गफाड्ताल टुक्का महिमा
तिनोटा मु्ख्य छन् हाम्रो चिनारीका नयाँ कडी
बयान गर्न लागें म नहेरी नाडीको घडी ।।
गफ गर्ने गफै चुट्ने पहिचान छ अग्रिम
गफाडीहरुको भिन्नै पहिले गफ गर्छु म ।
आमाले बाबु बिर्सन्छन् पत्नी छन् पति बिर्सने
हडताल भए पुग्छ बेर्थै के अरु सम्झने ।।
रुखबाट खस्यो कोही बाटो बन्द गरे भयो
लोग्ने स्वास्नी गरे लड्डी देशै भन्द गरे भयो ।।
क्षतिपूर्ति लिंदै घिच्तै दारुले पेट भर्दछौं
नेपालै मात्र के हामी विश्व नै बन्द गर्दछौं ।।
थपेर गफमा टुक्का हुक्का झैं टर्टराउँछौं
काम गर्न परैबाट छाडेर थर्थराउँछौं
गफ हड्ताल टुक्कामा गफै केही गिजोल्छु म
जेजस्तो गफको यात्रा केही चाँडो छिचोल्छु म ।।
गफाडीहरुमा हामी विश्वमै अग्रगण्य छौं
गफै गर्न नजान्नेमा जति छौं ती नगण्य छौं ।।
खाना नै गफ हो हाम्रो नाना हो गफको कडी
खाना नाना र गानामा बितेका छन् पला घडी ।।
गफैमा जोतिएका छौं गफमै हामी मस्त छौं
गफका खेतीमा धान रोप्नमा हामी व्यस्त छौं ।।
गफैमा सपना देख्छौं गफैमा विपना पनि
मानौं हामी बनेका छौं गफाडीहरुमा धनी ।।
छाड्लान् कि गफको खेती नचोच्नु थोतिए पछि
संसारै भुल्दछौं हामी गफमा जोतिएपछि ।।
यता हेर्यो त्यतै हुन्छन् गफैका माथि टिप्पणी
यिनै हुन् कि भनेजस्ता गफाडीका शिरोमणि ।।
गफमा चुस्त छौं हामी गफै गर्न दुरुस्त छौं
गफ बाहेकको कर्म गर्नमा केही सुस्त छौं ।।
गफ खान्छौं गफै सुत्छौं गफैमा शौच गर्दछौं
भोकसोक सबै हामी गफैका भर पर्दछौं ।
गफै हो देवता हाम्रो गफै हो नव सिर्जना
गफाडीहरुका लागि गफैको हुन्छ तिर्सना ।।
ज्या है लौ किन बिर्सेंछु अर्को हाम्रो विशेषता
गफकै बाढीमा बग्दै पुगिएछ कता कता ?
पहिचान दिने हाम्रो बिर्सिएछु ठुलो कडी
दुनियाँ भरमा हामी हरिताल शिरोमणि ।।
हड्तालीहरुका राजा हड्तालीहरुका गुरु
हाम्रो संस्कार हड्ताल हाम्रै हड्ताल आबरु ।।
घर होस् कार्यशाला होस् छानी छानी डढाउँछौं
कक्षामा जान रोकेर हडताल पढाउँछौं ।।
हाम्रा उन्नतिका चोक्टा लाम्टा खाना खटाउँछौं
गफाडी झुन्ड छानेर काठमाडौं पठाउँछौं ।।
हरिया दाँत लाएर गफ गर्छौं अहर्निश
दन्त बझानमा हामी थाल्दछौं बार बत्तीस ।।
बैरीका गुन गाएर थोत्रो थाल ठटाउँछौं
बैरीकै घरमा बासी खान छोरा पठाउँछौं ।।
बैरीको हातमा देश जिम्मा लाएर बस्तछौं
उसैको सिठुवा खाई बँधुवा भई बस्तछौं ।।
आन्द्रो झर्ला भनेजस्तो गफै गर्छाैं निरन्तर
दुनियाँ भरमा आज हामी झैं अरु को छ र ?
अरुको के कुरा गर्ने छाडौं कि अरुका कुरा
गफाडी हामी हौं भन्दै सुर्कने किन पाखुरा ?
गफ उद्योगमा हामी एक्लै आकाश पुर्दछौं
रात होस् दिन वा साँझ गफैका लागि कुर्दछौं ।।
दारु उद्योग खोलेर गफ उद्योग चल्दछन्
दारुभोगीहरु मिल्दा गफैमा स्याउ फल्दछन् ।।
लौ भयो लौ भयो भैगो गफाडीहरुका कुरा
गफैका झोकमा फेरि उम्रेलान् तिनका जुरा ।।
यता फक्र्यो यतै हुन्छ गफाड्ताल सधैं भरि
बिना हड्तालले हाम्रो देश बिग्र्यो कठैबरी ।।
गफ संस्कृति हुर्काऔं गफाडी जगडा गरौं
गफाडीहरुमा विश्व कीर्तिमान खडा गरौं ।।
सुनौलो छ नयाँ अर्को हाम्रो यौटो विशेषता
त्यस्तो विशेषता छाडी लागेंछु म कता कता ।।
प्वाक्क पारेर टुक्काले बोलीलाई सिँगार्दछौं
दारुका भोगीको जस्तो अमिलो मुख पार्दछौं ।।
कामको के कुरा गर्ने छाडौं त्यो कामका कुरा
टुक्का हाल्नु छ जेभाँती सुर्कौं मुस्तन्ड पाखुरा ।।
सभाको माझमा टुक्का हाली उग्रै हँसाउँछौं
विरोधीहरुको सेखी टुक्काबाट बसाउँछौं ।।
गफ हड्ताल टुक्कामा हाम्रो यो पहिचान छ
गफ हाँक्छौं गफै खान्छौं यो हाम्रो स्वाभिमान छ ।।
पछिल्लो याममा हाम्रो अर्को एक विशेषता
थपिएको छ भुलें मैले लागें अन्तै कता कता ।।
गफाडीहरुमा हामी उच्च छौं लौ भनें भनें
संसारै भरका हाम्रा गफाडी हुन् मने मने ।।
।। इति गफाड्ताल टुक्का महिमा समाप्तम् शुभम् भूयात् ।।
