Skip to content

नग्नताको एकता

  • by
20200416_PeshalAcharya-Interview

अचेल
नयाँ कालिदासहरूको
ह्वात्तै बजार बढेको छ
हिजोआज
नयाँ क्रोचे र नित्सेहरूको
भाउ अचाक्ली चढेको छ

भत्काउन पाउँदा
सनातन दुर्गका मूल्य–मान्यताहरू
दङ्गदास छन्
कोलम्बसहरू !
भजाउन पाउँदा वयेलिएका विचार
र स्खलित आदर्शहरू
अह म हुर्काइरहेछन्
नेपोलियनहरू !

अहिले
नयाँ अरस्तु
नयाँ शुकरात
सत्ता समिकरणका समागममा
वाचाल तर मस्त छन्
नयाँ ग्यालिलियो
नयाँ न्यूटन
नयाँ कोपरनिकस
परिभाषालाई झनै नयाँ परिभाषा बनाउन
व्यस्त छन्,

नयाँ क्रोचेहरूको
जयगानले
कलामा ऐजेरू हाल्दै
नौटङ्की परिभाषा थपिएको छ
र नित्सेहरूले
फेरि एकपटक बँचेखुचेका
शालीन आस्थामा रमाएका
हाम्रा अधमरा ईश्वरलाई फेरि पनि
मृत्युघोषित गरिदिएका छन्,

नयाँ क्षितिज उघार्न नसक्ने
क्लान्त कोलम्बसहरू
आफ्नै खोजका सरहदमै
दिग्भ्रमित पथिक भएका छन्,

भ्रान्तिमा रुमल्लिएका आरोही हुँदै
तर्कशील भनिने नेपोलियनहरू
सत्ता कब्जाका राता बिन बजाइरहेछन्
नयाँ अरस्तु
र नयाँ विथोबेन
शासनका सुरूवालमै
लघुशंका गरिरहेछन्
ग्यालिलियोर न्यूटन
प्रेमका गुरुत्वाकर्षणभन्दा
कुशासनका सप्रसँग व्याख्या गरिरहेछन्,

यतिखेर
नयाँहरू
थुप्रै नयाँहरू
नयाँ र झन् नयाँहरू
अँझ् नयाँ अभिनेयार्थ
आबरू बचाउन
स्थुल शरीरमा भएका
सबै परिधानहरू
एक साथ खोलिरहेछन्
एक साथ खोलिरहेछन् ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *