द्रुतविलम्बितः
कति बिताउनु हो कविता पनि
सकल मानवको रमिता बनी
अब म छाड्दछु यो ‘क’ बिताउन
गजलमा बरु थाल्छु सुसाउन ।।
मुलुकभित्र भए सरी माफिया
बरु सबैतिर भर्दछु काफिया
अति छ कष्ट यहाँ ‘क’ बिताउन
छ सिजलो जल मा ‘ग’ मिलाउन।।
न घिमिरे जतिको हुन पाइयो
न त मिठो कविता रुन पाइयो
अब त दुर्लभ प्राज्ञ छ पाउन
गजलमै बरु थाल्छु सुसाउन ।।
गजलमा रमितै रमिता सब
गजलमै जल थप्नु पर्यो अब
मुख मिठ्याउन क्यै पनि पाइनँ
गजलमै बरु थाल्छु सुसाउन ।।
घनिघसाइ गरी कवि आउँछन्
कथित गर्धव राग सुसाउँछन्
म पछि पर्दछु तैपनि धाउन
गजल नै बरु थाल्छु सुसाउन ।।
गजलमा सजिलै रछ धाउन
बहर गाई र गोरु मिसाउन
गजलमै बरु थाल्छु सुसाउन
‘क’ तिर सक्तिन भेउ म पाउन ।।
२०७५ सालकाे गाईजात्राको अवसरमा पाठ गरिएकाे
