१.
काजी खुइलिएर पाजी भए
पाजी मौलाएर काजी भए
समयको मर्जीभन्दा
अर्को ठुलो हुकुम रै’नछ
नाइँनास्ती गर्नेहरू आज उसै राजी भए ।
२.
नकचराहरूको गनगनभन्दा
चराहरूको गुनगुन जाती
भष्मासुरहरूको भाषणभन्दा
भँमराहरूको भुनभुन जाती
यो एक बारको जुनीमा हजुर !
बाइफालेहरूको ढलिमलीभन्दा
बालाहरूको ढुनमुन जाती ।
३.
सामाजिक सञ्जालले लाटालाई पनि बाठो बनायो
अरूका त के कुरा, ब्रह्मचारीलाई पनि नाठो बनायो
तीन त्रिलोक चौध भूवन एकै डल्लो भएछ लौ,
हुँदाहुँदा स्वर्ग–नर्क चहार्ने केबुलकार–बाटो बनायो ।
–भोजराज रेग्मी ‘मुखाले’
कञ्चनरूप नगरपालिका– १२, प्रगतिटोल, रूपनगर, सप्तरी
सम्पर्क मो.नं. ९८४१२७२४०४
