गद्यका केही सामग्री पद्यबद्ध गरुँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
त्यसै लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमै हिंडें ।
मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यस्मा बैग्लै कुरा परे
यसैले यसका मर्म माथि बांगा चिरा परे ।
मैले यो जे गरें गर्नु पर्ने काम थिएन कि ?
केही सौन्दर्य थप्ला कि भन्थें, कामै दिएन कि ?
काव्यको घरमा यौटा इटा यो थपियो भने
मलाई धन्य मान्नेछु यस्ले काम दियो भने ।
मेरै लहड हो मेरै इच्छा हो यो यसै गरें
यसमा जे गरें मैले म आफ्नै भरमा परें ।
आँटैले मात्र यो काम हुँदैन सजिलो गरी
यसैमा भासिनु पर्छ अहोरात्र घुँडा धसी ।
कसै गर्दा घुँडा धस्न सकिएन म मान्दछु
जे भयो त्यो जुठो हाल्नु मात्रै भो यो म जान्दछु ।
बरु मौलिक लेखिन्छ आँटेर सजिलैसँग
ढाँटेर लेख्न पाइन्न यसलाई कसैसँग ।
हम्मे हम्मे प¥यो धेरै पद्यबद्ध गराउन
मूलको भावमा कैले थाल्थें आफू हराउन ।
मैलाई त्रास यो हुन्छ औंलो उठ्दछ मैतिर
मूलको जे थियो भाव हरायो कि कतैतिर ।
जे भयो जे भयो भैगो जे हुन्थ्यो त्यो भएनछ
राम्रो पार्ने थियो सोच सजिलै त्यो रहेनछ ।
दाउ पक्का थियो पार्ने कच्चै माल भए छ कि
भित्रको गुदी छाडेर बोक्रै पो उक्किएछ कि ?
माफ माग्छु दुबै हात जोडेर तिनका सँग
जसका कृतिमा मेरा हात नाचे मजासँग ।
माफ माग्दछु यो काम राम्रै हो भन्नु भो भने
तान्नुहोस् कन्सिरी मेरा नगर्ने काम हो भने ।
होम सुवेदी

के नेपाल सानो छ बाट केही अम्श
महाकवि देवकोटाको निबन्ध
के नेपाल सानो छ ?

‘नेपाल’ शब्दका साथ विशाल शान्त सुन्दर,
कुनै बेला म आफैंले लेखेंथे छ मनोहर ।

कसरी कसरी आयो यस्तो भाव म जान्दिनँ
त्यो विशेषणको शब्द किन लेखें म भन्दिनँ ।

के भनौं म यहाँ ऐले यसमा के छ साधना
मेरै नेपालका लागि आयो त्यो किन भावना ?

यो भूमण्डलको नक्सा पल्टाएर नियालिए
एक बिन्दु भनेजस्तो लाग्छ यो परिमाणमा ।

त्यहाँ देखिन्छ यो देश कण झैं एक बिन्दुमा
हराएसरी झंै लाग्छ थोपो सागर सिन्धुमा ।

कसैले यसको नाम सुनेका हुन सक्तछन्
नसुन्ने यसको नाम धेरै नै हुन सक्तछन् ।

शान्तिका राजको धानी, हरियो धर्तीको कण
सानो छ तर प्यारो छ खिचिन्छ यसमै मन ।

बढेर गर्न सर्वाङ्ग चाहँदैन प्रदर्शन
यो देखाउनमा भन्दा लुक्नमा रुचि राख्तछ ।

घम्साघम्सी र घच्चाले ढाकेको दुनियाँसँग
काढेर पसिना हिस्सा खोज्दैन यो कसैसँग ।

एकान्त शान्त यो देश शान्तिमा अलमस्त छ
समाधिस्थ हुने योगी यसैमा आई बस्तछ ।

ध्यानमा ज्ञानगङ्गामा अथवा हिमशैलमा
देश यो हुन्छ आह्लाद आफ्नो आफ्नै तरङ्गमा ।

नयाँ सिर्जनमा आस्था राखे तापनि देश यो
हाम्रो प्राचीन आस्थाको हाम्रै देश पुजारी हो ।

हिजैको सपना देख्छ ताजा स्वर्ण प्रभातको
आजका युगमा खेली लुकामारी गरे पनि ।

भन्लान् यो देश सानो छ, सानो छ तर स्वर्ग छ
हेर्दा अल्प छ यो देश हाम्रै आँखा समान छ ।

यहाँ जन्मनु हो पुण्य, कुरा हो अझ गर्वको
मुटुकै केन्द्र हो मानौं हाम्रा भारतवर्षको ।

महत्ता यसको बुझ्ने छैनन् भन्न म सक्तिनँ
तथापि यसको मर्म बुझ्लान् भन्न म सक्तिनँ ।

पर्वतस्तनका भित्र यसको गहिराइ छ,
पार्वतीको क्रीडा क्षेत्र थियो भन्ने भनाइ छ ।

ममा शङ्कोच यो छैन आफ्नो सत्य म जान्दछु ।
आफ्नो आकारमा सानो मेरो देश छ मान्दछु ।

साना हुन्छन् हीरा मोती, सानो हुन्छ अझै मणि
सानैमा प्रिय मानिन्छ मिष्टभाषी कुनै शिशु ।

आँखाको नानी झन् हुन्छ सानो सानै भए पनि
त्यो अमूल्य अझै हुन्छ झनै सानो भए पनि ।

सानोको गणना भित्र मान्छेको मुटु पर्दछ
त्यसैको केन्द्रको झल्का सानोमा अझ पर्दछ ।

सानोको के कुरा गर्ने सानो आफैं अनन्त हो
सानो ठान्नु ठूलो ठान्नु सोचकै परिणाम हो ।
त्यसैले म यसैभित्र अनन्ताकार देख्तछु
शान्त सुन्दरको देश ठानेर अझ लेख्तछु ।

पृथ्वीका शिरको बिन्दु परमानन्दको छटा
यो हो आेंकारको बिन्दु अथवा शिवको जटा ।

सानो भन्ने कुरा के हो अनि के हो ठुलो कुरा ?
मात्रै यो भ्रम हो हाम्रो ठुलो सानो हुने कुरा ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *