Skip to content

कता झर्छ भन्दै न लागें पछाडि
मठाधीशकाे फेरलाई नछाडी
सफा गर्न छाडें परेकाे छ चाेट
मठाधीशकी पत्नीको पै६ीकोट ।।
(नि) काे पेटी (टि) कोट ।

न छाेराे परें वा परें वा न ज्वाइँ
नपर्दा कहाँ खेल्न पाइन्छ दाइँ
न हड्तालमा बाेक्न झन्डा गएँ म
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।

न पार्टीहरू भित्र भर्ना भएँ म
न ‌ओछ्यानमा नै उपर्ना भएँ म
कसैकाे गरें क्यै न मैले बिझाइँ
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।

नराखी नराखी कहाँ हुन्छ माग
नमागी नमागी कहाँ लाग्छ भाग
त्यसै प्राप्त के हुन्छ याे राइँदाइँ
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।

यसैले पछाैटे परेकाे छु आज
छ बाेधाे भएकाे र साेझाे दिमाग
न आयाे चलाखी न आयाे बठाइँ
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।

अराैटे भरौटे र छाेरी बुहारी
बने प्राज्ञ हाम्रा र खेले जुहारी
उपर्खुट्टी लाएर बन्दै मपाईं
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।

कुनाकन्दराका पुरस्कारसम्म
नछाड्ने बसाहाहरू छन् अचम्म
परेकाे छ आपस्तमा नै लडाइँ
कहाँ गर्नु मैले त्यहाँ गै रजाइँ ।।

कटाैराे लिई तेलकाे धाइएन
त्यसैले पुरस्कार नै पाइएन
न मैले गरें चाेर जस्ताे फटाइँ
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।

न गौंडो ढुकें वा न बाताे बसाएँ
न निर्दाेषलाई फकाई फसाएँ
म जस्ताे हुतीशून्य के गर्छ दाइँ
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।

धुपाैरेहरू हुन् सधैं धूप हाल्छन्
सिधा, दान भेटी सँगै दीप बाल्छन्
प्रशंसा र पूजा बहाना गरेर
नदेख्ने गरी काम आफ्नाे निकाल्छन् ।।

थिएँ अग्रगामी भएँ झन् ढिलाे म
सताएर छाड्याै भएँ थङ्थिलाे म
म बाेधाे थिएँ आफूलाई तिखार्याै
तिमीले मलाई सिनित्तै निखार्यौ ।।

तिमी जे जहाँ वा जसाे गर्न सक्छाै
र फुक्का भई साँढ झैं चर्न सक्छाै
म भाेकै बसूँ या बनूँ वा भिखारी
तिमी घाँस खाऊ लतारी पतारी ।।

कहाँ पर्छ खाना मुखै बाउँदैमा
कहाँ लाभ होला यसै धाउँदैमा
कटौरो लिई तेलको धाइएन
यसैले पुरस्कार नै पाइएन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *