प्रतिभा निकुञ्ज अभ्यास श्रृङ्खला ३५८
मितिः २०७५ फाल्गुण १६
समयः साँझ ७।३० देखि ९बजेसम्म
छन्दःपञ्चचामर
विषयः स्वतन्त्र लेखन
****************
थिएन चित्तमा कतै हुरी चलेर अाउला,
हराभरा छ वाग याे कसाेगरी उँडाउला।
भएछ काल निष्ठुरी कठाेर वाँण बर्सियाे,
चुँडेछ फूल वागकाे समस्त देश तर्सियाे ।।
-हरिप्रसाद न्याैपाने
****************
स्वदेशको विकासमा सधैं सधैँ समर्पित
बनेर जिन्दगी बितोस् छ चाहना स्वयंसित
परन्तु विघ्न मार्गमा हजार छन् अजङ्गका
म चाल्छु पाइला सधैँ लिई कथा उमङ्गका ।
-जीवन काश्यप
****************
म भेट्छु देवता यहाँ हरेक पाखुराभरि
यिनै कुटाे हलाे जुवा तमाम जिन्दगीभरि
छरेर बीज अाँकुरा अनेक जात जातिका
उमार्छु चेतना नयाँ गरा गरा बिचारका
-टीका आत्रेय
****************
हतारमा छ जिन्दगी प्रवाहपूर्ण काल छ
समस्त जातिको यहाँ बडो विदीर्ण हाल छ
अनन्तकालदेखि नै मनुष्यमाथि मृत्युको
लुकी लुकी फिंजाउने यहाँ कठोर जाल छ ।।
होम सुवेदी
****************
अनन्त काल युद्धमा उचालि देश बोकियो,
तथापि चाल देशको बढेन टक्क रोकियो ।
मिसेर चाल पाउमा, भिडेर देश काटियो,
स्वतन्त्रता त देशको अहो छलेर साटियो ।
– दुष्यन्त भट्टराई
****************
म बोल्न खोज्छु सुस्तरी र सुन्न खोज्छु सुन्दिनँ।
बुढ्याइँले थल्याउँदा म क्यै नि गर्न सक्दिनँ ।।
बित्यो युवा उमेर जो र जोस होस थल्लिए।
बुढेसकालको व्यथा लिई कठै म डल्लिएँ।।
दिनेश पाण्डेय
****************
विकासको निकासकाे नयाँनयाँ उपाय हाेस्
स्वदेशमा युवा हुँदा स्वदेशको विकास होस्
छ मृत्यु खेलकाे यहाँ समाजमा अनिष्ट यो
नमार क्राेधमा तिमी सधैं रहूँ म देशकाे ।।
भावना मञ्जु
****************
पढौं गुनौं सिकौं गरौं रमी गुणी सुसाधना
स्वदेश सभ्य शान्त होस् भरौं सुखी सुभावना ।
श्रमी बनौं सुधी चिनौं गरी अनन्य बन्दना
सशक्त लेखनी बनी गरोस् सुकाव्य सिर्जना ।।१।।
गोपालप्रसाद भण्डारी
****************
विदेशमा युवा गए स्वदेश हुुन्छ निर्बल
र भ्रष्ट शत्रुले यहाँ गरी रहन्छ झन् छल
बसौं न दाजु भाइ हो मिलेर देशमै सब
विनम्र गर्छु प्रार्थना नछाड देश यो अब ।
सिसा चौधरी
****************
हिमालमा पहाडमा मधेस सम्म फाँटमा
स्वदेशको कुरा गरौं सगर्व एक साथमा
अनेकता र एकता छ पूण्यभूमि देवको
मिलेर बस्न खोज्दछौँ भुलेर क्रोध राग त्यो।
– जगदीशप्रसाद पाण्डेय
