Skip to content

गद्य कविता

म हुँ परदेशी

सानामा अामाका हातले
काे खाई काे खाई
मेराे नानी खाई गर्दा
खाना खाने
अनि अामाकाे न्यानाे काखमा
लोहरीकाे सुमधुर स्वर सुनेर
अानन्द मानि लुपुक्क निदाउने म
आज
म ठूलो भए पछि
तिनै ममतामयी अामाको
साथ छाेडेर टाढा
सात समुन्द्र पारि पुग्न बाध्ध भए

मलाइ थाहा छ मेरी आमाको दुःख
त्याग र सन्तान प्रतिको चोखो प्रेम
तिनै आमाको दुःख कष्टले
चाउरी परेकाे अनुहारमा
एक मुठ्ठी खुसी दिन सक्छु कि
अनि अाङमा एक सराे कपडा
दिन सक्छु कि भनी
म अामाबाट पर हुन बाध्य भए

म बिवश थिए गरिबीकाे बेराेजगारीकाे
त्यसैले त
घरबाट हजारौ कोश टाढा
बिरानो मुलुकको यात्रामा
निस्किएको म हुँ परदेशी!

अग्निलाई साक्षी राखी सात फन्को लगाई
जीवनभर दुःख सुःखमा सधै सगै बसौला भनी
पराईघर अाएकी जीवन संगिनीलाई चटक्क छोडेर
म निस्कन बाध्य थिए
मेरो बिदाइमा सुँक सुँक गर्दै पर बाटा सम्म
आँखाहरु बिछ्याएर हात हल्लाई रहेकी मेरी संगिनी
उफ!! यो कस्तो मेरो बिवशता??
तर
म बिवश थिए गरिबीकाे बेराेजगारीकाे
त्यसैले त
एक बिट्टाे पैसा कमाइ भबिस्यमा
साथ साथै बसौला
अहिले आफनो ख्याल गर है भन्दै
घरबाट हजारौ कोश टाढा
बिरानो मुलुकको यात्रामा
निस्किएको म हुँ परदेशी!!

ताराबाजी लै लै
मामा आए घोडा
माइजू आइन् डाेली भन्दै
मेरो बुई चढेर आनन्द लिने
ती कलिला अबोध छोरा छोरीहरुको
सुनौलो भबिस्यको लागि भनेर
म उनीहरूबाट अलग हुन बाध्य भए
म बिवश थिए गरिबीको बेराेजगारीकाे
त्यसैले त
सन्तानको खुसिको लागि भन्दै
घरबाट हजारौ कोश टाढा
बिरानो मुलुकको यात्रामा
निस्किएकाे म हुँ परदेशी!!

मेरो प्यारो जन्मभुमि
पुर्खाहरुको पसिना र रगतले
निर्मित पबित्र भुमि
छोडन त मलाई कहाँ रहर थियो र?
तर म बिवश थिए

किनकि
म नेता भएर धमिलो पानीमा माछा मार्न सकिन
बिदेसी ब्रान्डका महङ्गा व्हिस्की को चुस्की लाउदै
नेपाल आमाको अस्मिता लुटेको साक्षी बन्न सकिन
महङ्गा महङ्गा चिप्ला चिप्ला गाडी अनि आलिशान
महलहरुको सपना देख्न सकिन

रास्टवादको परिभाषा सत्ता र कुर्सी हो भन्ने बुझ्न सकिन
गोष्ठी,सेमिनार,भ्रमण अनि उपचार को नाममा
राज्यको ढुकुटी पैतृक सम्पत्ती झै हसुल्न सकिन
देशको सिमाना वैरीले मिचीरहदाँ पनि
प्रभु, मालिकहरु रिसाउलान कि भनेर
भक्त्ती भजन छोडन सकिन
म बिवश थिए मेरो स्वाभिमान बिवश थियाे

त्यसैले त
घरबाट हजारौ कोश टाढा
बिरानो मुलुकको यात्रामा
निस्किएकाे म हुँ परदेशी!!
म हुँ परदेशी!!

धन्यवाद।
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *