कैद भएको बेला
तिमी मेरासामु उपस्थित छौ
खोई, म के भनौँ तिमीलाई ?
म स्वयं लड्खडाएको बेला
तिमी सुस्तरी आएकी छौ
म खाली हात फर्काउन सक्तिन
म के सहयोग गरौँ तिमीलाई
स्वयं यादगार कैद भएको बेला ।
जति याचना गरे पनि
जति रुष्ट भए पनि
एक मुठ्ठी श्वास लिएर बाँच्ने हो मान्छेले
जति पुरुषार्थ गरे पनि
जति निःस्वार्थ भए पनि
एक पेट खाने हो मान्छेले
जति उचाइमा पुगे पनि
जति गहिराइमा डुबे पनि
एकसरो लगाउने हो मान्छेले
के जोहो गर्दै छौ तिमी ?
अब कुन मेलापात जाने हौ तिमी ।
यादगार कैद भएको बेला
प्रतिशोधको ज्वाला बलेको छ
मिथ्या आछेपले आक्रोशित भएर
किन तिमी म कहाँ आएकी छौ ?
विश्वास हराएको बेला
गङ्गाजलझैँ मग्न र गम्भीर छौ
मद्दतगारका लागि अडिएकी छौ
चारै युगकी जननी हौ
यथार्थकी प्रतिमूर्ति हौ
र त तिमी अटल छौ
खै म के भनौँ तिमीलाई
विश्वास र अविश्वासका दोसाँधमा
यादगार हराएको बेला
तिमी म कहाँ आएकी छौ
म विवश भएको बेला
विश्वास खोजिरहेकी छौ
म कर्ण पनि त होइन
कवच खाल उतारेर पहिराउन
यहाँ यादगार कैद भएको बेला
म भीष्म प्रतीज्ञा पनि त गर्न सक्तिन ।
-धनुषा
