अस्ताउँदै गरेको सूर्यलाई हेर्दा


कहिलेकाहीं आफूले नसोचेको कुरा भइदिन्छ । हो, यस पटकको बैंकक यात्रामा त्यस्ता धेरै घटनाहरू भए । जसमध्ये “लाओस” देशको यात्रा पनि एक थियो । इन्टरनेटमा रहेका विभिन्न साइडहरुमा मैले आफ्नो इमेल दिएको थिए । जसले गर्दा नयाँ “ब्याक प्याकरस” हरुलाई धेरै सजिलो पर्ने गर्दछ । त्यसै क्रममा “ला साबे” नाम गरेकी इटालियन महिलाले मलाई इमेल गरेर मलाई यो बताइन कि बैंककबाट नजिक र जानै पर्ने देश “लाओस” हो भनेर । गत महिना मात्र चार महिनाको दक्षिण एसियाको भ्रमण सक्काएर फर्केकी रहेछिन् ।

हाम्रो कुराकानीको सिलसिलामा उनले लाओसको बारेमा धेरै कुराहरू बताइन् । उनले बताए मध्ये इन्ट्रेस्टिङ् लागेको कुरा के थियो भने बैंककबाट लाओससम्म ट्रेनबाट सफर गर्ने । जुन मेरो अहिलेसम्म नगरेको अनुभव थियो । बेलुका एक देशबाट ट्रेन चढेर बिहान अर्को देशमा ओर्लिने । सुन्दै रोमान्चित भएको थिए म । एउटा लिस्ट तयार पारे “लाओस” को बारेमा । योभन्दा पहिला कहिल्यै नाम नसुनेको देश थियो लाओस मेरो लागि ।

बैंककको “हाउ लामपोङ्ग” ट्रेन स्टेशनबाट रातिको आठ बजे लागियो लाओस तर्फ । जापानमा हुँदा धेरै वर्ष ट्रेनबाटै यताउती गरेपनि यो यात्रा विशेष थियो । एक त लामो समय एउटै ट्रेन भित्र र अर्को यस भित्रका सुविधाहरू (सुत्ने, नुहाउने देखि खानलाई एक रेस्टुरेन्टको पनि व्यवस्था भएको) । ट्रेनमा यात्रीहरू एकदम कम थिए । मेरो डब्बामा जम्मा म समेत सात जना थियौ । तीन जर्मनी, दुई ब्रिटिस र एक फ्रेन्च । देख्दा एकदम सफा र नयाँ देखिन्थ्यो उक्त ट्रेन । आफ्नै गतिमा अगाडि बढिरहेको थियो ट्रेन । रातमा देखिएको बैंकक शहर तथा गाउँका दृश्यहरू । हामीले छुट्टा छुट्टै बोकेर लगेको खाना तथा वियरका क्यानहरू खोल्दै “चियर्स” भनेर यात्राको सफलताको एकअर्कालाई कामना गर्यौं सातै जनाले । ६ जना मध्ये चार जना नेपाल घुम्न गइसकेकोले गर्दा, उनीहरू झन नजिक हुन पुगे । रातको एघार बजिसकेको थियो । सातै जना भित्रै रहेको रेस्टुरेन्टमा गएर खाना खाएर फर्कदा हाम्रो सुत्ने ओछ्यान त्यहाँका कर्मचारीहरुले मिलाएर तयार पार्दिसकेका रहेछन् ।

दुई ब्रिटिस नागरिकहरू पेशाले युटुबर अर्थात युट्युवमा यात्राको विभिन्न भिडियोहरू बनाएर हाल्ने काम गर्ने रहेछन् । क्यामेरा खोलेर पालैपालो हाम्रो इन्टरभ्यु लिँदै तथ हामीहरुले गरेको रमाइलो दृश्यहरू सबै रेकर्ड गर्न थाले । उनीहरुको क्रियाकलापहरू हेर्दै गर्दा रातको दुई बजेको पत्तो नै भएन । उनीहरू अँझै गफमै व्यस्त हुँदा सबैसँग भोलि लाओसमा पनि रमाइलो गर्नुपर्छ भनेर आफ्नो क्याबिनमा आएर पल्टिदिए ।

ओछयानबाटै ट्रेनको पर्दा उघारे । उदाउने तरखर गर्दै गरेको सूर्यको प्रकाशले आकाशलाई अँझ बढी सुन्दर देखाउन मद्दत गरेको थियो । किसानहरू खेतमा आआफ्नो काममा व्यस्थ देखिन्थे । खेतमा पहेँला धानका बालीहरू । झट्ट मलाई आफ्नै देशको कतै तराईमा भएको दृश्यको सम्झना आयो । लाओसको धेरै नजिक पुग्न लागिसकेको क्याविनको भित्तामा भएको मोनिटरबाट थाहा पाएँ । त्यत्तिकैमा बिहानको नास्ताको लागि स्टाफ बोलाउन आइपुगे । सबै जना मलाई नै कुरी बसेका रहेछन् । फेरि एकपल्ट हामी सातैजना भएर बिहानको नास्ता ट्रेनको रेस्टुरेन्टमा खायौ । उनीहरुको लागि साधारण भएतापनि मलाई ट्रेन चडे देखिको हरेक क्रियाकलापहरू अनौठो लागिरहेको थियो । चीन देखि नेपालसम्म र भारत देखि नेपालसम्मको रेल यात्राको सपना पुरा भएमा यस्ता अनुभव हामीले हाम्रै देशमा लिन पाउने छौ कि !

बिहानको नौ बजे बैंककको बोर्डरमा ट्रेन रोकियो । बैंकको बोर्डरमा रहेको इमिग्रेसन क्लिएर गरेर अर्को सानो एक डब्बावाला ट्रेन चढेर लाओसको इमिग्रेसन पुग्नुपर्ने रहेछ । एकदिनमा तीन लाख जनाले आवत जावत गर्ने ट्रेन स्टेशनबाट चढेर यहाँ आउँदा लगभग सुनसान थियो बैंककको “नोङ्ग खाई” स्टेशन । “ला साबे”ले पहिल्यै यो जानकारी दिइसकेकी थिइन् कि लाओस बोर्डरमा कार्यरत इमिग्रेसनका कर्मचारीहरुले लाग्ने शुल्कभन्दा पनि बढी माग्छन् । बढी पैसा नदिएसम्म पासपोर्टमा भिसा लगाई दिदैनन जस्ता कुराहरू । जुन मसँगै आएका साथीहरुलाई पनि राम्ररी थाहा रहेछ । त्यसैले भिसालाई लाग्ने शुल्क बाहेक दश–दश डलर बेग्लै निकालेर ठिक्क पार्यौं । आधा घण्टामा हामी लाओसको इमिग्रेसनमा पुग्यौ । अचम्म त के थियो भने त्यहाँ पुग्दा इमिग्रेसनका चार पाँच जना कर्मचारी र हामी सात जना बाहेक अरु कोही थिएन । इमिग्रेसनमा पासपोर्ट र डलर (पैसा) बुझाएपछि, हामी त्यही यताउता डुल्न थाल्यौ । ट्रेनहरू पनि पुराना, मान्छेको बस्ती भन्ने केही थिएन । इमिग्रेसन पनि एउटा टहरो जस्तोमा थियो । चारैतीर उजाड जस्तो देखिने दृश्यहरू । भिसा शुल्क पनि देश अनुसार फरक रहेछ । दुःखको कुरा सबैभन्दा बढी नेपालको लागिरहेछ भिसा शुल्क । सबैले भिसा प्राप्त गरेपछि पनि मेरो पालो अँझै आएको थिएन । किन मेरो आएन भनेर सोध्दा बल्ल थाहा भयो कि “ब्याक प्याकरस” को रुपमा त्यहाँ घुम्न जाने म नै पहिलो नेपाली परेछु । त्यसपछि मलाई केरकार गर्न थाले, “किन आएको ?”, “कति दिन बस्ने ?”, “कति डलर बोकेर आएको छ ?”, “वालेटमा भएको पैसा देखाउनुस”, “लाओस नै किन घुम्न आउनु भयो ?”, कुन कुन ठाउँमा घुम्ने योजना छ ?” “कुन होटलमा बस्नुहुन्छ ?” आदि प्रशनहरू सोध्दै गए र मैले दिँदै गए । अन्तमा भिसा शुल्क बाहेक दश डलर पनि नपुगेर थप्न भने ।

भिसा लगाएर हामी सातै जना हाम्रो गाडी आउने स्थान तीर लाग्यौं । चकमन्न थियो बाहिर झन । गर्मी त्यसमा बैराग लाग्दो वातावरण देख्दा बेकारमा आएछु जस्तो लाग्न थाल्यो । कुरेको विस मिनेट हुँदासम्म पनि गाडी आएको थिएन लिनलाई । केही खाऊ न त भन्नलाई पनि पसलको नामो निसान थिएन । हिन्दी फिल्म सोलेमा “गोब्बर सिङ” गाउँमा आउनु अगाडिको चकमन्नता छाएको जस्तो थ्यो । टाढाबाट एउटा सेतो भ्यान हामी तर्फ आउँदै गरेको जस्तो लाग्यो । भ्वाङ्ग परेर बस्ने सिटको आन्द्रा भुडी नै देखिने, एक पट्टिको झ्यालको सिसै नभएको पुरानो भ्यानमा बसेर लाग्यौ लाओसलाई नजिकबाट बुझ्न । ५–६ मिनेटको बाटोपछि बल्ल बस्तीहरू देखा पर्न थाल्यो । रातो माटाका कच्ची बाटोमा गाडी संगसँगै उफ्रदै हामी अगाडि बढ्यौ । साथी क्यामराले खिच्दै थ्यो ती दृश्यहरू । मंगोलिएन अनुहारका मान्छेहरु, नाङ्गै भुतुङ्गै सडकमा दौडिरहेका बच्चाहरु, साना साना पसलहरु, रबर तथा नरीवलका रुखहरुलाई हेर्दै गर्दा इन्टरनेटमा देखिएको लाओस होइनकी जस्तो भइरहेको थियो । एउटा पुरानो फोहोर जस्तो ठाउँमा लगेर ओराली दियो । ओर्लेर हेर्दा पो थाहा भयो कि “बसपार्क” रहेछ भनेर । हामे बालाजुको बसपार्कभन्दा धेरै सानो ।

लाओसको राजधानी “भियानतियान” । लाओसको सबैभन्दा ठुलो शहर जसमा हिँड्दै थियौ । बिस्तारै शहरी क्षेत्रतिर बढ्दै गर्दा अघि भर्खरै देखिएको फोहोर, बाङ्गा टिङ्गा बाटाहरू हराउँदै गइरहेको थियो मानसपटलबाट मेरो । फ्रेन्च साथी बैंककको भिसा सकिएकोले मात्र भिसाको लागि आएको हुनाले ऊ त्यही बसपार्कमा बस्यो । अर्को तीन जना जर्मनीहरू लाओसको “लुवाङ्ग प्राभाङ्ग” जाने भएकोले त्यहीबाट बस चढेर बाटो लागे । बाँकी तीन जना हामी बिस्तारै कोल्ड कफीको चुस्की लगाउँदै अगाडि बढ्यौ । बाटोहरुमा पर्ने बुद्धका स्तुपाहरु, मन्दिरहरुलाई देख्दा आनन्द लाग्ने । बाँकी दुईजना ब्रिटिस साथीहरुको पनि होटल आइपुगेकोले बेलुका छ बजे “पातुसाई मनुमेन्ट”मा भेट्ने भनेर लागे होटेलतिर । बल्ल एक्लो परे म । जापानीजहरुले खोलेको होस्टेलमा कोठा बुक गरेकोले म अगाडि बढे कानमा एयरफोन घुसारेर “मेरा कुछ सामान तुमारे पास पडा हे” भन्ने हिन्दी गीत सुन्दै ।

पाँच तल्लाको व्यवस्थित होस्टलमा थिए म । रिसेप्सनमा बसेकी महिला (लाए)सँग कुरा गर्दै जाँदा थाहा भयो कि उनी नै रहेछिन् उक्त होटलकी साउनी । श्रीमान जापानीज र उनी लाओसकी । कहिल्यै श्रीमानको देश जापान नगएतापनि जापानीज भाषा यति मिठो तथा प्रष्ट बोल्थिन कि फरक छुट्याउन गाह्रो । हल्का फुल्का जापानीज भाषा मैले बोलेको सुन्दा खुशी भइन उनी पनि । लन्चसँगै गर्नुपर्छ भन्ने उनको आग्रहलाई स्वीकार गर्दै रुम तर्फ लागे ।

लाओसको चिसो वियरका साथमा उनी लबीमा कुरी राखेकिरहेछिन् मलाई । मिठो खाना तथा उनको न्यानो मायालाई ग्रहण गर्दै चार दिने “भियानतियान” बसाईलाई थप कसरी रमाइलो बनाउन सकिन्छ भनेर सोधे । उनले मलाई सेडुल नै बनाएर दिइन् । कुरै कुरामा उनले यो पनि बताइन कि लाओसको मान्छेहरुलाई बुद्ध नेपालमा नभएर भारतमा नै जन्मेको हो भन्ने भ्रम छ रे । वर्षमा धेरै संख्यामा त्यहाका मानिसहरू बुद्ध जन्मेको देश भनेर भारतमा गएर पूजा पाठ गरेर आउछ रे । उनलाई पनि धेरै पछि मात्र बुद्ध भारतमा नभएर नेपालमा जन्मेको र ज्ञान प्राप्त चाहिं भारतमा गरेको भन्ने थाहा पाएकी थिइन रे । यस्ता कुराहरू हामीले सुन्दै र देख्दै आएका भएर त्यति अचम्म लागेन मलाई । उनलाई नेपाल बुद्धको देश मात्र नभएर अनेकौं कुराहरुमा हाम्रो देश अगाडि छ भनेर सरसर्ती बुझाए । नेपालीहरुलाई पनि अँझै लाओस देशको बारेमा धेरै कुरा थाहा छैन भने लाओसका जनतालाई नेपालको बारे । त्यसैले उनी यही पर्यटन क्षेत्रमा लागेकी भएर दुई देशलाई अँझ कसरी नजिक ल्याउन सकिन्छ भनेर लाग्नुपर्ने कुरा राख्दा उनी धेरै सकारात्मक पनि भइन ।

बेलुकाको पाँच बजे दुई ब्रिटिस साथीहरुसँग भेट्ने कार्यक्रम भएकोले उनीसँग बेलुका फेरि भेटौला भन्दै निस्के होस्टलबाट । फ्रान्सको शासनबाट स्वतन्त्रताको लागि लडेका वीर योद्धाहरुको सम्झनामा बनाइएको स्मारक “पातुसाई मनुमेन्ट” । बिस मिनेटको हिँडाइमा पुगेको थिए, शहरको बीच भागमा रहेको स्मारकमा । टाढाबाट हेर्दा दिल्लीमा अवस्थित “इन्डियन गेट” जस्तै देखिएतापनि नजिक गएर हेर्दा फरक थियो । वरिपरि बगैंचाहरुको बीचमा अवस्थित स्मारक । पानीका फहराहरुले अँझ बढी सुन्दर देखिएको थियो । बिस्तारै भर्याङ्ग चढ्दै माथि तल्लामा पुग्दा त्यहाँ सुभिनियरका सामानहरू बेच्न राखेको थियो । साथै लाओसको पारम्परिक लुगाहरुका । ती सामानहरू हेर्दै अर्को तल्लामा प्रवेश गर्दा माटाका मूर्तिहरू बडो जतनले मिलाएर राखिएको थियो । अब चाहिं साँघुरो पाराको भर्याङ्ग चढेपछि बल्ल मुख्य ठाउँमा पुगियो । त्यहाँबाट बिस्तारै फन्को लगाउँदै भियानतियानलाई नियाल्न थाले । फ्रान्सका पालामा बनाइएका ठुला ठुला भवनहरू । हरिया डाँडाहरुले घेरिएको, बुद्धका स्तुपा तथा मन्दिरहरुका छानाहरू प्रष्टसँग देखिने त्यहाँबाट । आफ्नै तालमा बग्दै गरेको “मेकोन” नदी आदि सबैलाइसकेको क्यामरामा कैद गरे । म लगायतका थुप्रै विदेशी पर्यटकहरू देखिन्थे । धेरै जसो चाइनिजहरू थिए । गर्मीको बेला त्यति माथि बसेर हावाको आनन्द लिन पाउँदा अघि हिँडेर आउँदाको थकाई कम हुँदै थियो । कोरियन जोडीहरू त्यही माथि एक कुनामा माया साटासाट गर्नमा व्यस्थ देखिन्थे । त्यहाको कला कृतिहरुलाई राम्ररी केलाएर बिस्तारै तल ओर्लेर ब्रिटिस साथीहरुको प्रतिक्षा गर्न थाले । दुईवटा आइसक्रिम खाँदासम्म उनीहरू नआएपछि फर्के होस्टल तीर । अरु देशको तुलनामा मान्छेहरू ज्यादै कम देखे त्यहाँ मैले ।

नेपालमा लाग्ने हाटबजार जस्तै त्यहाँ “मर्निङ मार्केट” हुने रहेछ । जो बिहान मात्र चल्ने । चाँडो चाँडो उठेर लागे मर्निङ मार्केटतिर । ड्राई फुड, लोकल कफी ज्यादै नै थिए त्यहाँ बेच्न राखेको । त्यस बाहेक लोकल खाने सामानहरू तथा कपडाहरू । त्यति बिहानै त्यसरी मान्छेहरू आएर पसल थापिसकेको देख्दा अनौठो अनुभव भयो । दुई प्याकेट लोकल कफीको डब्बा लिएर फर्के होस्टल तीर । बिहानको नास्ता होस्टलमै खाएर निस्के घुम्नलाई । बसपार्कबाट २५ कि.मि. दुरीमा रहेको ऐतिहासिक ठाउँ “बुद्ध पार्क” । उत्तः पार्क भित्र लगभग दुई सय जति हिन्दू तथा बुद्धका मूर्तिहरू रहेका आदि कुराहरू सुनेकोभन्दा र प्रत्येक्ष आफ्नो आँखाले देख्न पाउनुमा धेरै अन्तर थियो । प्रवेशद्धार नजिकै ठुलो फर्सी आकारमा रहेको मूर्ति । जसभित्र छिरेर साना खुड्किलाहरू चढ्दै जाँदा त्यसको टाउकोमा पुगिने । त्यहाँबाट उक्त पार्कको चारैतिरको दृश्य देखिन्थ्यो । पुराना देखिएका मूर्तिहरू सबै । सायद कयौं वर्ष देखि त्यसरी नै खुल्ला रुपमा रहेकोले गर्दा पनि पुरानो तथा लेहुहरू लागेको हुनुपर्छ । बैंकक, भियतनाम, वर्मा र अहिले लाओसमा पनि ठुलो बुद्धको मूर्ति जो कोल्टे परेर पल्टिएको आकारमा थियो । अरु देशमा मन्दिर भित्र र व्यवस्थित रुपमा राखिएको थियो भने यहाँ खुल्ला रुपमा । सबैभन्दा अचम्म त केृ लाग्यो भने त्यस पार्कभित्र सबैभन्दा धेरै हिन्दू मूर्तिहरू थिए । जस्तै कृष्ण, शिव, गणेश, कुमार, विष्णु, वर्मा तथा धेरै देवी देवताहरुका मूर्तिहरू जसलाई देख्दा एक प्रकारको गर्व लाग्ने ।सँगै रहेको जंगलमा सयौंको संख्यामा चरिरहेका गाईहरू र कृष्णको मूर्ति देख्दा वृन्दावन तिरै छु कि भन्ने पनि भान हुन्थ्यो । सयौंको संख्यामा विदेशी पर्यटकहरुको उपस्थिति थियो । साना साना रेस्टुरेन्टहरुको पनि व्यवस्था गरिएको रहेछ । केही सेल्फी लिएर साँझ पर्न लागेपछि निस्के त्यहाँबाट । लाओसमा रहँदा “कोल्ड ब्रीउ कफी” र “रोसिल्ला जुस” मलाई मन परेको पेय पदार्थ थियो । धेरै क्यापिचिनो पिए तर “कोल्ड क्यापिचिनो” चाहिं पहिलो पटक लाओसमा पिए जसको स्वाद धेरै फरक थियो । “खावो पियाक” त्यहाँको मिठो खाना जो चामलको पिठोबाट बनाइएको नुडल्स । जापानमा रहँदा धेरै थरीका नुुडल्सको स्वाद लिएता पनि यो फरक थियो मेरो लागि ।

दोस्रो विश्व युद्ध ताका यहा आएर नफर्केका जापानीजहरुका सन्तानहरुले खोलेका थुप्रै होटल तथा रेस्टुरेन्टहरू देखे र “तेनपुरा” र “उदोन” को स्वाद पनि लिए । बाटोमा पर्ने “ब्लाक स्तुपा” जो नेपालको इमाडोलमा रहेको अशोक स्तुपाका झलक दिलाउने खालको थियो । साधारण तरिकामा रहेको थियो ब्लाक स्तुपा । वरिपरि लोकल बस्तीको बीचमा रहेको थियो । त्यस्तै त्यहाँ रहेका बुद्धका मन्दिरहरू जो एक अर्कामा धेरै मेल खाने खालका थिए । केहीको भित्र पसेर तथा केहीको बाहिरैबाट दर्शन गरे ।

“लावो आर्मी म्युजियम” जहाँ लावोमा युद्ध हुँदाको हात हतियार तथा तस्विरहरू राखिएको थियो । उक्त म्युजियम भित्र कुनै तस्विर खिच्न अनुमती नभएकोले क्यामेरालाई ब्यागमै राखेर मनको क्यामेराले कैद गर्दै घुमे । भियतनामको “वार म्युजियम” हेर्दा होस वा यहाँको मन कता कता दुखेको जस्तो भइरहने । म्युजियम बाहिर चौरमा पनि युद्धमा प्रयोग भएका उड्ने, गुड्ने, तैरिने सबै प्रकारका साधनहरुलाई सजाएर राखिएको थियो ।

अबको पालो थियो “हो फ्रा कोए म्युजियम” को । जहाँ बुद्धका मूर्तिहरु, पाण्डुलीहरु, पुराना काठका ढोकाहरुलाई सिसाको फ्रेम भित्र सजाएर राखिएको । स–साना कुराहरुलाई पनि व्यवस्थित रुपमा राखेर पर्यटकहरुलाई तानी राखेका । तर विडम्बना हाम्रो देशमा भएका त्यस्ता चिजहरू यत्रतत्र छरिएको पाउँछौ । “छ्यो एनोमिङ्ग पार्क” जो मेकोङ रिभरसँगै जोडिएको थियो । बेलुका ठुलो साउण्डमा इङ्गलिस म्युजिक बजाएर हजारौको संख्यामा मान्छेहरू जम्मा भएर रमाइलो गरिरहेका देख्दा आफूलाई पनि नाचु नाचु भएको थियो ।

“नाइट मार्केट” जो मेकोङ रिभरको छेउमा ठेलागाडामा राखेर बेच्न बसेका सयौंको संख्यामा पसलहरू र हजारौं थरीका खानाको परिकार । ती सब देख्दा त के खाने भन्ने नै झुक्किने र हेर्दा हेर्दै अघाउने पनि । क्याम्बोडिया र भियतनाको मिल्दो जुल्दो खाना पाए लाओसमा पनि । जस्तै ः फ्रेन्च ब्रेडको स्याण्डवीच, स्प्रिङ रोल र नुडल्स आदि । “नाम नियुङ” जो ग्रिल्ड पोर्क प्याटिज जुन जति खाए पनि नअघाउने । मेरो संधै मन पर्ने खाना “कबाब” देखी “माल्बेरी पाई” र “चिज केक” धेरै खाए । अर्को नयाँ स्वाद थियो “जाम म्याक हनी” अर्थात मेवाको सलाद । पिरो, गुलियो त कता कता अमिलो पनि । अनि त्यहाको लोकल “खोप चाई देव” ससेज । मनलाई कन्ट्रोल राख्न नसकिने खानाका परिकारहरू दक्षिण एसियाको एक महिने भ्रमण सकाएर नेपाल फर्कदा दुई वर्ष “जिम” गरेर घटाएको शरीर पहिलाको जस्तै “चबि” भइसकेको थिए म ।

सूर्य अस्ताएको “मेकोन” नदीमा त्यो पनि फेरीमा बसेर विएर पिउँदै हेर्नुको मज्जा त जति गरेपनि कम नै हुन्छ । हल्का “ज्याज म्युजिक” को तालमा फेरीमा बसेर सुनौला रङ्गहरू आकाशमा छरिएको, नदीको छेउ छेउमा बलिरहेका बत्तीहरु, रबरका रुखहरू आदिलाई हेर्न पाउँदा आफू अर्कै दुनियामा छु जस्ते लाग्ने । जहा कुनै पीर, चिन्ता अशान्ति तथा डर भन्ने केही छैन । सानै देखि पूर्णिमाको रातमा जुनलाई हेरी बस्नु मेरो सौख नै थियो । ठुलो हुँदै गए र पूर्णिमाको रातलाई लिएर अनेकौं सपनाहरू बनाउँदै गए, जुन आजसम्म पुरा भएन ।

जति दिन लाओसमा बसे प्रत्येक साँझ त्यही नदीमा बनाएको पार्कमा आएर सूर्य अस्ताएको हेर्न भुलिन । अँझ “लाए”ले आफ्नै हातले बनाएको खाना त्यो पनि फेरीमा बसेर खाँदाको क्षण होस या उनीसँग “इभिनिङ्ग वाक” जाँदाको पल आजीवन याद रहिरहनेछ । छोटो समयमा पनि उनीबाट पाएको माया जो लाखौं मूल्य बराबरको थियो ।

उनी आफै एयरपोर्टसम्म पुर्याउन आएकी थिइन । श्रीमानलाई साथ लिएर नेपाल आउने वाचाका साथ हामी छुट्टिएका थियौ । “तिम्रो प्लेन उडेको म यही बसेर हेरिरहेको हुनेछु” भनेर भनेको कुरा प्लेनले भुइँ छोडे देखि एयरपोर्ट देखुन्जेलसम्म हेरिरहे उनी एयरपोर्टमै छिन कि भनेर ।

समाप्त !

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *