Skip to content

मेरो जकोस्टा आमाको समर्थनमा

महावाणी 
ओ ! मेरो जोकास्टा आमा 
अब म तिमीसित बिहे गर्छु,
र टाइरासीयस बूढोको छाला काढेर
एकजोर जुत्ता सिलाउँछु !
-श्री ५ हाङयुग अज्ञात
ओ ! मेरो जोकास्टा आमा 
जसरी नपुंशक समयको विरूद्घमा 
कुनै बेला
भर्जिन मेरीले येशु ख्रिष्ट जन्माइन्
तेसरी नै तिमीले जन्माइसकेकी छौ
बिना सम्भोग
बिना वीर्य
यौटा निख्खर र जब्बर मान्छे !
हो, आमा
त्यो धुर्मुस
त्यो घामट
त्यो अराजक
मै हुँ,
आमा मै हुँ त्यो आतङ्कवादी
जो महिनै नपुगी
तिम्रो पाठेघर च्यातेर
यो संसारमा निस्केको छ-
त्यो पापी मै हुँ आमा
जसले तिमीलाई कोखमै हुँदा पनि
लात्ती र मुट्कीले हान्यो
र आफ्नो शरीरभरि बाँध्यो आरडीएक्स
र तेसले खोजिरहेछ यतिबेला
कुनै बेनजीर भुट्टोको जुलुस
मेरो जोकास्टा आमा
त्यो आत्मघाती मै हुँ !
तिमीले जन्माइसकेकी छौ
बिना वीर्यवान पुरूष
यौटा यस्तो कुपुत्र
जसले सधैँ मार्छ इन्दिरा गान्धी
थुन्छ आङसाङ सुकी
डाम्छ इमा गोल्डमेन
र पढाउँछ धर्मका पाठहरू
कि तिमी मेरोलागि
मेरो करङबाट बनाइएकी
मेरो दासी हौ
म तिम्रो मालिक हुँ-
ओ जोकास्टा आमा
तिमीले छोरा जन्माइसक्यौ
र त
यौटा मालिक जन्माइसक्यौ
अब तिमीलाई उसले खुब लुट्नेछ,
तिम्रो कान टोक्नेछ
तिम्रो स्तन टोक्नेछ
तिम्रो फिला टोक्नेछ
तिम्रो मस्तिष्क टोक्नेछ
र भुक्नेछ सन्तुष्टिमा पागल कुकुर
तिमीले त्यो कुकुरमा
अनगिन्ती बिम्वहरू देख्ने छौ,
तर तुरून्त बिर्सिने छौ
हुँडार, ब्वाँसो र फ्याउराहरूको तस्बीर
तुरून्त बिर्सिने छौ सम्भोगको नयाँ परिभाषा
ओ मेरो जोकास्टा आमा
तिमीले त्यो भेँडा गोठालोको अनुहारमा पनि
मलाई देख्नेछौ र फत्फताउने छौ-
वास्तवमा
यौटा फटाहा प्लेबाइ,
डाँका
या अराजक गुण्डा जन्माउनु
र यौटा साँच्चैको गतिछाडा बन्नु
कत्ति गाह्रो हुन्छ ?
हो, मेरो आमा
मैले नै बाँधे
गान्धारीको आँखामा पट्टी
मैले नै तानेँ
द्रौपदीको पेटीकोट
मैले नै लिएँ
सीताको अग्नीपरिक्षा
मैले नै जलाएँ
सतीहरूको शरीर
ओ मेरो जोकास्टा आमा
तिमीले धेरै जन्मायौ
महामूर्ख पुरूषहरू
खोपडीहरूको दरबारमा बस्ने
इदिअमीन जन्मायौ
मृत्युभूमिमा रगतले नुहाउने
पोलपोट जन्मायौ
नश्लवादले बहुलाएर
यहूदीहरूको यमराज बन्ने
हिटलर जन्मायौ,
आमा
त्यो बुश
त्यो सद्घाम
त्यो लादेन
मै हुँ
जसलाई तिमीले जन्माइसेकी छौ
प्रतेक समयलाई गाली गर्दै
तिमीले संसारकै सप्पैभन्दा ठूलो हत्यारो
जन्माइसकेकी छौ
सप्पैभन्दा खतरनाक अपराधी
जन्माइसकेकी छौ
कि मैले तिम्रो स्तन काटेँ
र रगत बेचेँ व्यापारीहरूलाई
कि मैले तिम्रो काख मुतेँ
र निमन्त्रण गरेँ दलालहरूलाई,
ओ मेरो जोकास्टा आमा
मलाई भालाले घोंची-घोंची मार
या झुन्ड्याऊ सरेआम खरीको बोटमा
र झिङ्गालाई भन्किन देऊ
र गिद्घलाई कुर्न देऊ !
तर…तर
ओ मेरो जोकाष्टा आमा
एकचोटि, फगत एकचोटि
तिमीले तिमी आफै जन्मिदेऊ
माचिन्डे !
धेरै भो यो संसारमा
डाँगोहरूको हस्तमैथुन ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *