Skip to content

गरिबको छोरीहरू कौडिसरी शिर्षक खोजेर बेचिन्छ यहाँ
सम्भ्रान्तका छोरीहरू महलमा, क्याफेमा र गाडीहरुमा देखिन्छ यहाँ
गाईहरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

समाज बिग्रँदै गएको कारण अभिभावक र शिक्षक अनि लादिएको व्यवस्था छ यहाँ
देश को शासन व्यवस्था बिग्रने कारण भ्रष्ट र स्वार्थी नेता छ यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

व्यापारको नाफाले मात्तिएकाका नमुना मनुवाहरू झुटो बोल्न तछाडमछाड यहाँ
ऋणमा डुबेर सबैको पेट पाल्ने किसान बीऊ किन्न नसकेर देखाउँछ फाटेको कछाड यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

चाप्लुसीका चम्चाहरू दुनो सोझ्याउदै वृत्रासुर र इन्द्रको मित यहाँ
इमान्दार र कर्त्तव्यनिष्ठ हरुले क्यारेमको गोटि बन्नुपर्ने यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

नमकहराम र टपर्टुय्याले फाइदाको स्वादमा टट्टुहरुको कट्टु धुने यहाँ
सच्चा र यथार्थ को खोज गर्ने बुद्धरुपि सफ्टवेएर सेट नभएको यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

बेनामे बादसाहहरुको ठाउँ ठाउँमा अहङ्कारको बिगबिगी यहाँ
पुरै सँसार देख्नसक्ने आँखाको आँशु पुछ्ने न्यायको तराजु लिलाम यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

बोल्नेहरुलाई नक्कली सर्टिफिकेट काफि, नबोल्ने को डिग्री पनि धमिराले खान्छ यहाँ
आफन्तको लागि असमझदारी को लकिर, अपरिचितहरूको लागि देखावटी आदर्श यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

कुरा नै नबुझि कुराको ह्वाङलाई ढ्वाङ पार्ने कन्तबिजोग यहाँ
शिष्टाचार, सभ्यता, नैतिकता, परोपकारको घाटि निमोठ्ने प्रकृया यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

कहिल्यै लाउडा, कहिल्यै टनकपुर, त कहिल्यै वाइडबडीको नाउँमा जनताको आँखामा छारो यहाँ
बिप्पा, कोतपर्व, मकैको खेती त कैल्यै पन्चायत, निर्दल बहुदलको छडि यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

बिलाउछन् काला पानी, सुस्ता र दसगजा अनि जनआन्दोलनका घाउहरू यहाँ
देशका गेहेन्द्र समसेरहरु, पेले, सेक्सपियर, सचिन तेन्दुलकर बन्न नसकेर निस्सासिएर मर्ने यहाँ
गाइ हरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

शिवराज कलौनी
भिनपा _३ कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *