
“म तिमीलाई आज मार्दै छु तर तिमी एक जनालाई आफूसँग लान सक्छौ ।” एकाएक यमदूत प्रकट भएर एक जवान युवकलाई भने ।
युवक सोचमा पर्न नपाउँदै यमदूतले थपे, “भन, आमाबुवा, साथीभाइ, दिदीबहिनी, आफ्नी प्रेमिकामध्ये कसलाई साथमा लान चाहन्छौ ।”
युवक आश्चर्यमा पर्यो ।
यमदूतले फेरि भने, “भन, चाँडो भन । यस्तो मौका सबैले पाउँदैनन् ।”
युवक नाजवाफ भएर सोचमा अल्झिरह्यो ।
“के सोचेको युवक ? यस नश्वर धर्तीमा मर्न त एकदिन सबैले पर्छ नै । तसर्थ डराउनु पर्दैन ? कि नेताको जस्तै “तँ आउँदा मोही पाइनस् तेरो कमारो पठाइदे दूध दिऊँला” भनेर मलाई पनि आश्वासनका साथ फर्काउन खोज्दै छौ ?” यमदूत केही रुखो स्वर निकाले ।
युवकले पनि हिम्मत गर्दै भनेछ, “मलाई सबै जना प्यारा लाग्छन् । त्यसैले मलाई उनीहरूको दिमागबाट मेरा सबै यादहरू मसँगै लान दिनुस् । मेरो याद कसैलाई नआउने होस् ।”
कञ्चनरूप नगरपालिका– १२, प्रगतिटोल, रूपनगर, सप्तरी
(पुनर्लेखन/परिमार्जन–नन्दलाल आचार्य)
२०७८–०६–१३
