आधा सत्य हो !
तिमीलाई म मौन प्रेम गर्छु,
खुर्पेठोकको आधा जुन जस्तै
तिमीले हिडेको आधा बाटो
तिमीले उभिएको आधा धर्ती
तिमीले ओडेको आधा आकाश
तिम्रो आधा मुटु
तिम्रो आधा सपना
सबै आधा आधा मात्र हुन्
जसरी
खुर्पेठोकको आधा जुन
समयको समयचक्रसँगै पूर्ण बन्ने छ
मैले हिडेको आधा बाटो
मैले ओडेको आधा आकाश
मैले टेकेको आधा धर्ती
मेरो आधा मुटु
मेरो आधा सपना
प्रेमले जोडिने छ,
तिमी अनि म को यात्रा सुरु हुनेछ,
हो साची !
तिमीलाई म औधी माया गर्छु,
तिमीलाई मौन प्रेम गर्छु
आधा सत्य हो,
भर्लाको लहरामा जेलिएर
फुलेका सुनखरी फूलहरू
फूल माथि उडेको सिम्फनीहरू
बैँशले लपक्क भिजेको जोवानीमा
उडने रंगिन पुतलीहरु- म हुँदै होइन
तिमीलाई म औधी प्रेम गर्छु,
तिमीलाई म मौन प्रेम गर्छु
आधा सत्य हो ।
—
