सत्ताकाे दम्भ छन्द:- उपजाति

छ देश प्याराे, मनमा बसेकाे।
लुटेर खाँदा, मन याे दुखेकाे।।
ती दुष्ट अाए, भिरि छद्म भेष।
बेचेर खाए, मनबाट देश।।१।।

सत्ता र भत्ता, मनमा छ ध्यान।
गर्दैन सेवा, गफमा छ सान ।।
बिकास के भाे, सब शून्य स्वाहा।
ठगेर मात्रै, कति खान्छ अाहा।।२।।

अाफन्त नाता, सब अासपासे।
च्यापेर काखी, गति मात्र फाले।।
भाेका र नाङ्गा, गरिबी छ ज्यादा।
हेर्दैन कैल्यै, कुदि हिड्छ टाढा।।३।।

बतास हावा, छ हुरी चलेकाे।
छ अाँसु धेरै, जनकाे झरेकाे।।
मान्दैन पीडा, बसि हेर्छ माथि।
सत्ता र भत्ता, कुरि बस्छ साथि।।४।।

बिकास भन्दै, जपि हिड्छ माला।
साेझा र निर्धा, ठगि बस्छ ज्यादा।।
हत्या र हिंसा, लुटपाट खालि ।
र चाेर डाका, तिनकै छ पालि ।।५।।

छाेरी र चेली, कलिला मुहार।
कस्ले सुन्याे ती,उनका गुहार।।
रेटिन्छ घाँटी, लगि ऊखुबारी।
के हेरि बस्या, सरकार माथि।।६।।

गुन्डा र झाेले, कति छन् भराैटे।
दायाँ र बायाँ, कति छन् कुराैटे।।
देखेर हामी, यिनको रवैया ।
भयाे बितृष्णा, मन रून्छ ज्यादा।।७।।

छन् भित्र अाँखा,तर छैन अन्धाे।
छन् कान सग्ला तर हैन बैराे।।
बाेल्दैछ उच्चै, तर छैन लाटाे।
बेताल नाँच्दै, किन हुन्छ बाठाे?।।८।।

पाल्दैछ स्वार्थै, दिनरात अाज।
चिन्दैन काेही, मद भा’छ अाज।।
सल्लाह अर्ती, किन मान्छ मत्ता।
डुक्रेर साँढे, कति बस्छ सत्ता।।९।।
धन्यवाद।
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *