शिव शर्मा ब्राह्मण


पात्रहरू
रोशन : नोकरी खोज्ने काम गदै गरेको (वर्ष ३०)
अन्जु : रोशनकी धर्मपत्नी (वर्ष २७)

समय : लगभग रात ९–१० बजेको बीच
स्थान : सुङ्गरको खोर जस्तै कोचेप्रो कोठा ।

निर्देशन :

(पर्दा खुल्दै जादा मञ्च प्रकाशले प्रकाशित हुन्छ । अघिल्लो दिन परेको पानीले चिसो ब्यापक बढेको छ । पछेउरीले टाउको ढाकेर सिरक भित्र घुर्सेर फेसबुक चलाइरहेकी हुन्छे अन्जु । बाहिर पानी पर्न शुरु गरेको ओछ्यानबाटै चाल पाउछे । उठेर ढोका खोलेर हेर्छे । परेका पानी अलि अलि गरेर कोठा भित्र पस्न खोजिरहेको हुन्छ । ढोकाबाटै फर्केर खट्टामा मोजा लगाएर फेरि सिरक भित्र पस्छे । त्यतिकैमा रोशन भित्र पस्छ । )

रोशन : – (दुई हातलाई रगड्दै ) आज ब्यापक जाडो छ । भोलि पक्कै हिँउ पर्छ । तिम्रो त अफिस छ । कसरी काम गर्ने हो भोलि यस्तो जाडोमा ?

अन्जु : – (एकछिन् चुप लागेपछि) एउटा जाबो हिटरको पनि व्यवस्था गर्न नसक्ने तिमी । यस्तो चिसोमा बिना हिटर कसरी सुत्न ? कहीं नभएको चलन भोलि बिहानै ४ बजे उठेर सारा घर पुस्नु पर्छ आफूलाई फेरि ।

रोशन : (सिरक भित्र छिर्दे) के भयो मेरी बुडीलाई ? यत्रो अगाडि सिङ्गो हिटर छदैं छु नि तिमीलाई तातो बनाई दिने ।

अन्जु : – (टेबलमा रहेको चकलेटलाई आधी टुक्रा पार्दै) अघि स्वस्थानी पढ्दै गदौ झण्डै आशु नखसेको मेरो ।

रोशन : – (अन्जुको आँखामा हेर्दै ) किन र ?

अन्जु : – (चकलेट खादै) विचरी ७ वर्षकी गोमा ब्राह्मणीलाई ७० वर्षको शिव शर्मा लोग्ने पर्यो । गोमाको गल्ती यति मात्र थियोकी अन्जानमा जोगीले भनेको भिक्षा नदिएकी । कति निस्ठुरी भए भगवान शिव बीचरी सानी गोमा प्रति ।

रोशन : – (खुशी हँदै) कति कमलो छ मेरी बुढीको मन । यो त कथा हो डियर, मात्र कथा ।

अन्जु : अन्जानमै कुनै पाप गरेको भएर त शिव शर्मा जस्तो लोग्ने पर्यो मेरो भाग्यमा पनि । जब जब गोमा र शिव शर्माको भाग पढ्ने बेला आउछ ठ्याक्कै मेरै कथा लेखिएको जस्तो लाग्छ स्वस्थानीमा ।

रोशन : – (हाँस्दै) आजबाट फेरि अर्को नामकरण गरिदियौ तिमीले मेरो ।

अन्जु : साच्चिकै भनेको मैले । शिव शर्मा र तिमीमा धेरै समानता छ ।

रोशन : किन यस्तो कुरा गरेकी मेरी प्यारी श्रीमतीले आज ? भयो के ? कसले के भन्यो तिमीलाई ?

अन्जु : भन्न नै के बाकी राखेका छौ र तिमीहरुले अब । आजित भइसकेको छु यो घरबाट म ।

रोशन : (अन्जुको हातलाई आफ्नो हातमा लिदै) त्यस्तो भन्नु हुन्न डिएर । म हुदा हुँदै पनि किन टेन्सन लि राखेको तिमीले ।

अन्जु : अघि दिउँसो तिम्रो काकीलाई पनि सोधेको थिए मैले ।

रोशन : के सोध्यौ काकीलाई ?

अन्जु : (टेबलमा बाँकीरहेको चक्लेट खादै) अफिसबाट फर्कदा टाढैबाट यो घरलाई देख्छु । यो घर मेरो हो । यहाँका हरेक चिजबीच मेरा हुन भन्ने थाहा हुँदा हुँदै पनि किन मनले मान्दैन कि यो सब मेरो आफ्नो हो भनेर । किन यो लागिरहन्छ कि यहाँ मेरो आफ्नो भन्ने केही छैन भनेर ।

रोशन : अनि के जवाफ दिइन त बीचरी काकीले ?

अन्जु : भन्न नै के सक्छिन् र । उनी पनि तिमीहरुकै परिन् ।

(बाहिर रात छिपिदै गएको छ । चिसोले कठ्याग्रिंएका भुसिया कुकुरहरू सबै एकै मुख गरेर भुकिरहेको आवाजले झन विभत्स बनाई दिएको छ वातावरण । अन्जुको घृणाको आगोमा हार खाएर धातु जस्तै पग्लिरहेको देखिन्थ्यो रोशन । केहीबेर टोलाएर वातावरणलाई आफूमा समावेश गराउन खोज्छ रोशन ।)

अन्जु : होइन घमन्ड चाहिं के कुरामा गर्छो तिमीहरू ? को छ तिमीहरुको गतिला आफ्नो भन्ने मान्छेहरू ? यही थोत्रो घर र जाबो सुङ्गर बस्ने खोर जस्तो कोठा । यस्तो काठ्याग्रिंनी जाडोमा समेत हिटर छैन । यो घरमा मलाई काम गर्ने मान्छे सरहको दर्जा दिएका छौ । के दिएको छौ तिमीले मलाई आजसम्म कि तिमीलाई लोग्ने भनु म ? तिमीबाट केही कुरामा पनि सन्तुष्ट छैन म । यो नोकरी नगरेको भए त के हालत हन्थ्यो होला मेरो ।

रोशन : केही समय अगाडिसम्म ठिक मुडमा थियौ तिमी । कोठामा आएपछि अर्कै भयौ ।

अन्जु : तिम्रो हातबाट सिउँदोमा सिन्दुर परेको दिन देखि खुशी छैन म । हरेक पल कति छट्पटिएर बाँचेको छु भन्ने कि आफैलाई थाहा छ कि भगवानलाई । तिम्रो र मेरो कुनै करामा पनि मेल खाँदैन । खाना, पहिरन, रहनसहन, विचार केही मिल्दैन । तिमीलाई मैले “शिव शर्मा ” त्यतिकै भनेको होइन । तिम्रो अनहार, शरीर, लुगा लगाउने तरिका देखेर तिमीसँगसँगै हिड्न सरम लाग्छ । अँझ घर बस्दा लगाउने रातो कट्टु, काला तिर्घा त्यसमा रौंले भरिएको । अँझ खल्तीमा हात राखेर आमा आमा भनेर हिडेको देख्दा त यो घरमा एक क्षण पनि नबस्नु जस्तो हुन्छ ।

रोशन : (स्थितिलाई सन्तुलनमा ल्याउन खोज्दै) आजबाट शिव शर्मा भए म । शिव शर्मा ब्राह्मण र ममा एउटा कुरा चाहिं मेल खायो । त्यो के भने दुवैले आआफ्ना श्रीमतीलाई माया चाहिं धेरै गर्छन । अँझ म जतिको चाहिं गर्दैन होला ।

अन्जु : मायाको कुरा तिम्रो मुखबाट सुहाउँदै न । तिम्रो माया केबल तिम्रो परिवारको लागि मात्र हो । र तिम्रो परिवारको सदस्यमा कहिल्यै पर्दिन म ।

रोशन : (दयालाग्दो अनुहार लगाउदै) त्यसो भए माया गर्दिन त मैले तिमीलाई ?

अन्जु : तिम्र्रो माया त मसम्म कहिल्यै आई नै पुगेन । आजसम्म केही दिएको याद छ तिमीलाई ? जाऊ खोली हेर, तिम्रो दराजमा भएका हरेक लुगा मैले किनि दिएको मात्र छन् । एक इशारा गर्नुपर्छ तिम्रो परिवारले, हरेक कुरा अगाडि हाजीर गरी दिन्छौ तिमी । परिवार, समाज र गरिब दु:खीहरुलाई गर्नुपर्छ दिनुपर्छमै सीमित भयौ तिमी ।

रोशन : अरुलाई गर्दा त झन खुशी हुनुपर्ने होइन र तिमी ? म त तिम्रो सदैव छँदै छु नि । तिमी त मेरो शरीरको आधा भाग हौ । तिमी बिना त केही चल्दैन मेरो ।

अन्जु : दाल, चामल, तेल, चिनी र नून भन्दै अनि कुचो लगायो । कोठा सफा गर्यो । आमाको कट्टु धोयो र कौशीमा बसेर सुन्तला खानु मात्र ठुलो भयो तिम्रो लागि । तिम्रो अनुहार देखि शरीर पनि आमा जस्तै भएकोले गर्दा पनि तिमीहरू दुई जना देख्यो कि कम्पारा तातेर आउँछ ।

रोशन : (कहालीलाग्दो क्षणलाई पचाउँदै) हामी दुई देखि तिम्रो गुनासो कति छ भन्ने राम्ररी बुझ्छु म । तर हाम्रो विवाह भइसकेको खण्डमा स–साना कुरामा अल्झिएर बसेर फाइदा कसैलाई छैन । अब घरमा एउटा बच्चा भएमा सबै ठिक हुन्छ । म मेरी बुढीलाई आमा बनेको हेर्न चाहन्छु । बच्चा पाउ मात्र बाँकी सम्पूर्ण जिम्मेवारी म सम्हाल्छु । तिम्रो आफन्तहरुले गर्न नसकेको तरिकाबाट हुर्काउँछु हाम्रो बच्चालाई ।

अन्जु : छि छि छि ! बच्चा अरु कसको तिम्रो । तिम्रो बच्चा पाउँदा अनुहार पनि तिम्रै जस्तो हुने होला । एउटै अनुहारबाट वाक्क भएको बेला अर्को थप्ने । बरु जीवनभर बच्चा नपाई बस्न तयार छु तर तिम्रो बच्चा चाहिँदैन । बच्चाको आशा नगरे हुन्छ मबाट ।

रोशन : बच्चाको महत्व नबुझेर मात्र यसो भन्दै छौ । एक पटक आमा बति त हेर डिएर ।

अन्जु : बच्चा पाइदिए पछि त तिम्रो उद्देश्य पुरा भई हाल्छ नि । जाबो फिल्टरको पानी सारेर पिउनलाई समेत तिम्रो परिवारको मुख ताक्नु पर्छ भने बच्चा पाए पछि त झन के गर्ने होलाउ तिमीहरुले मलाई । तिम्रो घरमा मिठो खानलाई तिम्रो आमाको मनपर्ने व्यक्तिहरू आउनुपर्छ । आफूलाई चाहेको खान मलाई माइती जानुपर्छ । चिल्लो खाना, बासी तरकारी खाँदा बिमारी भए । उसलाई गरेन, त्यसलाई गरेन, चित्त दुख्यो, व्यवहार गर्न जानिन, काम गरिन, धेरै सुत्यो जस्ता कुरा सुन्दा सुन्दा पागल हुन लागिसके ।

रोशन : त्यस्तो होइन डिएर । हरेक कुरालाई नकारात्मक रुपमा लिनु हुँदैन । तिमीले अरुलाई बुझ्ने कोशिस नै गरिनौ । तिमी आफू मात्र कसरी रमाउ भन्नेमा गयौ । अरुको खुशीमा पनि कति खुशी हुन सकिन्छ भन्ने कोशिस नै गरिनौ । हरेक कुराको अनुभव लिनुपर्छ तर समय र परिस्थितिलाई विचार गरेर मात्र ।

अन्जु : ल भयो बा ! भाषण शुरु नगर । “राम देव” को प्रवचन सुन्न सक्छु तर तिम्रो सक्दिन । म भएर मात्र हो तिमीहरुलाई सहेर बसेकी अरु भएकी भए उहिल्यै भागी सक्थी यो घरबाट । जब राति ढोका भित्र पस्छौ, मलाई एकदम डरलाग्छ । डाकु जस्तै देखिन्छौ तिमी । झन त्यो पहेँलो दाँत देखाउँदै मेरो अगाडि आउँछौ तिमी । छि ! दिग दिग लागेर आउछ मलाई । तिम्रो शरीरबाट आउने दुर्गन्धको कुरै नगरौं । सर्फ हालेर धुँदा समेत कम हुँदैन । त्यसैले हाम्रो ओछ्यान एउटै भएतापनि हाम्रो सिरानी फरक छ ।)

रोशन : (हाँस्दै) तिमी पनि मजाक गर्छेउ ।

अन्जु : साँच्चिकै भनेको मैले । तिमीसँग सम्बन्धित हरेक वस्तु देखि घृणा लाग्छ मलाई । बरु तिम्रो मनपर्ने अरु कोही छ भने बिहे गर । सम्पूर्ण कार्यको जिम्मेवारु म लिन्छु । आह ! तिमीबाट मुक्त भएको दिन । यो जेल जस्तो घरबाट छुटकारा पाएको समय आकाशमा उड्थे होला म ।

रोशन : सबै कुरा भन डिएर तर मबाट अलग हुने कुरा नगर । हामीहरू एक अर्काको लागि बनेका हौं । यो जुनी मात्र नभएर सात जुनीसम्म पनि तिम्रो पिछा छोड्ने छैन म ।

अन्जु : (अनौठो हाँसो हाँस्दै) तिम्रो कुरा सुनी बस्यो भने नदुखेको टाउको दुख्छ । अफिस पनि जानु छ भोलि । तिम्रो पो काम छैन र बिहान भरी सुत्न पाउँछौ ।

(अन्जु उठेर बत्तीको स्विच बन्द गर्छे र रोशनलाई छुन नपरोस जस्तो गरेर ओछ्यानको छेउ पट्टि कोल्टे परेर सुत्छे । रोशन भित्र भएको नरम भागहरुले गर्दा पटक पटक मर्महात हुँदा समेत केही कठोर प्रतिक्रिया दिन नसकेकोमा आफैलाई धिकार्दै त्यसै उत्तानो परेर पल्टिरहन्छ ।)

(पर्दा पूर्ण बन्द भइसकेको हुन्छ ।)

समाप्त !

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *