यार्चागुम्बा टिपिरहेकी केटी

  • by


यही हिमालको फेदीमा
ऊ टिप्दैछे यार्चागुम्बा
हिउँजस्तै स्निग्ध मन लिएर ।
गाउँ केटाकेटी विहीन छ
मास्टरले स्कुल पनि
लेकतिरै सारेका छन् ।
साथीसँगै लेकमा उकालो लाग्दा
झोला भरिएको छ सामलले
मन भरिएको छ घरको मायाँले
तैपनि ऊ भोलि र्फकने आशमा
आफ्नै गन्तव्य रेखामा
आफैँलाई डोर्‍याउँदै छे ।
उसलाई थाहा छैन
केको औषधि हो यार्चागुम्बा ?
मात्र थाहा छ-
यार्चागुम्बा टिप्नु भनेको
पैसा कमाउनु हो ।
उसलाई त्यही पैसाले
किताब किन्नु छ ।
उसलाई त्यही पैसाले
एकजोर लुगा लगाउनु छ ।
दुई चारवटा चकलेट भाइबहिनीलाई
र अलिकति नुनतेल
बाआमालाई दिनु छ ।
हिउँ पहिरोको छातीमै छे ऊ
हिउँको चीसोले
कठ्याङ्गि्रएका उसका पैताला
र, कलिला हातहरूमा
बालअधिकारका कुनै दस्तावेज छैनन् ।
बालबालिकाले श्रम गर्नु नपर्ने
उज्याला भविष्यका सुदूर मार्गचित्र छैनन्
त्यसैले ऊ व्यस्त छे
यार्चागुम्बा टिप्न
र, यार्चागुम्बासँगै गाँसिएको भविष्य टिप्न ।

-दोलखा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *