नेपाली आधुनिक सङ्गीतको आरम्भ भएको एक सय वर्ष पूरा भएको छ । यसबीचमा थुप्रै सुरकर्मीहरू आए र नेपाली आधुनिक सङ्गीतलाई विकसित बनाउन ठूलै योगदान पनि पुर्‍याए । अनेकौँ शैली, ढाँचा र परम्परा स्थापित भई प्रयोगादि पनि भए । वर्तमान नेपाली सङ्गीतमा यति धेरै विविधता पाइनुमा हिजोको परिश्रम, आजको व्यावसायिक प्रयोग र सङ्गीत उद्योगको स्थापना नै हो । यदि हिजोलाई दृष्टिगत नगर्ने हो भने कुनै पनि विषयको आज यकिन हुन सक्दैन र अधुरो रहन सक्दछ । त्यसैले सय वर्षको अवधिमा भएका साङ्गीतिक सिर्जनालाई यस लेखमार्फत उजार गर्ने जमर्को गरिएको छ ।

आरम्भकालीन नेपाली आधुनिक सङ्गीत क्षेत्रका सीमित सुरकर्मी वा सर्जकले नेपाली सङ्गीतको गोरेटो खन्न सुरु गर्ने समयमा छिमेकी मुलुक भारत नगई आफ्ना गीत-सङ्गीत रेकर्ड गराउन सक्ने स्थिति नै थिएन । बाटोघाटो, यातायात तथा थुप्रै समस्याहरू थिए । तथापि कलकत्ता, बम्बै आदि स्थान गई नेपाली गीतका डिस्क रेकर्ड गर्न अग्रज सुरकर्मी सफलै भए । जसले गर्दा नेपाली आधुनिक सङ्गीतको गोरेटो फराकियो, विकसित बन्यो र ठूलै परिवर्तन हुनपुग्यो ।

वि.सं.१९६५ सालताका सेतुराम र मोतीराम कृत पहिलो नेपाली गजल ‘जता हेर्‍यो त्यतै मेरा नजरमा राम प्यारा छन्’ लाई नै रेकर्डका हिसाबले नेपाली आधुनिक सङ्गीतको प्रमाणिक प्रथम कृति मानिएको छ । यही मानकलाई आधार मान्दा नेपाली गीत-सङ्गीतको उठान गजल गायनबाट सुरु भएको देखिन्छ । वि.स. १९६५ अघिका गीत-गायनका डिस्क-रेकर्ड अहिलेसम्म फेला पार्न नसकिएकाले आजसम्म यस क्षेत्रले यही तथ्यलाई प्रमाणका रूपमा उल्लेखित र उद्धृत गर्दै आइरहेको पाइन्छ । भनिन्छ, वि.सं. १९५० देखि नै नेपाली गीत-सङ्गीतको प्रारम्भिक चरणको पाइला उठिसकेको थियो ।

अग्रज-आदि सुरकर्मी सेतुराम (वि.सं.१९४०-२००२) को इहलीला करिब ६२ वर्षसम्म रहेको देखिन्छ । यसबीचमा उनले प्रकाशनमा ल्याएका मध्ये पाइएका १४ वटा डिस्क रेकर्डमा सङ्गृहित २८ वटा गीत, गजल र झ्याउरे साथै भजन, निर्गुण, राग-रागिनी र नेवारी नाम दिएका गीतहरू पाइन्छन् । प्राप्त डिस्क रेकर्डकाअनुसार ‘ए आमा सानीमा, टिपी देउन सानीमा फूलको थुंगा खस्यो पानीमा’, ‘छिः ज्यानी तिमीले त माया मार्‍यौं नि’, ‘झल्झली मैया पाताली बोलाउँदा बोल्दिनौं’, ‘आज त जाऊँजाऊँ भोलि त जाऊँजाऊँ पर्सी त जाइ जाउँला’, आदि गीतहरू पाइन्छन् । जसबाट नेपाली आधुनिक सङ्गीतको विकासक्रम अगाडि बढेको थियो ।

यसैगरी मेलवादेवी (वि.सं.१९५९-२०१२) नेपाली आधुनिक सङ्गीतको अभिलेखमा देखा पर्ने अर्थात् गीत-गायनको डिस्क रेकर्ड भर्ने प्रथं गायिका हुन् । उनका साङ्गीतिक कृतिहरू क्रमशः ‘आउन बसौं पियारी मिर्मिरे झ्यालैमा’, ‘हाइ मेरो परदेशी पि्रतम छोडेर जानु भो’, ‘यो जिन्दगीको के भरोसा’, ‘भूकम्प त्रास’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर’, ‘कैया फूलबारी’, ‘थापा न थली’, साथै ‘न घरलाई घर कहिन्छ’ (रचना ःशुक्रराज शास्त्री) आदि हुन् ।

यसैगरी अर्का अग्रज सुरकर्मी मास्टर मित्रसेन (सन् १८९५-१९४६) नेपाली आधुनिक सङ्गीतको विकासक्रममा देखा पर्दछन् । उनले गाएका गीतहरू आजसम्म चर्चित र लोकपि्रय पनि रहेका छन् । ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले’, ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘अब त जाऊँ कान्छी घर बाटो छ उकाली ओराली’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’, ‘भन गोर्खाली दाजुभाइ -जय गोर्खाली’, ‘स्वामी नजाऊ विदेश’, ‘तानसेन कस्तो छ’, ‘होम साले होमे पेमे स्यू स्यू लाला रङ्गी’, ‘किन गर्छौ तानातानी’, ‘चुईचुई चुइकने जुत्ता रेशमको साडी मै किन दिउँला’, ‘म त तिम्रो घनश्याम तिमी मेरो राधा पियारी’, ‘नौतले बाउन्ने ढोका’, ‘छत्रे टोपी ढल्काई खुकुरी चम्काई’, ‘मेरो मातृभूमि सम्झ’, ‘हेर कस्ती लाटी’, ‘रसरङ्गमा भुली गयो’, ‘हेर कृष्ण विचित्र’, ‘मुर्खको कर्मले’ आदि गीतहरू मास्टर मित्रसेनले गाएको पाइन्छ ।

शास्त्रीय तथा झ्याउरे सङ्गीतको आधारमा सङ्गीतबद्ध गरिएका त्यसबेलाका गीतहरू प्रायः गायक/गायिका स्वयंले नै रचना गरेको हुनुपर्छ । किनकि केही गीत वा गजलबाहेक रचनाकारको नाम अरू गीतमा उल्लेख गरिएको पाइँदैन । यही क्रममा गायक दलबहादुरको प्रवेश नेपाली आधुनिक सङ्गीतमा भएको देखिन्छ । उनले ‘कान्छी नानी फूल भयो खरानी’, ‘सुनसुन कान्छी नानी’, बोलका दुई गीत वि.सं.१९७० को दशकतिरै गाएको मानिन्छ ।

गीतको शब्दमा ‘नानी’ लेख्ने चलन र राणाकालीन दरबारमा रहेका नाचगानका तालिमेहरूलाई नानी भन्ने प्रचलन एकै समयको हुनसक्ने अनुमान गर्न सकिन्छ । यो प्रसङ्ग किन उठाइएको छ भने ‘कान्छी’ तथा ‘नानी’ आदि शब्दावलीको प्रयोग तत्कालीन दरबार तथा जनमानसमा अत्यधिक हुन गएको पाइएकाले नै हो ।

मिस पाताल चाइनाका गीतहरू वि.सं १९८८ पछिका डिस्क रेकर्डमा पाइएका छन् । ‘अनाहक मोहन बाटो नछेक मलाई’, एकापट्ट िर अर्कोतर्फ नेवारी गीत रहेको देखिन्छ । सम्भवतः नेवार भाषाको गीत गाउने पहिलो नारी मिस पाताल चाइना नै हुन् । यसअघि सेतुरामले पनि नेवारी गीत गाइसकेको देखिन्छ । मिस पाताल चाइनाकै समकालीन गायिकाका रूपमा मिस तारा वाइलाई लिन सकिन्छ । उनले पनि ‘बनी योगी बसी वनमा’, र अर्को नेवारी गीत गाएको पाइन्छ । यसैक्रममा गायिका मिस दुलारीले गाएका दुई गीत फेला पर्दछन् । एक ‘आशा गरेर खाली बाँचौँ हरे कसरी’, र अर्को ‘आयो वशन्त महिना’ बोलका गीतहरू ।

नेपाली आधुनिक सङ्गीतको विकासक्रममा युगल गायनको सुरुआत गायिकाद्वय मिस प्रमिला र मिस दुलारीद्वारा भएको देखिन्छ । यसलाई नारी युगल गायन मात्र भन्दा पनि युगल गायनकै पहिलो कृति हो कि भन्ने अनुमान पनि गर्नुपर्ने हुन्छ । गायिकाद्वयले गाएको ‘म तो गर्ने हुँ है रोजी रोजी’ बोलको गीत नै नेपाली सङ्गीतको अभिलेखमा पाइने प्रथम युगल गीत हो ।

वि.सं.१९९० सालतिरै मास्टर पूर्णमानको आगमन नेपाली आधुनिक सङ्गीत क्षेत्रमा भएको देखिन्छ । उनले ‘रानी वनैमा नारान सम्झ मनैमा, एक्लै छोडी नजाऊ नानी वनको दोकानमा’ बोलका गीत एकल स्वरमा तथा ‘प्रेमको झोली प्रेमको गोली प्रेमको यो लीला’ बोलको युगल गायन गायिका मिस हिनादेवीसँग गाएको देखिन्छ । नारी तथा पुरुष आवाजमा रहेको यो नै पहिलो नेपाली युगल गीत हो । नारी बर्जित समयमा पुरुष नै नारी बनेर नाच्ने-गाउने युगमा गुजि्ररहेको नेपाली समाज र सङ्गीत क्षेत्रको सम्भवतः प्रथम प्रयोग यस गीतलाई मान्नुपर्ने हुन्छ ।

यसैक्रममा मास्टर जितु सिंह नेपाली गायनमा देखा पर्दछन् । उनी शास्त्रीय तथा झ्याउरे शैलीलाई टपक्क टिपेर गीत लयबद्ध गर्न सफल देखिन्छन् । उनका ‘तिम्रो सुन्दर कलिलो बैसमा’, ‘घाँटीमा दम छ मेरो एक झल्को’ र ‘तीर जस्तो तिम्रो आँसु हेरेँ’ आदि गीतले यही कुराको पुष्टि गर्दछ । यसैगरी मिस प्रभा, मिस हिनादेवी, हीरावाई, पञ्चबाला दासी, मिस पारुलबाला, मिस चन्दादेवी, मिस सानी सिंह, मिस शान्तिदेवी साथै उस्ताद खेम चन्द, हवल्दार मानवीर राना, उस्ताद बद्री, भवानीचरण दास, उस्ताद साहिँला र मास्टर रत्नदास प्रकाशको क्रम नेपाली आधुनिक सङ्गीत क्षेत्रमा अगाडि बढेको देखिन्छ ।

मिस प्रभाले ‘तावाँको घैला नौरंगे डाँफे पित्तलको घपना’, ‘पक्षी जब बोले’ र ‘किन छोड्यौ तिमीले रस चाखी निष्ठुरी’ -गजल) आदि गीत-गजलमा स्वर दिएको देखिन्छ । मिस हिनादेवीले ‘कान्छाले कान्छीलाई लग्यो वनको बाटो लाल्टिन बालेर’ र ‘कृष्ण निबुवा निचोरी मारी हाल्यौं’, ‘मेरो बाला जोवन’, ‘बाँका मोहनमा’ साथै मास्टर पूर्णमानसँग ‘प्रेमको झोली प्रेमको बोली प्रेमको यो लीला’ -युगलगीत) आदि बोलका गीतहरू गाएको देखिन्छ । नब्बेकै दशकमा उस्ताद खेम चन्दले ‘मै हुँ कन्या कुमारी’, ‘बसन दिनभर’ लगायत गायिका हीरावाईसँग ‘चर्की गो मर्की गो मेरो नारी’ बोलको गीत पनि युगल गायन गरेको देखिन्छ । नेपाली आधुनिक सङ्गीतको विकासक्रममा उस्ताद खेम चन्द र हीरावाई युगल गीत गाउने अर्को जोडीका रूपमा देखा पर्दछन् । गायिका हीरावाईले एकल रूपमा अन्य कुनै गीत गाएको हालसम्म पाइएको छैन ।

यही नब्बेकै दशकमा देखिएको अर्को गायिका पञ्चबाला दासी हुन् । उनले ‘नरोऊ मोहन बुझन पराई’, ‘यो जिन्दगीको’, ‘पापी कृष्ण निरमाई’ र झ्याउरे शैलीमा रहेको ‘निश्चय पनि तारी’ आदि गीतहरू गाएको देखिन्छ । ‘माला गाँसी लैजाऊ सुन्दर’, ‘आज दुःखीहरूलाई प्यार गर’ बोलका गीत गाउने भवानीचरण दासका डिस्क रेकर्ड यसै दशकमा श्रोतामाझ आएको मानिन्छ ।

यही समयका अर्का गायक हवल्दार मानवीर राना हुन् । उनले ‘मलाई सिपाही भनी डियर हेला नगर तिम्लाई ल्याइदिउँला गम्काउने सारी’, र ‘माया त नमारे मेरो ज्यान’ बोलका दुई गीत गाएको पाइन्छ तर उस्ताद आनन्द वि.सं.१९८९ तिरकै गायक मानिन्छन् । उनका साङ्गीतिक कृतिहरू ‘आँसु कति त खस्छ’, ‘म भएता बगेको’, ‘नबोली किन हेर्छौ’ र ‘सदा चञ्चल नजरपर्दा खरानी घस्न बाँकी भो’ आदि हुन् । मिस पारुलबालाले गाएका गीतहरू ‘माया नमार प्यारी’ -झ्याउरे), ‘प्रेम अग्निमा परी’ -गजल) आदि हुन् । मिस पारुलबालाकै समकालीन गायिका मिस चन्दादेवीले ‘यो पिरती लाउँला कसरी’ र ‘मलाई कान्छी नखान देउ हरियो धनियाँ’ बोलका दुई गीत गाएको देखिन्छ । यसैगरी गायिका मिस सोनी सिंहले ‘मन हरेर लग्यो लोभाई लोभाई’, र ‘महाभक्त हरि महाँ’ साथै गायिका मिस शान्तादेवीले ‘बुबा बम्बै नगई छोड्दिनँ’ र ‘कस्को अत्तर गम्क्यो नि’ बोल रहेका गीतहरू गाएको देखिन्छ ।

नेपाली आधुनिक सङ्गीतको विकासक्रममा उस्ताद साहिँला (वि.सं.१९५१-२०१३) र उस्ताद बद्री (वि.सं.१९५७-२०१८) का योगदान उल्लेखनीय रहेको पाइन्छ । साहिँलाले ‘कालो ठेकी नारान काली काठको रातो ठेकी दारको, दिनै आउँछ रिङ्दैघुम्दै जोवन एकै बारको हजुर सर्मै रिसाउने, ‘तीनै सहर नारान नेपालैमा रक्सी बेच्ने सुँडी, लौरो टेकी पाइला जाने दाँत फुक्लेकी बूढी’ बोलको बहुप्रचारित गीतका साथै ‘साइँलाजी चन्दनीको उकालीमा लाउँला ठूलै बर माया लै’, ‘दिल ज्यान दिई रहेछु बोलु न’, ‘बिन्ती नछेड छाती’, ‘नआ गाउनको सारी मेरो’ -गजल) आदि गीत-गजल गाएको देखिन्छ ।

यसैगरी उस्ताद बद्रीले ‘न बर्छी न खन्जर’ -नेपाली गाना), ‘मेरो बारीको मोल नदे’ -ठुमरी), ‘एक चुम्बन एक खित्का’ -रचना ः बालकृष्ण सम), ‘जुथा चाल’ -नेवारी), ‘गर्नु फिराद कस्मा’ (गजल), ‘पान बिरा खाईखाई तिर्खा मलाई लाग्यो पानी देउन साली नानी’ आदि गीत-गजल गाएको पाइन्छ ।

नेपाली आधुनिक सङ्गीतको विकासक्रमको पहिलो चरणको बीचैमा मास्टर रत्नदास प्रकाश -वि.सं.१९७०-२०४९) को साङ्गीतिक आगमन भइसकेको पाइन्छ । उनले ‘झमझम पानी पर्‍यो असारको रात’, ‘प्रेम पियारी तिमी छौ’, ‘छिटोछिटो जाऊ बादल’, ‘त्रिभुवनको बैकुण्ठ यात्रा’ रचना ः ठाकुरनाथ रिमाल, रत्नदास, कुमारी लिलि सिंह र शान्तिको समूह स्वरमा, ‘जोवन बित्यो आँसुले’, ‘व्यर्थै नरोऊ हे दिल’, ‘म आउने छु’, ‘न आयो नीँद आँखामा’, ‘डाक्छ मलाई पुकार्दै’ आदि धेरै गीत गाएको पाइन्छ ।

वि.सं.२००० सालपछि नेपाली आधुनिक सङ्गीतको सिर्जनात्मक र स्वर्ण युगको आरम्भ भएको मानिन्छ । मुक्ति सेनाले नारदमुणि थुलुङ, श्रीपाल राई, रामप्रसाद राई आदिको नेतृत्वमा भोजपुर जिल्ला कब्जा गरेपछि आकाशवाणी रेडियोबाट पहिलो प्रसारण सुरुभएको थियो । जयन्द्र थपलिया तथा पदम राई त्यस आकाशवाणी रेडियोका पहिलो प्रसारक थिए र पछि त्यही आकाशवाणी सेट विराटनगर पुर्‍याई प्रजातन्त्र रेडियोका नामले प्रसारण हुन थालेको थियो । जहाँ तारिणीप्रसाद कोइराला, रानुदेवी अधिकारी आदिका समाचार तथा क्रान्ति गीतले जनतालाई आन्दोलित पार्ने कार्यमा सहयोग पुर्‍याएका थिए ।

रेडियो नेपालको स्थापना (२००७ चैत २०) सँगसँगै धर्मराज थापा -१९८१), कृष्णमान डङ्गोल *१९८२-२०६२), भैरवबहादुर थापा (१९८२- ), हरिप्रसाद रिमाल (१९८२-), नातिकाजी (१९८२-२०६०), जनार्दन सम (१९८४-२०३९), कोइलीदेवी (१९८७-२०४६), पन्नाकाजी (१९८८-), पुष्प नेपाली (१९८८-२०५८), शिवशङ्कर (१९८९-२०६१), अम्बर गुरुङ (१९९४-) आदि सङ्गीतकर्मीहरूको सिर्जनात्मक साङ्गीतिक यात्रा आरम्भ हुन थाल्दछ । जसले नेपाली आधुनिक सङ्गीतको मौलिकपन र बढी मात्रमा नेपाली शैलीको थालनीका साथै विकासक्रमको दोस्रो चरण पनि आरम्भ भएको मानिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *