Skip to content


दुई वर्षअघि अस्टे्रलियाको राजधानी सिड्नीमा कपन गुम्बाले थापेको स्टलमा राखिएको पर्चामा लेखिएको यो वाक्यले बि्रसबेन राज्यका एक मनकारी व्यापारीलाई तान्यो । आध्यात्मिक नेता दलाई लामाको प्रवचन सुन्न सिड्नी पुगेका उनलाई गणेश हिमालपारि अठार सय खोलाका नामले पनि चिनिने गाउमा अभावग्रस्तमा बाच्दै आएका नेपालीका लागि ‘केही सहयोग गर्न पाए हुन्थ्यो,’ भन्ने शुभसोच पलाएछ ।

त्यही टाढाको साइनोमा उनिएर अस्ट्रेलियाको बि्रसबेन राज्य, कटनट्री सहरवासी ४२ वर्षे वाइन-व्यापारी एल्थोनी सेल्स (टोनी) फागुनको अन्तिम साता काठमाडौं उत्रिए । काठमाडौंबाट एक दिनको बस र छ दिनको पैदल यात्रामा चुम उपत्यकामा उत्रियौं । छेकमपार र चुमचेत गाविसमा बसोबास गररिहेका झन्डै ८ हजार बौद्धमार्गीको स् वास् थोपचार तथा खाद्यान्न वितरणमा पोकापोकी बोकेर त्यहाँ पुगिएको थियो । कहिल्यै नसुनिएको सुदुरको एउटा सुन्दर बस्ती चुम मनासलु संरक्षण क्षेत्रमा पर्ने रहेछ ।

यात्रामा चामल, दाल, चिउरा, चिनी र साबुनको १० केजीको पोकैपोका खच्चरका ढाड र औषधिहरूका झोला भरयिाका थाप्लामा थिए । धादिङको आरुघाटदेखि सुरु भएको पदयात्रामा लापुबेसी, दोभान, फिलिम, चुमचेत र छेकम्पारका नाम कण्ठस्थ बने । टोनीसहित ५ अस्टे्रलियन र शिक्षण अस्पताल महाराजगन्जमा आबद्ध चिकित्सक (रत्नमणी गजुरेल, सुरेस उप्रेती, महेशराज सिग्देल, सागर पन्थी, संगीता उप्रेती) सहितको टोली थमसेर्कु टे्रकको प्रबन्धमा चुम उत्रेको थियो ।

बितेको साता राजधानी छाडेको ६ घन्टापछि बस यात्रा बुढीगण्डकीको तिर धादिङ आरुघाटमा टुंगियो । खोलापारि गोरखामा पहिलो रात बितायौं ।

बिहान औषधिसहितका सामान बोक्न स्थानीय २५ भरयिासहित करबि ५० जनाको डफ्फा धूले बाटोको किनारैकिनार चुमतर्फ लाग्यौं । खाद्यान्न बोकेका खच्चरमात्रै सयजति थिए । ‘मारकाट निषेध’ चुमक्षेत्रतिर बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दहालले पढाएको भीमोदय उच्च मावि बाटैमा देखियो । छेउछेउमा जस्ताले छाइएका टहराका आँगनमा पोथीलाई चारोले फकाइरहेका भाले देखा परे । घरमा दैनिकजसो शिकार खाइरहने चिकित्सकको जिब्रोमा भालेको चुरीफुरीले अझ भोक जगाएको हो कि झैं लाग्थ्यो । ‘वा ! हेर त सुरेश क्या राम्रा भाले ! यताकालाई त बल्र्डफ्लु पनि लाग्दैन र’छ यार,’ पोथीसँग प्रेमालाप गररिहेका भाले देखेर चिकित्सक गजुरेल बोले ।

बाटोमा ‘सीडिएमए’ फोन भेट्यो कि घरपरविारवाला चिकित्सकहरू खोजखबर गर्न थालिहाल्थे । आरुघाटबाट हिँडेको दिन लापुको ज्यानमाराभीर मात्रै काट्न सकियो । द्वन्द्वकालमा ‘माओवादी सेल्टर’ मानिने लापुबेसीमा थामसेर्कुका शेर्पाहरूले टेन्ट गाडेपछि दोस्रो रात मोबाइल नेटवर्कबाट अलग्गिएको बसाइ सुरु भयो । हामी लापु पुगेको अघिल्लो दिन सुझाव संकलन गर्न आएका सभासद कमला पन्त, पार्वती थापा मगर र कल्पना धमलाले मतपत्र बाढेका रहेछन् । हामी बसेको चौर छेउमा गोरखा आरुपोखरी घर भएकी शिक्षिका सिर्जना खनाल, होटल व्यवसायी लक्ष्मी गुरुङ र केही स्थानिय टुकीको उज्यालोमा पदयात्रीसँग सोधिरहेका थिए, ‘सर, संघीय राज्यको संरचना कस् तो हुनुपर्छ ? ‘लोकसेवाको गठन विधि कस्तो हुनुपर्छ ?..’

तेस्रो दिन सिर्दीबासको दोभान पुग्ने लक्ष्य बनाएर उदाउँदो सूर्यसँगै हिँड्यौं । आरुघाटबाट हिँडेको बिहान भरयिाभन्दा अघि-अघि पाइला चालिरहेका पदयात्रीलाई हम्मे-हम्मे पर्न थाल्यो । उकाली-ओराली-भीर काटेर बुढीगण्डकीको जीर्णकाय पुल तरेपछि साँझ दोभान पुगियो । दोभानमा बसेको रात टोनीले चिकित्सक र अन्य पदयात्रीलाई लौका जत्रो लाम्चो बोतलमा रहेको अस्ट्रेलियन ‘रेड वाइन’ खुवाएपछि सुरु भयो, ‘रेशम फिररिी… ।’

नेपाली शब्द ‘नमस्ते र धन्यवाद’ बाहेक नजानेका ५ अस्ट्रेलियनलाई नेपाली गीत उल्था गरी बुझाउन थाले, चिकित्सक गजुरेल र उप्रेती । दोभान बसाइपछि भोलिपल्ट हामी फिलिमतिर अघि बढ्यौं । हेर्दै जाँदा साल र मेवाका रूख पातलिन थाले । सल्लाका पोथाले बाटो उचाइतिर चढ्दै गएको महसुस हुन थाल्यो । एउटा संयोगको कुरा के छ भने पदयात्राको पहिलो दिनदेखि हामी गुरुङ बस्तीबाट अलगिएका छैनौं । बस्ती चिरेर अघि बढेको बाटोमा थुप्रै आगन र दैलो हुँदै अघि बढिरहँदा अधिकांश घरको भित्तोमा खाडी मुलुकमा सहरहरूका ठूला-ठूला भवन अघिल्तिर एकल र समूहमा उभिएका थुप्रै नेपाली अनुहारका तस्बिर देखिए । काँचले छोपेको प|mेममा झुन्ड्याइएका फोटोले ती बस्तीका युवा वैदेशिक रोजगारमा रहेको संकेत गररिहेको थियो ।

सिर्दीबासको घट्टेखोला पुगेपछि अघिल्लो दिन सुझाव संकलन फिलिम पुगेका तीन महिला सभासदसँग जम्काभेट भयो । सुझावपत्र छाडेर आइरहेका उनीहरू मनासलु संरक्षण क्षेत्र प्रवेश गर्ने फिलिम बजारबाटै फर्किरहेका थिए ।

फिलिम बसाइको भोलिपल्ट मनासलु बेसक्याम्प पस् ने लार्केपासको बाटो छाडेर हामी गणेश हिमालबाट बगेको स् यारखोला हँुदै चुम उपत्यकातिर मोडियौं । लालीगुराँस र सल्लाघारीको पातलो वनका भीर र पहराको बाटो काटेपछि पाँचौं दिन चुम उपत्यकाको पहिलो गाउँ चुमलिङमा पुग्यौं ।

भोलिपल्ट ३ सय ३० सर्वसाधारणको स्वास्थ्य जाँच र स्थानीय ३० आनीलाई खाद्यन्न वितरण भयो । समुद्र सतहदेखि करबि ३ हजार मिटर उचाइमा रहेको यो बिन्दुको पूर्वमा गणेश, पश्चिममा श्रीङगी, दक्षिणमा हिमचुलीले घेरेको रहेछ । चुम्लिङमा स् वास् थ्य शिविर सकिएपछि सातौं दिन हाम्रो पदयात्रा गोरखाबाट सबैभन्दा टाढा रहेको छेकम्पार गाविसको राजेन गुम्बामा टुंगियो । चुम उपत्यकाबासीको स्वास्थ्य र खाद्यमा करबि ६० लाख रुपैयाँ खर्चिनेे योजना बुनेर नेपाल आएका टोनीले पदयात्राको पहिलो दिनदेखि नवौं दिनसम्म बाटामा भेटिने केटाकेटीको मन पनि उसैगरी जिते । केटाकेटीले नमस्ते गरेको देख्ने बित्तिकै चकलेट र हातमा बाध्ने डोरी (फ्रयान्डसिप-ब्यान्ड) बाँढ्न चुक्दैनथे उनी । उनीसँगै आएका सहयात्री एन्डि्रयु, केरी र जोनका आखाँले अनौठो मानेका हिमाल र हिमाली जीवनलाई क्यामेरामा कैद गररिहे । पहिलोपटक नेपाल आएका उनीहरूले राजधानी फर्किउन्जेल यो क्रम जारी राखे । यहाँबाट तिब्बतको झोङखा बजार एकै दिनको हिँडाइमा पुगिने रहेछ । खडेरीले गहुँबारी सुकेको गाउँमा दोस्रोपटक आयोजना गरएिको शिविरमा अधिकांश महिला दूधे नानी बोकेर स्वास्थ्य जाँच गराउन पुगेका थिए । आठौं दिन शिविर चलिरहेका बेला एक्कासि हिमपात सुरु भयो । आनी पढ्ने गुम्बाको एक कोठामा बिरामी जाँचिरहेका चिकित्सक हिमपात देखेपछि एकाएक उत्साहित बने । बिरामी जाँचको काम केही बेर थाती राखेर उनीहरू आगनमा ‘स्टेटसकोप’ सहित भिडियो/फोटो सेसन थाले ।

भोटखोलाका नामले पनि चिनिने बस्तीमा भएको शिविरमा स्यारखोला वारपिारकिा गाउँले हिमपात छिचोलेर आएका थिए । नानीसहित घोडा चढेर शिविरमा आएका गाउँलेको ताँतीले चुम कल्याण समितिका महासचिव छिरङि फुन्जो र सचिव सोनाम लामा प्रफुल्ल थिए । करबि ३ सय ५० गाउँलेले शिविरमा जाँच गरेपछि टोनीले सबै वडाका सर्वसाधारणलाई खाद्यान्न र दुईवटा विद्यालयलाई खेलकुद सामग्री वितरण गरे ।

करबि ३२ सय मिटर उचाइमा रहेको प्राचीन गुम्बा परसिरमा नवौं दिन खाजा खाइसकेपछि थमसेर्कुका गाइड र भरयिा पैदल फर्किर्ए । बाँकी १६ जनालाई ओसार्न राजधानीबाट फिसटेल एयरको बेल हेलिकप्टर बिहान १० बजेतिर गुम्बा उत्रियो । खाद्य र उपचार सहयोग पाएका गाउँलेले ‘टासिदेलेक’ भन्दै टोनीलाई खादा पहिर्‍याई बिदा गरे । खादाले अनुहार छोपिएका टोनीले हेलिकप्टर छाड् नेबेला आँखा रसाउँदै गाउँलेलाई सान्त्वना बाढिरहेका थिए, ‘माया नमार्नु होला, मेरो तर्फबाट गर्नु पर्ने सहयोग जारी रहनेछ ।’

अब फर्किनेबेला भयो । सबैजना एकैपटक ओसार्न नसकिने भएपछि एक्ला चालक सिद्धार्थ गुरुङले पालैपालो ५ खेपमा १६ जनालाई यारुखोला -बुढीगण्डकी) को बगरमा ओसार्ने बताए । राजेन गुम्बाबाट यारु पुग्न ४५ मिनेट समय लाग्दो रहेछ । यारु झर्नेहरू नजिकैको स् याउलीभट्टीमा पसे । केही खाजा खान थाले, कोही छ्याङ पिउन थाले भने पदयात्रामा सहभागी सोनाम र लोप्साङ लामा राजधानीका पानीको समस् या हुने भन्दै यारुखोलामा नुवाईधुवाई गर्न थाले । एक्लो फुच्चे हेलिकप्टर पदयात्री ओसार्न थालेपछि भट्टीको आगनमा बेन्चमा बसेकी नर्स संगीता ल्यापटपमा ‘टम एन्ड जेरी’ हेर्न थालिन् । त्यो देखेेर अनौठो मान्दै होटलमा छ्याङ र भेडाको मासु बिक्री गररिहेका महिला र केटाकेटी पनि ल्यापटपमै झुम्मिए ।

केही बेरको प्रतीक्षापछि फिसटेलको अर्को इक्युरेल हेलिकप्टर लिएर काठमाडौंबाट चालक आशिष शेरचन आइपुगे, यारु बगरमा । चालक गुरुङले बगरमा ओसारेका १६ यात्रुलाई उनीहरू दुवैले ४ खेपमा राजधानी पुर्‍याए । हामीसँगै राजधानीबाट हिँडेका थमसेर्कु टे्रक्सका गाइड र भरयिा भने ६ दिनपछि राजधानी पुगे । ९० वर्षअघि धर्म गुरु डुक्पा रम्िपोछेद्वारा हिंसा निषेध गरिएको चुम उपत्यकाबाट फर्किएका चिकित्सक त्रिभुवन विमानस् थल उत्रँदा मुख मिठ्याउँदै ‘सिकार खाने’ भित्री योजना सुनाएर आ-आफ्नो घर लागे ।

1 thought on “अठारसय खोलापारि”

  1. लेख ज्यादै राम्रो लाग्यो।
    लेख ज्यादै राम्रो लाग्यो। धेरै धेरै धन्यावाद छ। त्यसपछि म तीन चोटि अठार सय खोला पार गरिसकें।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *