Skip to content


उपत्यकामा रहेका प्रसिद्ध चार विनायकमध्ये एक हो सूर्यविनायक । सूर्यविनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् । एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए । उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरो मर्‍यो । मरेको छोरालाई ब्युँझाउन उनी पशुपतिनाथकै शरणमा पुगे । पशुपतिनाथले यहाँबाट हिँड्दै जाँदा भोलि सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ मेरो पुत्र गणेशले दर्शन देलान् उहीँ वर माग्नु भने । हिँड्दै जाँदा यही -हाल सूर्यविनायक रहेको) स्थानमा आई पुगेर बास बसे । भोलिपल्ट बिहान सूर्य पहिलो किरण परेको स्थानमा गणेश उत्पत्ति भई ब्ा्राहृमणको छोरो बचाइदिए । सूर्यको किरणसँगै उत्पत्ति भएको हुनाले सूर्यविनायक नाम रहेको मन्दिरका पुजारी बताउँछन् । पछि ब्राहृमण वृद्ध भएकोले आˆनो दर्शन गर्न आउन गाह्रो होला भनेर सूर्यविनायककै परिसरमा उत्पत्ति भएको कथन रहेको पाइन्छ ।

अरनिको राजमार्गको सूर्यविनायक चोकबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको सूर्यविनायक भक्तपुर दरबार क्षेत्रदेखि दक्षिण दिशामा घना जङ्गलको बीचमा रहेको छ । मन्दिरको द्वारअगाडिको अग्लो सिंढी चढेपछि मूल मन्दिर भएको स्थानमा पुगिन्छ । पूर्वतिर फर्केर रहेको मन्दिर अगाडि फराकिलो ढुङ्गा छापिएको खाली भाग रहेको छ, जहाँ दर्शनार्थीहरू पङ्क्तिहरू भएर बस्छन् । मन्दिरको बायाँ भागमा रहेको सत्तलमा दैनिक भजनकीर्तन गरिन्छ । मन्दिरको दाहिने भागमा रहेको ढुङ्गेधारा सूर्यविनायकलाई जल चढाउने कार्यमा प्रयोग गरिन्छ । मन्दिरको अगाडि रहेको मुसाको स्तम्भ आकर्षक रहेको छ ।

इँट्टाद्वारा निर्मित सूर्यविनायकको मन्दिर शिखर शैलीमा रहेको छ । सेतो रङको स्तम्भको गजूरबाट चारैतर्फ फर्किएका धातुका सर्पले मन्दिर शोभायमान देखिन्छ । मन्दिरको दायाँबायाँ धातुका चन्द्रसूर्याङ्कति झण्डा रहेका छन् । दुवैतर्फ रहेका विशाल घण्टसहितको निर्माण विक्रम संवत् १८९० को पौष शुक्ल सप्तमीमा पूरा गरिएको शिलालेखबाट प्रस्ट हुन्छ । यसको साथै भक्तजनहरूले विभिन्न समयमा चढाएका सयौं स-साना घण्टहरू मन्दिरको बायाँ भागमा छन् । मन्दिर अगाडि रहेको दुई सत्तलमा केही शुल्क लिएर विवाह बेलविवाह, व्रतवन्धजस्ता माङ्गालिक कार्य गर्न दिइन्छ । विवाह, व्रतवन्ध गर्न आउनेको भीड लाग्ने गर्छ । ती कार्य गर्नको लागि शुल्क तोकिएको भए पनि इच्छाअनुसार दिने गरेको मन्दिरसँग सम्बन्धित व्यक्तिहरू बताउँछन् ।

मन्दिरको गर्भभित्र शिलारूपी गणेशलाई भक्तजनहरू सूर्यविनायकको रूपमा पूजा गर्दछन् । सूर्यविनायकको आराधनाले कार्यमा सफलता पाइने विश्वास रहेको छ । गणेशको मूर्तिलाई आकर्षक बनाउन धातुकलाको उत्कृष्ट कलाले सिङ्गारिएको छ । मन्दिरको दाहिनेतिर विभिन्न देवीदेवताका मूर्ति रहेका छन् । दर्शनार्थीहरूलाई समेत घामपानी आदिबाट बचाउने गरी राखिएको पित्तले छानाको तल्लो भागमा विभिन्न बुट्टासँगै आकर्षक गणेशको मूर्ति छ । सूर्यविनायकबाट केही माथि डाँडामा माताको मन्दिर रहेको छ । बोली नफुटेका बच्चाहरूलाई माताको मन्दिरमा दर्शन गराएपछि बोली फुट्ने विश्वास गरिन्छ । सूर्यविनायकको मन्दिरभन्दा केही माथि माताको मन्दिरसँगै एउटा आकर्षक गुफा रहेको छ ।

सूर्यविनायकमा दैनिक दुई प्रकारका पूजा गरिने मन्दिरका मूल पुजारी माधवप्रसाद चालिसे बताउँछन् । स्थानीय गुठीपूजा बिहान ६ बजे गरिन्छ भने ८ बजे ब्राहृमणद्वारा नित्यपूजा गरिन्छ । नित्यपूजाको लागि गुठीमा रहेको जग्गाबाट भएको आम्दानीबाट गरिन्छ । गुठीको जग्गा नै पत्ता लाग्न नसकेको अवस्थामा नाम मात्रको आम्दान्ाीबाट पूजाआजा चलेको पुजारी बताउँछन् । यस मन्दिरमा गुठीले दैनिक भजनकीर्तन गर्ने गर्दछन् । मङ्गलबार दुई घण्टा र शनिबार बेलुकी रामायणको विशेष भजन गरिन्छ । भजनको लागि गुठीबाटै खर्चको व्यवस्था गरिएको छ ।

हिन्दू मान्यताअनुसार गणेशलाई बलि दिइने चलन नभए पनि नेवारी समुदायले कुखुरा, हाँस आदि बलि चढाएर सूर्यविनायकको पूजा गर्दछन् । धार्मिक विश्वास एवं मनोरम प्राकृतिक सम्पदाले भरिपूर्ण सूर्यविनायक विवाह, व्रतवन्ध आदि धार्मिक कार्यको साथै पिकनिक जानेहरूको पनि राम्रो गन्तव्यस्थल मानिन्छ । मन्दिरको स्याहारसुसार गर्ने कार्य द्यौलाहरूबाट गर्ने परम्परा छ । ३६ घरधुरीको पालो आउन कम्तीमा हप्ता दिनदेखि महिनौँसम्म कुर्नु पर्छ । द्यौलाहरूको आम्दानीको स्रोत यहाँ चढाइएका भेटी फलफूल र बलि तथा माङ्गलिक कार्यबाट उठेको रकम नै हो । एकदिनमा तीन जनासम्म द्यौपालाहरू रहन्छन् ।

विभिन्न समयमा मन्दिरमा निर्माणको कार्य हुँदै आएको थाहा पाउन सकिन्छ । मन्दिरको रूप दिने प्रथम श्रेय भने शाहवंशीय राजा राजेन्द्रलाई जान्छ । राजा महेन्द्रले पनि मन्दिर जीर्णोद्धार गर्न लगाएको यहाँ अवस्थित शिलालेखबाट प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *