विमोचनकाे निम्तोमा जाने तयारी


“ए भाइ, आज बेलुका आठ बजे होटल हेरिटेजमा मेरो कृतिविमोचनको कार्यक्रम छ, कसै गरी आउनु पर्छ है । ठिक समयमा आउनुहोला । बेलुकाको खान र पानको लागि पनि होटलमै बन्दोबस्त छ । सदम्पतीलाई नै निम्तो गर्छु भ्याउँदिन भन्न पाइन्न नि !”

बिहानै भात पाक्नै नपाई खाएर कुद्नु पर्ने स्थिति परेको थियो आज । काँचै भात चबाउँदा चबाउँदै गर्दा कृतिकारज्यूले फोनबाट निम्त्याउनुभो ।

“थुक्क !! अलिक पहिले निम्तो भएको भए ता यो भातसात नपकाई दिउसो भरि हविख्खे बसेर वा भोकभोकै गएर लुँड्याइन्थ्यो नि, क्या ब्याडलक परेछ भन्नेसम्म लाग्यो । खैर जे होस् । भरे दिउसो खाजा चैं नखाई जाने” यसरी निम्तोबारे अठोट गरें मनमनै अठोट गरें।

यसो जीव्रोले स्वाद नफेरेको कति दिन भाको थियो भ्याउँदिन भनेर कता भन्थें र ! देख्न त फेसबुकाँ पनि निम्तो गरेको देखेको थिएँ । अचेल सबै थोक फेसबुकमा खबर आउँछ । अस्ति भर्खर एक जना सम्भ्रान्त नारीकी आफ्नो छोरी नछुने भएको खबर पनि आएकै हो । पत्नीहरू गर्भिणी भएको खबर ता फेसबुकमा आइरहन्छ भने यो ता कता नआओस् त ! यो खबरमा त देख्ना साथ लाइक र बधाई भनेर कमेन्ट्याको पनि थिएँ, उसमाथ कृतिकारले फोनबाटै निम्त्याएपछि किन नभ्याउनु र ! अँझ खान र पानको समेत बन्दोबस्त भएपछिलाई जानै पर्छ नि । मनमा यस्तै अठोट लिएर उहाँलाई अलिक छलछाम गर्दै उत्तर दिएः

“कृतिको प्रकाशन गर्नुभएकोमा बधाई छ दाजु । हुन्छ दाजु हुन्छ, हामी आउँछौं दस थरी काम बितार पनि आउँछौं नि अब दाजैकै कृति नै प्रकाशन गर्ने भएपछि । कताकता केकेको लेठो छ तैपनि अब हजुरले नै निम्ता गरेपछिलाई नआउनु पनि कसरी ?” यसरी उहाँलाई उत्तर दिएँ र सुर कसें विमोचनको कार्यक्रममा जाने तयारीको बन्दोबस्तीतर्फ । बिहानका खानका कुरा सकिएर बेलुकाको सुरसार गर्ने सोच भात टोकिनसक्तै आउन सक्छ । यसैले अलिक फकाएर गृहमन्त्रीलाई भनेः

“आज बेलुकाको भोजन बनाउने लेठो परेन नि बुझ्यौ !! खाजा पनि खाने हैन, घरमा नबनाउनू । कतै सित्यै पाइहालियो भने खाने हो पैसो खर्च गरेर नास्तासास्ता खाने काम छैन अब आज । पानीसम्म खानु पर्ला तेति हो ।” यसरी श्रीमतीलाई अराउँदै होटल हेरिटेजमा कृति विमोचनको भतेर खान जाने सुवर्ण अवसर जुरेको सुनाएँ । उनी ता खुसीमाथि तीन खुसी भइन् । बल्लबल्ल होटलमा गरिने विमोचनको भतेर वा पार्टीमा जाने अवसर परेको छ जो । अब मेरो आजको कतै जाने कार्यक्रम स्थगित नैं भो किनभने होटलमा जानु न छ ।

उनका लागि तुरुन्तै ब्यूटी पार्लरमा गएर कपालमा कालो लगाउने वा घरमै लगाउने भन्ने समस्या परेको देखियो । ‘यसो थ्रेडिङ पनि नगरेको कति भो ! कपाल काट्न पानी पाएको हैन । आधीसरो फुलिसकेको छ ।’ उनको निकै दिनको गनगन सुनेकै हो । मैले समाधान गर्दै भनिदिएँ “जाने नि ब्यूटीपार्लरमा कसले दुःख गरिरहोस् घरमा । शृङ्गार समेत उतैबाट गरेर आउने । बरु भरसक केही नखाई पेट खाली नै राखिछाड्नू । कि कसो ?”

“हुन्छ नि त !” उनको उत्तर थियो ।

नभन्दै उनी लागिन् पार्लरतिर । तीन घन्टाजतिको समयपछि उनी बडो भव्य भएर आइपुगिन् घरमा । अघिपछिकी लिखुरे पनि अहिले ता मेनका पो देखिइन् ।

अब समस्या थियो लुगाफाटो छनोटको । धन्न प्रभु पेन्ट लगाउने चलन फररी भएकोले साडी लगाउने कुराको रिल काटियो । नत्र साडीमै मन थुरिएको भए त्यसलाई मिलाउने हन्डर मलाई नै पर्ने थियो । साडी र साडीसँगका फौजहरू मिलाउँदा र अरु कासाबिसाका साथ केकेजाती मिलाउँदा मेरो धुवाँ छुट्थ्यो । तै धन्न अब घुँडा च्यातिएका प्यान्ट लाउने चलन आएछ प्रभु । फाट्यो भन्नु परेन । घुँडामा वा तिघ्रातिर अलिक साना प्वाल छन् भने बिलेडले अलि चिरिक्क पारेर काटिदिनु ह्वाङ्क पारिदिनु पर्छ । बस के चाहियो ! त्यही घुँडाको छिंड मिलाउनु त हो नि ! प्यान्टभन्दा भित्रतिरको र माथितिरको लुगोमा भने यता नेपालाँ बिलेट लाइहालिएको देख्या छैन अर्थाोक लाउने कुरा नगरौं अहिले । उता बिदेशमा ता भित्री लुगाले पनि हामी लोग्ने मान्छेका जनैको रुप लिइसकेको देखिएकै हो । माथितिरको टाँस्ने लुगोको कुरा बढी नगरम क्यारे । आफैं सरम लाग्छ । त्यो लुगा ता झन् के लुगा हुनु नि । एउटा त्यान्द्रो न हुन्छ । त्यो मुलालाई ता बिलेड लाउनु कता र ! बिलेडले छोयो कि किटिक्क काटिन्छ । खैर यो कुरा होस् । मेरी उनले पनि अस्तिदेखि यही रोजेर ल्याएकी छिन् । लगाएकी छिन् । घुँडामा गतिलै छिंड पारेकी छिन् । यसको उपयोग बल्ल आज हुने भो ।

प्यान्ट लगायतका वस्त्र परिधान आजभोलि छिंडै छिंडले भरिएका र पारदर्शी शैलीका आइसके । टेलरमास्टरको दोकानमा काटेका लुगाका झुम्रा टाँसिएका लुगाको अहिले खुब चल्ती छ । यसरी लुगामा नवीनता आए पनि अरु गरगहना, चुरा, टीका, लिप्स्टिक, पर्स, सल, हिड भएका जुता, लगायतका कुराहरुमा छिँड देखिएका छैनन् । पर्समा भने यसो पकेटमारले यदाकदा छिँड पार्छन् । त्यति हो ।

अब प्वालै प्वाल परेको लुगो भए पनि अरु कुरामा म्याचिङ्को मेलो मिलाउनै पर्यो । ती सबै कुराहरू मिलाउँदा र लाउँदा ओर्दा अरु केही घन्टा लाग्यो मेरी उनीलाई । कहिले यो फुर्को मिलेन भनेको छ ऐनाका अघि बटारिएर हेरेको छ, कहिले उता के मिलेन भनेको छ र झर्किएको छ । कहिले टीका बाङ्गो लाग्यो भनेको छ र फेरेको छ, कहिले लिप्स्टिक लाएको छ, कलर नमिलेको कारणले पुछेको छ । बेला बेला नमिलेको टेन्सनमा मलाई गाली पनि गरेको छ । कहिले नाभीमा लुर्को झुन्डाएको छ अनि कहिले केकेके । म पनि बडीगार्डको जस्तो भएर उनको लुगा र केकेकेजाति मिलाउन लागेको छु । जुताका साथ लुगा लगाएर हिंड्ने रिहर्षल गरेकी छिन् । मिलेको नमिलेको कुराको जजमेन्ट मैले गर्नु परेको छ । बडो हम्मेहम्मे पर्यो उनको समग्र कुरा मिलाउन र लाउन । लगभग तीन घन्टे परिधान पहिरनको कास्टिङ सहितको कार्यक्रम सकिएपछि अब फोटो सेसनको बेला थियो । विभिन्न पोजका केही फोटाहरू खिचिदिएँ । त्यसमा पनि कहिले यो मिलेन र कहिले त्यो मिलेन भनेको छ । मेरो लोत काडिएको छ । केही बोल्नुभएको छैन । जसो भन्यो उसैउसै मात्र गर्दै गएँ । बल्ल केही फोटाहरू पास भए र ती पास भएका खिचिएका फोटाहरू उनले तुरुन्तै फेसबुकमा अपलोड गरिन् । अनि त्यसमा “क्याप्सन लेखिदिनू त !!” भनेर मतिर आदेश गरिन् । मैले यथोचित क्याप्सन लेखिदिएँ । क्याप्सनमा चित्त बुझे ता मरिजाऊँ । चित्त नबुझेकोले केही समय त्यसलाई परिष्कार गरिरहें । कसै गर्दा पनि चित्त बुझेन । “लौ हेर पढेलेखेको मान्छेहरुको हालत !!” साधारण गाली पनि खाइरहेको छु । नाक खुम्चिँदै छ तर अन्तमा उनको केही लागेन । आफू लेख्न नजाने पनि पतिलाई राम्रै कक्षा लिएकी छिन् भन्ने लागिरह्यो । अलिक गतिलोसँग लेखपढ गर्न नजान्नेलाई पनि लेखाइ चैं राम्रो चाहिने रहेछ भन्ने लाग्यो । बल्ल उनले सेएर गरिन् अनि लाइक र कमेन्टको प्रतीक्षा गर्न थालिन् ।

“ए ज्या, लौ हेर यो मान्छे !! केही सम्झाउनु छैन ।” उनले केही ठुलै कुरा बिर्सेको जसरी मलाई झस्काइन् । कारण रहेछ पर्फ्युम चयनको । ड्रेसिङ टेबुलमा भए भरको चेक पछि बल्ल फगमा मन बुझेको थाहा भो र यो फाल पनि सकियो ।
यसो गर्दा नगर्दा निम्तामा जाने बेला हुन हुन लाग्यो ।

मैले पनि यसो केही पुराना लुगालाई तानतुन पारेर भिरें । भन्न त भन्दै थिइन् “यसो मेरा अघि मेरो इज्जतका लागि भए पनि थ्री पिससँग टाइ पनि लाउनु नि । यो मान्छेसँग मैले सकिन । के मान्छेका पाला परिएछ बा ।” मनमनमा “तिमी नाङ्गै र च्यातिएका लुगा लगाएर आङ् देखार हि‌ड्दा हुने, मैले थ्रीपिस लाउनु पर्ने !!” भनेर भनौ कि भन्ने लाग्यो, फेरि सातो खालिन् भनेर चुप लग्दै जेसुकै होस्र् भनेर उनलाई टिपेर लागें होटलतिर ।

पुग्नासाथ हाय हेल्लोको पर्राहरू छुटिरहेका देखिए अनि बिजुलीका रङ्गी बिरङ्गी बत्तीको झिलिमिली भएको सभाहलमा हामी पस्यौं । होटल एन्ड बार निकै खचाखच भइसकेको रहेछ । झुम्न थालिसकेका रहेछन् । मञ्चको माथिल्लो भागमा विमोचनको कार्यका लागि तयार गरिएको रहेछ । केही मान्छे अघि खान र पानमा लागिसकेको बुझिन्थ्यो । झुमिहाले जस्ता पनि देखिन्थे ।

अचम्म लाग्यो । कुनै सभाहरुमा प्रमुख अतिथि नआएर सभा थाल्नै नपाई ढाक्रे भएर सबै आगन्तुक अरकच्च पर्छन् र सभा नै हुन्न अनि यहाँ भने तोकिको समयभन्दा पनि अघि नै पो कार्यक्रम सुरु भई थालिने समयमा सकिन लागेछ । के हो हँ कारणा ! हामी पुग्नु अगावै कार्यक्रम मध्यान्तर हुन लागिरहेको रहेछ । यसो कुरा बुझ्दा प्रमुख अतिथिलाई खाली खाल्सा गरिदिन अलिक अघि नै सभा थालिएछ । उहाँ ठेकाको बोलपत्र स्वीकृतिका लागि हतारिनु भएको रहेछ । हो गाणतन्त्र आएपछि यसरी समयलाई बचत गरिन्छ बुझ्यौ त केटा हो भन्न मनमा लाग्यो । “अचेल ठेकाको स्वीकृति मध्यराति हनिमुन मनाएको शैलीमा गरिएन भने मार्छन् झ्याम्लेले । यही सोचेर वा गाणतन्त्रको महान् अभियानले हो पैसाको लेनदेन र ठेकापट्ठा रातारात हुन थालेका छन् ।” नजिकै बसेका एक जना मित्रले मेरा कानमा फुस्फुसाउनु भो । मैले यसबारे सोच्नु मनासिब ठानिन । प्रमुख अतिथिको महावाणी जो आइरहेको थियो तिनका अमृतवाणी नसुनेर कसले सुनोस् यी कुरा ।

थाहा हुँदै गो सभापतिले आसन ग्रहण गरेछन् । प्रमुख अतिथि विशेष अतिथि साधारण अतिथि अतिथिनीहरू सबै मञ्चमा अघि नै चढिसकेछन् । कृतिविमोचन अघि नै भइसकेछ । तल्लो दर्जाकाहरुको भाषणको पालो अघि नै पुगेछ र म अहिले प्रमुखको भाषण चुहाउने बेला पे भइसकेको रहेछ । म ता बल्ल पो आँखा पुगे “कृतिकार श्रीअर्पणानन्दको ‘पुरुषहरुबाट नारीमाथि दमन र थिचोमिचो’ नामक कृतिको लोकार्पण कार्यक्रम” लेखिएको तुल झललल टल्किरहेको थियो । मेरा भने पत्नीज्यूको तयारी पर्नु पूर्वको कैरन मनभरि हुरुरुरु सल्किरहेको थियो ।

होम सुवेदी
भद्रपुर, झापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *