Skip to content

पतिपत्नीका सहकार्य

“…..हजुर नमस्ते सर । आज मेरो अन्तर्वार्ता छ… हजुर, हजुर गृहस्थ भन्ने च्यानलमा हो । यसो हेरेर प्रितिक्रिया दिनुहोला ।”
टेलिभिजन अन गर्दै पुष्पजीले आफ्नो साथीलाई फोन गरे अनि भान्सामा केके गरिरहेकी पत्नीलाई बैठकबाटै कराए “ए निर्मला लौ न अलिक छिटो गर । खाँदै हेर्दै गरौं । अन्तर्वार्ता आउने बेला भइसक्यो ।”
सधैं यो बैठकमै खाना ल्याउनु पर्ने बानी परिसक्यो हजुरको । डाइनिङको के काम !” अलिक झर्कंदै खाना सजाएर ल्याउँदै उनकी पत्नीले भनिन् र टिटेबुलमा खाना राखिदिइन् । अनि आफ्नो भाग पनि त्यहीं लिएर आइन् र त्यही‌ं बसेर दुबै जना खान थाले । टेलिभिजनमा पुष्पजीको अन्तर्वार्ता आउन थालेकोले दुवैको ध्यान त्यता गयो ।
उनलाई अन्तर्वार्ताकारले सोधे, “घरेलु जीवनलाई सुन्दर बनाउन के हुनु आवश्यक ठान्नुहुन्छ ?”
“हरेक काममा पति र पत्नीको सहकार्य हुनु जरुरी ठान्छु । घरभित्रका सबै काम एकापसमा मिलेर गरेका अवस्थामा सजिलैसँग गृहस्थी चल्छ अन्यथा घरमा तनाव हुन सक्छ ।”
यो सुनेर उनकी पत्नीले नाक खुम्च्याइन्, “उस्स्स् गर्यौ काम मिलेर….!” सोचिन् मात्र प्रकटमा केही भनिनन् ।
यसै बेला उनका पतिलाई गला लागकोले पानी खोजे । “पानी ता ल्याएकै पो रहेनछ, हेर यसको चाला ! खै पानी हँ ?” कराए । खाँदाखाँदै बिचैमा उठेर निर्मलाले पानी ल्याइदिइन् ।
अन्तर्वार्ता जारी थियो । “यहाँ पनि घरेलु कार्यहरुमा आफ्नी पत्नीलाई सहयोग गर्नुहुन्छ ?” सोध्यो अन्तर्वार्ताकारले ।
“अवश्य । म घरको आधा काम गर्छु । आफ्नी पत्नीको खुब ख्याल राख्छु । अरे पति पत्नी भनेका ता एक गाडीका दुई पाङ्ग्रा हुन् नि । एकले अर्कालाई नसघाई चल्छ र गृहस्थ !”
यसरी अन्तर्वार्ता आइरहेको बेला अचानक पुष्पजीका हातबाट दालको कचौरो छुट्यो र बैठकको कार्पेटमा दाल छरियो ।
“लौ हेर यही हुन्छ भनेर म डाइनिङमै खाऊँ भन्छु । अब आफ्नी पत्नीलाई खुब ख्याल राख्नेले आफैं सरसफाइ गर्नू ।” निर्मलाले भनिन् । तर उनका पति टसमस भएनन् । निकै बेरपछि पत्नी सफाइमा लागिन् ।
तर अन्तर्वार्तामा भने उनका पति बोलिरहेका थिए, “नारीहरु यसै पनि शारीरिक रुपमा सुकोमल हुन्छन् । उनीहरुलाई हरेक पुरुषले ख्याल गर्नैपर्छ….. !”
उनको यो कथन यता आइरहेको थियो उनकी पत्नी भने मरीमरी उनले गरेको फोहोर सफाइ गर्न लागिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *