निर्मेही व्यासलाई बधाई बधाई !!
होम सुवेदी
कता के नबुन्ने कता के नबुन्ने
कमी बेसी केके कुरा मात्र उन्ने
निकै काव्य पढ्दा हुने भान यस्तो
इमाडोलका व्यासमा हुन्न त्यस्तो ।।
भए थोर के भो त्यसैमा छ भाव
जहाँ भाव हुन्नन् त्यहाँ के छ लाभ
कसैले नसोधौं कि हुन् व्यास कस्ता
इमाडोलका व्यास हुन् व्यास जस्ता ।।
विराट् तत्वको खोजमा कल्कलायौ
धरामा र आकाशका सल्बलायौ
पीडाका कतै आँसुमा टल्पलायौ
कतै स्नेह सम्वेदना चल्मलायौ ।।
छ यो एक उत्कृष्ट तस्वीर तिम्रै
र यो भव्य सत् सृष्टि तस्वीर तिम्रै
म के भन्दथें यो कहाँ चित्र मेरो
यहाँ जे छ सर्वत्र तस्वीर तिम्रै ।।
यहाँ भित्र छन् काव्यका बिन्दु बिन्दु
घडामा अटाएछ सर्वत्र सिन्धु
निफन्दै पढे तत्व यो बोध हुन्छ
तिमी देखिनेछौ यहाँ चन्द्रबिन्दु ।।
यहाँ शब्द खिप्ने कलाकार जस्ता
र साकार जस्ता निराकार जस्ता
छिचोलेर पढ्दा तिमी देखिनेछौ
तिमी व्यास नै व्यासको रूप जस्ता ।।
यहाँ भावनामा तिमी पोखिएछौ
र एकै बुँदामा तिमी जोखिएछौ
यहाँ वाणीका छौं ऋणी हामी मात्रै
तिमी शुद्ध झन् शुद्ध भै चोखिएछौ ।।
तिमी विन्दुमा सिन्धु नै रच्न सक्छौ
यसैबाट आकल्प नै बच्न सक्छौ
म सम्मान अर्पन्छु माया उघाई
तिमी व्यासलाई बधाई बधाई ।।
कुमारजी नमस्कार । मेरो फोटो के भएछ मझेरीमा । यसो मिलाउनु न है ।
