Skip to content

कवि गोगने अर्थात् अर्जुन न्यौपाने

गोगने
पढ्ने काम सकेर तृप्त नहुँदा बाँकी हुँदा तिर्सना
चौतारीतिर खोज्नु पर्छ कविका हज्जार छन् सिर्जना
मर्मश्पर्श गराउने र मुटुको भित्रै कता हो छुने
लेख्तै पस्किनमा सिपालु मनका लाग्छन् त्यहाँ गोगने ।।

थोरै लेख्न सिपालु छन् अझ तिखो भावार्थ नै टिप्तछन्
मानौं शब्द र वस्तुमेल छिनुले मुत्र्याउँदै खिप्तछन् ।।
यस्ता कर्मठ काव्यसर्जक यहाँ खोज्ने कतै हो भने
पाल्नोस् सज्जनवृन्द काव्यपुरमा हुन्छन् त्यहाँ गोगने ।।

भाषाको गहिराइबाट पदका गुच्छाहरु झिक्तछन्
मानौं काव्यप्रबाहको चमकमा अत्यन्त निर्लिप्त छन्
टिप्छन् भाव प्रभावका पदहरु पैल्याउँदै चम्कने
एकै पल्ट पढेर नित्य मनमा बस्ने ती हुन् गोगने ।

अर्काको पदचापका पछि यहाँ कैल्यै हिँडेनन् यिनी
बोकी दम्भ र स्वार्थ काव्यपथमा कैल्यै भिडेनन् यिनी
राम्रा शब्द चुनेर राख्न चतुरा व्यक्तित्व झन् टल्कने
न्यौपाने थरका र काव्यपुरका हाम्रा यी हुन् गोगने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *