Skip to content

विश्वकर्मा पूजा

  • by

नेपाली समाजका पृथक रीतिथिति छन् । धर्मपर्व मान्ने मनाउने पद्धति अनौठा छन् । केही रीतिथिति भने बेथिति जस्ता लाग्छन् ।

विश्वकर्मा पूजाको दिन तामझाम छुट्टै छ बजारमा । उद्योगधन्दा कलकारखाना, वर्कसप ध्वजापताकाले सजाइएका छन् ।

तत् स्थानमा काम गर्ने मालिकदेखि मजदुर सबै नाचिरहेछन्, गाइरहेछन्, खाइरहेछन् ।

हरेकका लागि रम्ने दिन छुट्याए झैँ लाग्छ ।

पुजारीहरुलाई भ्याइनध्याइ छ विश्वकर्माको पूजा गर्न ।

भित्रबाट पण्डित बोले, ‘‘खै जल, फूल र नैवेद्य ल्याइदिनुस् त !”

त्यही कम्पनीमा काम गर्ने प्रवेश विकले लगिदियो जल र नैवेद्य ।

‘‘लिनोस्,” उसले भन्यो ।

पण्डित अनकनाए, ‘‘तिमीले पो ल्याएको?”

‘‘सुरेशजी तपाईँले ल्याउनु पर्यो यो भएन,” पण्डित बोले ।

प्रवेश मौन फर्कियो ।

कर्ममा जुटिरहेका विश्वकर्मासँगै बसेर खान, खेल्न पाउँदैन । अलग्याइन्छ अछुत भनेर ।

ढोकाभित्र विश्वकर्मा बाबाको विशेष पूजा भइरहँदा बाहिर सन्तोष विश्वकर्मा पनि जातीय विभाजनका तिता भोगाइ स्मरण गरिरहेछ ।

भित्र गएर पानी सारेर खाएको निँहुमा मालिक्नीबाट अपहेलित ऊ आज यही सोचिरहेछ ।

‘‘अमूर्त विश्वकर्मालाई पुज्ने नेपाली समाजले कर्मशील, मूर्त विश्वकर्मालाई मानवीय व्यवहार गर्ने दिन कहिले आउला ?”

तारकेश्वर गापा–१ दाङसिङ नुवाकोट
हाल पोखरा–११

Leave a Reply

Your email address will not be published. Required fields are marked *