त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
“के भो र यसरी निन्याउरो हुनु भाको ?” पत्नीले निकै पटक सोधिसकिन् खेमजीलाई । तर उनी घर फर्किएर आएपछि यत्तिकै घोरिएका छन् । बोलेका छैनन् । फेरि पनि उनले खेरिन्- “हन के भो ! किन नबोल्नु भाको ? भन्नू कुरा के हो । केही भयो कि चूप लागेर बस्ने बानी छ…..!”
निकै खेरखारपछि खेमजीका मनका कुरा बिस्तारै प्रकट भए-
“कस्तो साइतमा हिंडिएछ । अहिलेसम्म सम्झनासाथ रौं ठाडा भइरकेका छन् !”
“कुरा के हो भन्नु न त !”
“बाइकमा म अलिक दूरी बनाएर गइरहेको थिएँ । मेरा अघि एब बाइक थयो । बडो शङ्का लागिरहेको थियो अघितिरको दृश्य देखेर । लामो यात्रा पनि हैन । भिडभाड पनि थिएन । म र मेरा अघिको ऊ पनि यस्तै पन्द्रबिसको गतिमा थियो । मलाई उछिनेर जानु पनि थिएन । हतार पनि थिएन । म निकै सतर्क भएर बाइक चलाइरहेको थिएँ । मलाई अहिले पनि…”
“लौ के अहिले पनि ?” पत्नीले शङ्का जाहेर गरिन् र कतै चोटपटक पो लागेको छ कि भनेर यसो हेरिन् । तर यस्तो अवस्था केही थिएन । उनलाई यस मानेमा ढुक्क भो ।
“भन्नु त अरु कुरा ।”
“मलाई अहिले पनि सम्झेर नौनाडी गल्छन् । जाँदै थियौं साधारण गतिमा । मेरा अघितिरको त्यस बाइकको पछितिर एउटी सानी बच्ची बाइक हाँक्नेलाई च्याप्प समातेर बसेकी थिई । सायद उसैकी छोरी थिई होला ।”
“अँ अनि…….?”
“सडकमा स्पिड ब्रेकर आएको त्यस मान्छेले थाहा पाएनछ । मोटर साइकल अनियन्त्रित भयो र अचानक बच्ची बाइकबाट….!!”
“राम ! राम!!”
“यहाँ भन्दा उताको कुरा म भन्न सक्तिन ल ….”
“हे भगवान के के देख्नु र सुन्नु पर्छ…….!!”
