Skip to content


माटो छन्द:-शार्दूलबिक्रीडित

माटो जीवन हो यहीँ महल छन् लाखौं यहीँ बस्दछन्।
माटो स्वर्ग समान दिव्य छ जहाँ मान्छे सधैं हाँस्दछन्।
माटोमै छ अनन्य शक्ति खजना सारा भए निर्भर।
माटोमै छ अमूल्य रत्न गहना फुल्छन् यहीँ जीवन।
————-।।१।।———————
माटो अन्न र सास हो र अनि यो हाम्रो बिहानी पनि।
माटोकै भरमा छ मानव यहाँ यस्मै बसोस् प्रीत नि।
माटोमै जलका मुहान सब छन् पीयूष वर्षाउँछन्।
सारा जीव यही पिईकन सधैं आनन्दमा डुब्दछन्।
————-।।२।।———————
माटो नै तनयाँ समान घरको शृङ्गार हो प्रेम हो।
माटो नै जननी समान भवको आराधनाको थलो।
माटो नै नवरत्न हो धन हो यो कर्मको हो थलो।
यस्मै नित्य गरे प्रयत्न गतिलो मिल्नेछ उच्चोँ थलो।
————-।।३।।———————
माटो जीवनको कथा सकल हो यस्मै छ मीठा फल।
माटोकै म सदा कथाहरू बुनूँ यस्मै छ मीठो जल।
माटो साधन हो म साधक बनूँ यो जिन्दगीमा यहीँ ।
मेरो देह जता गएर म बसे माटो नबिर्सू कहीँ ।
————।।४।।———————
माटोको न कुनै छ जात अथवा कालो र मैलोपना।
लाखौं भौतिक बस्तु छन् गहकिला मान्दैन झर्कोपना।
यस्को शक्ति अपार मान्छु म सधैं डग्दैन कस्सै सित।
माटो जीवन दायिनी हुन गयो हामी भयौ आश्रित।
————।।५।।———————-
माटो सान र गान हो मुलुकको बुझ्दा झनै मान हो।
माटो नै पहिचान हो जगतले चिन्ने नयाँ मार्ग हो।
माटो नै मनको सुरम्य लय हो सङ्गित हो भाव हो।
माटो नै नभए कहाँ र कसरी फुल्छन् नयाँ फूल त्यो।
————।।६।।———————-
माटोको गुणगान गर्छु दिलले यो हो सबैको मित।
माटो ईश्वर हो म भक्त यसको पुज्दैछु आस्था सित।
माटोकै म सप्रेम गीत मनले लेखूँ बजाऊँ यहीँ।
माटोमै पसिना दिएर यसमै यो प्राण त्यागूँ यहीँ।
————।।७।।——————–
यादव दुलाल गाउँले
इटहरी,सुनसरी
हाल युएई।
१८ मंसिर २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *