Skip to content

छन्द शब्द छद् धातुबाट व्युत्पन्न भएको हो । यसको अर्थ आह्लादित गर्नु भन्ने हुन्छ साथै कसैलाई खुसी पार्नु भन्ने अर्थ पनि यसको छ । वर्ण या मात्राहरुको नियमित संख्याहरलाई विन्यास गरेर लयात्मकताका माध्यमबाट उत्पन्न हुनु नै छन्दको परिचय वर्णहरुको र मात्राहरुको नियमित संख्याहरुको योगबाट वा विन्यासबाट आल्हालदकता प्रकट हुन्छ त्यही छन्द हो । भन्ने कुरा मैले यस अघि नै भनिसकेकै कुरा हो ।
छन्दका पनि अंग उपांग हुन्छन्, यसका निम्न अंगहरु रहेका छन्
चरण वा पद
वर्ण वा मात्रा
संख्या वा क्रम
गण, गति, यति वा विराम
१.छन्दका चरण पद वा पाउ
छन्द प्रायः ४ भागमा वितरित हुन्छन् । एक श्लोकका चार चरण हुन्छन् जसलाई पद वा पाउ पनि भनिन्छ । अर्काे शब्दमा एक श्लोक चार चरणमा विभक्त हुन्छ । एक श्लोकको चार भागको एक भाग वा चतुर्थांश नै त्यो छन्दको चरण हो । तर केही भाषाहरुमा छ चरणका छन्दहरु पनि हुन्छन् तापनि धेरै छन्दहरु चार चरणमै बाँधिएका हुन्छन् । लामा छन्दका हरेक चरणलाई अलग अलग हारमा लेखिने चलन छ, तर छोटा छन्दका चरणहरुलाई दुई हारमा पनि लेखिन्छ । चार हारमा होस् वा दुईमा होस् समुच्चय रुपमा जोडिएपछिको स्वरुप एक श्लोक हो । छ चरणका छन्दहरु रहेछन् भने तिन हारमा लेखिन सक्छन् र त्यति नै हारमा त्यो एक श्लोक हुन्छ । लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यमा शार्दूलविक्रीडित छन्दका ४८ हारसम्मका एक श्लोक देखिएका छन् । यो के होला भन्ने भ्रम पर्न जान्छ । भावनाको एक भुल्को जहाँसम्म चल्यो त्यहाँ गएर मात्र देवकोटा विश्राम लिन्छन् । यो उनको भावनाको मुस्लो वा ज्वारको बेग मात्र हो । त्यो बेगलाई वर्णन गर्ने क्रममा सय पद्य खर्चिनु आवश्यक परेछ भन्दैमा छन्दहरु पनि सय दुई सय वा चार सय चरणका हुन्छन् भन्ने हामीले सोच्नुहुन्न । पद्य ता उही नै हो तर वर्णनक्रमको निरन्तरताको लागि यो काम अति भावुक कविहरुले गरेको देखिन्छ ।
अब चरणको अरु कुरा गरौं । चरण पनि दुई प्रकारका हुन्छन्, सम चरण र विषम चरण । पहिलो र तेस्रो चरण वा पाउहरु विषम र दोस्रो र चौथो चरण सम चरण वा पाउहरु हुन् । यसै गरी छ चरण भएका छन्दहरु रहेमा विजोर जति विषम र जोर जति सम चरणहरु हुन्छन् ।
छन्दमा यति
वार्णिक छन्दहरुको पाठ गर्दै जाँदा त्यो छन्दको कुनै खास भागमा पाठकले सास लिनलाई केही समय रोकिनु पर्छ । तलका हरफमा रोकिने ठाउँ हेरौं
स्वदेश स्वर्ग जस्तै होस्, स्वप्न संसार तुल्य छ
हामी यो देश जस्मा छौं, यही भारी अमूल्य छ ।

जान्छिन् आज शुकुन्तला घर भनी उठ्तो छ चिन्ता अति
प्रीतिका मनमा प्रबाह बहँदा रोकिन्न आँसु रति ।
हामी झंै वनवासीको पनि भयो यो गत् भने यो घरी
बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ।
यहाँ पहिलेका दुई हरफहरु अनुष्टुप छन्दमा छन् । अरु चार हरफ शार्दूलविक्रीडित छन्दका । पछिल्लो श्लोकका हरेक हरफहरु एक एक चरण हुन् । पहिलो श्लोकको दुई हरफहरुमा लेखिएको भए पनि चारै चरण छन् । यस्ता सानो आकारका थोरै अक्षर हुने छन्दको यति हरेक चरणमा रहेको हुन्छ । चरणका माझमा सास फेरिरहनु पर्दैन । यसमा कहाँ कहाँ यति छ भनेर बुझ्न यस पद्यलाई चरणचरणमा टुक्याई हेर्दा अझ स्पष्ट हुन्छ जस्तै ः
स्वदेश स्वर्ग जस्तै होस्,
स्वप्न संसार तुल्य छ
हामी यो देश जस्मा छौं,
यही भारी अमूल्य छ ।
यस श्लोकमा जम्मा चार यति देखिए यहाँ प्रत्येक चरणहरु नै एक यति बराबर रहेका छन् । छोटा छन्दमा पाउहरुसँगै यति पनि रहन्छ ।
तर लामो छन्दमा वा धेरै अक्षरहरु हुने छन्दमा यो नियमले भ्याउँदैन । चरण नसकिकन एकै चरणमा यतिको खाँचो पर्न सक्छ । अर्थात् सास फेर्नु पर्ने स्थिति आउन सक्छ । माथिको दोस्रो उदाहरणको पहिलो चरण भित्रको भनी पदको अन्तमा र तल्लो चरणमा बहँदा पदका अन्तमा केही न केही रोकिनु पर्छ, त्यसै गरी तेस्रो हरफमा भयो र अन्तिम हरफमा कसरी मा विश्राम वा यति छ । यतिका आधारमा यस श्लोकलाई विभाजन गर्दा यस्तो हुन्छ ः
जान्छिन् आज शुकुन्तला घर भनी
उठ्तो छ चिन्ता अति
प्रीतिका मनमा प्रबाह बहँदा
रोकिन्न आँसु रति ।
हामी झंै वनवासीको पनि भयो
यो गत् भने यो घरी
बस्छन् धैर्य गरी गृहस्थ कसरी
छोरी बिदाई गरी ।
यसरी यस छन्दमा जम्मा आठओटा यतिको खाँचो पर्ने रहेछ भनेर सिद्ध भयो ।
बेग्ला बेग्लै छन्दमा पाठकले रोकिनु पर्ने यस्ता बेग्लाबेग्लै ठाउँहरु हुन्छन् । यिनै रोकिनु पर्ने स्थानहरुलाई यति भनिन्छ । यसको अर्काे नाम विराम पनि हो । साना साना छन्दहरुको यति प्रायः चरणको समाप्तिमै हुन सक्छ भने लामा लामा छन्दका एकै चरणमा एक भन्दा बढी यति हुन सक्ने कुरा माथिका उदाहरणले देखायो । यतिको पनि कुनै निश्चित छन्दको फलानो स्थानमा यति हुन्छ भन्ने जस्ता कुराहरु उक्त छन्दको लक्षणका साथै निर्धारण गरिएको पनि पाइन्छ ।
यति भङ्ग के हो ?
रोकिनु पर्ने ठाउँहरुमा शब्दहरुले रोकिन असहज हुने स्थिति आयो भने यतिभङ्ग हुन्छ । छन्दको निर्धारित यति हुनु पर्ने स्थानमा शब्दहरुलाई भाँचेर रोकिनु पर्ने अवस्था आउनुबाट यति भङ्ग पैदा हुन सक्छ । नरोकिकन वाचन गरुँ त छन्दशास्त्र अनुसार त्यो स्थान रोकिनु पर्ने हो, रोकिने काम गरुँ भने शब्दको केही भाग विश्रामभन्दा अघि केही र केही विश्राम पछि हुन जाने स्थिति आउँछ । अघिल्लो विश्रामको अन्तमा शब्दको आधी भाग र पछिल्लो विश्राम पछिको आरम्भमा बाँकी शब्द उच्चारण गरिनु पर्ने स्थितिले यति भङ्ग पैदा गरेको हुन्छ । यस बाहेक यति ठिकसँग विश्राम नहुनु पनि यति भङ्ग हो । तलको श्लोकमा यति भङ्गको उदारण देखिन्छ ।
इन्द्रवज्रा छन्दका चरणहरुमा पाँच अक्षरमा सानो यति हुनु आवश्यक छ । अव तलको उदाहरण हेरौं ः
पैले थियो साहसिलो शरीर
बन्दै गयो जीर्ण हुँदै अधीर
पूर्र्णै थियो जोस शरीर भित्र
निस्केछ यो तागत छैन मित्र ।।
साहसिलो शब्दलाई सा हसिलो जीर्ण शब्दलाई जीर् ण जोस शब्दलाई जो स तागत शब्दलाई ता गत बनाउँदै शब्द भाँचेर यति दिनु पर्ने हुन्छ । यति अनुसार उच्चारण गर्दा यो श्लोक यस्तो हुन्छ ः
पैले थियो सा
हसिलो शरीर
बन्दै गयो जीर्
ण हुँदै अधीर
पूर्र्णै थियो जो
स शरीर भित्र
निस्केछ यो ता
गत छैन भित्र ।।
यसरी शब्दका मूल रुपहरुलाई विराम वा यतिका लागि भाँच्नु पर्ने खण्ड आउनु यति भङ्ग । विश्राम हुनु पर्ने स्थानमा विश्राम हुन सकेन र विश्राम गरिँदा शब्दहरुका मौलिक रुपहरुमा आघात हुन पुग्यो भने त्यो नै यति भङ्ग हो ।
बाँकी फेरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *