Skip to content


नेपाल आमा दुखमा सदा छिन्।
सन्तानकाे खातिर पीरमा छिन्।।
भुल्दै गएकी दिनरात रून्छिन्।
निराेगी आमा अब राेगमा छिन्।।१।।

बिदेशका ए!सब दाइभाइ।
आऊ र आमा सँग बस् रमाई।।
बाँझाे छ माटाे श्रम गर्न आऊ।
बिदेश हाेइन् घर मै रमाऊ।।२।।

यो देश तिम्रै भरमा छ आज।
साेचेर नाैला पथ खाेज राेज।।
सद्भावकाे रङ्ग उमङ्ग ल्याउ।
बिदेश हाेइन् घर मै रमाऊ।।३।।

सन्देह त्यागी अबरोध ताेड।
बिदेशकाे सीप र ज्ञान बाेक।।
नेपाल भन्दै मनदेखि आऊ।
बिदेश हाेइन् घर मै रमाऊ।।४।।

आशा भए मूर्छित याे जगाऊ।
सम्भावनाका नव द्वार ल्याउ।।
नेपाल भन्दै अब जुर्मुराऊ।
बिदेश हाेइन् घर मै रमाऊ।।५।।

तिम्रो छ आवश्यक हेर आऊ।
नयाँ नयाँ साेच र ज्ञान ल्याउ।।
अमूल्य नेपाल चिनेर आऊ।
बिदेश हाेइन् घर मै रमाऊ।।६।।

बनेर मुस्कान सप्रेम आऊ।
बिहानकाे निर्मल शीत ल्याउ।।
अमूल्य याे जीवन मग्मगाऊ।
बिदेश हाेइन् घर मै रमाऊ।।७।।

खस्रा र फुस्रा गफ जत्ति फाल।।
बेकार लाग्ने सब वस्तु त्याग।।
नेपाल साझा सबकाे बनाऊ।
बिदेश हाेइन् घर मै रमाऊ।।८।।

यादव दुलाल “गाउँले”
इटहरी सुनसरी
हाल युएई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *