के हो याम हुँदैन ख्याल जहिल्यै धर्ती जलेको जल्यै
मात्रै लाग्दछ नित्य घाम छ यहाँ हामी गलेको गल्यै
हुन्छौं तापनि बाध्य भै स्वजनमा गर्छौं छलेको छल्यै
ठान्दा हुन् वटवृक्ष एक छ त्यहाँ पैसा फलेका फल्यै ।।
हो स्वर्गीय धरा तथा प्रकृतिको नेपाल हो आँगन
जस्मा वैभव लाख छन् तर सधैं हामी हुने निर्धन
निष्ठापूर्वक देश हाँक्न चतुरो यो देशमा को छ र
अर्काले गरिदिन्छ भन्नु छ सधैं बाँधेर बस्छौं कर ।।
कैले दक्षिणबाट सुन्दछु यहाँ सीमा मिचेको कुरा
कैले उत्तरतर्फका मुलुकले नाघ्छन् अरे टाकुरा
मेरो देश भएछ आज किन हो सन्तापले जर्जर
भन्नै पर्छ कि देश आज हुन गो लाछीहरुको घर ।।
मेसो बस्न सके विभिन्न थरिका निर्माणका छट्पटी
देखिन्छन् मनभित्र नागरिकका सम्वेदना खट्पटी
लाखौं स्रोत छ बग्छ पारीतिर नै त्यो स्रोत रातोदिन
मेसै मात्र बसाउने मुलुकमा नेता हराए किन ।।
जस्को हुन्छ धरापिलो जग उसैको देखिने गर्जन
टेढो आगन देख्छ त्यो मनुजले जान्दैन जो नर्तन
ऐञ्जेरू रुखमा पलाउन पुगी झन् हुन्छ सङ्क्रामक
टुप्पाबाट पलाउने जनहरू हुन्छन् कि आक्रामक ।।
हाँगा पात र डाँठ डाँठ सब हुन् हाम्रा खजानाहरू
अग्ला उच्च पहाडमा वनवनै फल्ने ती दानाहरू
लाखौं स्रोत छ देशमा तर सबै अन्यत्र नै बग्दछ
हामीमा अब बोध यो हुन गयो मानौं चिसो रक्त छ ।।
सुख्खा याम थियो यहाँ शिशिरको जाडो हरायो अब
पाखा पर्वत शैलमा प्रकृतिको उल्लास छायो अब
टाढाबाट घुमी वसन्त ऋतुको सन्देश आयो अब
मेरै छेउ बसी बिहानी पखमा क्वैली करायो अब ।।
अर्ती बुद्धि र मार्गदर्शन दिने हौ पाठशाला तिमी
यो मेरो मनमा निमग्न रहने आमा तिमी हौ तिमी
मायाले परिपूर्ण त्यो हृदयमा नौलाखका चाख छन्
आमा पुस्तक हौ जहाँ सृजनका पढ्ने कुरा लाख छन् ।।
मायाले परिपूर्ण त्यो हृदय हो यौटा ठुलो सागर
धर्ती झैं गतिशील कर्मपथका हज्जार छन् जाँगर
बिर्सी त्यो ममता विदेशतिरको यात्रा कता यो चुने
आमाको मन हुन्छ सन्ततिसँगै बस्ने र खाने रुने ।।
गाना भावविहीन जर्जर भए के सक्नु त्यो गाउन
मात्रै अक्षर खोज्दछन् कवि कतै को सक्छ सम्झाउन
वाणीको कमनीय रूप नमिले के गीत के गीत त्यो
वाचा बन्धन तोड्नु मात्र छ भने के प्रीत के प्रीत त्यो ।।
यस्ता धेर कुरा पढेर मनमा उठ्छन् भँगालाहरू
गाढिन्छन् मनमा तिखो वचनका चुप्पी र भालाहरू
आफ्नो हाल समाजको र घरको पढ्दै छु सञ्जालमा
पढ्नैसम्म लुकेर पढ्नु छ यहाँ छोरो छ यो हालमा ।।
