Skip to content


सबै उस्तै रहन्छन्
उस्तैउस्तै हिजोजस्तै रहन्छन्
बाँच्नुसँग सम्बन्धित सारा वस्तु र मान्छेहरू
मृत्युपछि पनि
सबथोक उस्तै रहन्छन्
मृत्यु नआउञ्जेलको ठूलो त्रास
अनि ठूलो भ्रम
सधैँको भूकम्प
सम्झानासाथ सधैँको निराशा
मृत्यु
रगतसँग हरपल ओहोरदोहोर गरिरहेको हुँदोरहेछ
तर भुलेर मृत्युलाई
हामी अजम्बरी सपना निदाउँछौँ
बाँच्ने नाउँमा छाती ठोकेर
बाँच्नुसँगको अभिशप्त
सम्पूर्ण परिवेशसँग झुसिलकीरा छिर्न प्रयत्न गर्छौ
यो झुसिलकीरा जिन्दगी
एलर्जी मन र मस्तिष्कका लागि ।
मृत्यु नसम्झने त्यो सत्य रहेछ
कहिलेकाहीँको सम्झनाले
पूरा रात पोल्छ
आफैँभित्र आगो लाग्छ
सधैँसँगै बोकेको मृत्युसँग अप्राकृत तर्सिन्छौँ
फेरि दिन
सम्पूर्ण उज्यालो
यी पूर्व-पश्चिम
आफैँ बाँच्नुपर्छ, यो परिवेशका लागि
आँखा च्यातेर
बिरालो बाँच्दछ यो जिन्दगी ।
आखिर मृत्युपश्चात्
सधैँ हिँडिरहेको बाटो उस्तै लम्पसार सुतिरहेको हुनेरहेछ
सधैँ बसिरहने यो शयनकक्ष
उस्तै उज्यालो हुनेरहेछ
हजारौँ पटक खोलेका, बन्द गरेका यी झ्याल
घाम
अनि अँध्यारोसँग उसैगरी लठ्ठरिहने रहेछन् ।आˆनो मृत्युपश्चात्
यी साराका वस्तुहरू/सम्बन्धहरू चिसिने छन/भत्किनेछन् भन्ने लाग्छ मान्छेलाई
यो टेलिफोन सेटजस्ताको तस्तै
कयौँ मृत्युहरू देखिसक्यो
कयौँ औँलाहरू फेरिए यसमा
उस्तै छ/नम्बर उही छ
यसैबाट धेरैसँग जीवन हारेका आँसु
अनि जीवन जितका हाँसो धेरैले पोखेका हुन् ।
आँसु र हाँसो फरक छ
औँलाको स्पर्श फरक छ
टेलिफोन उस्तैउस्तै छ ।
यो आँगन आˆनो मृत्युपश्चात् मर्छ नै जस्तो लाग्छ
कयौँ मुलीहरूको मृत्यु देख्यो
न खुम्चियो न त कुनै परिवर्तन देखियो यसमा
यो हँसिया उद्याउने ढुङ्गा
यो पानी आउने धारा
सब उस्तै छन
ढुङ्गामा अझैँ हँसिया उद्याउन सकिनन्छ
धारामा अझै पानी आएकै छ
यो कुकुर केही दिन एकोहोरो रोएको हो
अहिले हरपल छोड्न नसक्ने अर्को मालिक समाएको छ
पूर्ववत् आवश्यकतामा भुक्छ ।
आखिर मर्ने मात्र हराउने रहेछ
यहाँ हुने जस्ताको तस्तै
रातदिन
ओहोरदोहोर गरिने यी ढोका
उस्तै त छन्
जो मर्दा पनि यी उस्तैउस्तै रहनेछन्
केही फरक पर्छ भने
श्रीमान्को मृत्युसँगै सिउँदो मर्न सक्छ
श्रीमतीको मृत्युसँगै विश्वास मर्न सक्छ
तर अरू त उस्तैउस्तै ।
श्रीमतीको आँखा/इच्छा
श्रीमान्को हाँसो अनि मन उस्तै ।
केही तागत हुँदैनरहेछ मृत्युसँग ।

-अर्घाखाँची

Leave a Reply

Your email address will not be published. Required fields are marked *