Skip to content

आउनु ,जानु
भेट्नु , छुट्नु
अल्झनु , फुत्किनु
समीप, टाढा
लाभ, हानी
विग्रनु , सुल्झनु
नैरास्यता, घमण्ड
रिस डाहा, प्रेम विश्वास
नरम, कठोर
बेसोमती, मनकारि
साँचो, झुटो
कहिले प्रभात
कहिले निशा
पत्र पत्र जस्तो
रावणका टाउकाहरु झरेपनि हुनेजस्तो
यो संसार हो माया नगरी

यसलाई छोडी
वास्तविक जीवनतिर फर्किने यात्रा
जसलाई हामी मृत्यु भन्छौं

तेरोेमरो यदि केही छैन भने
जीवन कर्म त्यो सच्चा हो
लिएर जाने त के छ र यहाँ
दिएर जान्छ जसले उसैले लिएर जान्छ

त्यही एउटा अटुट कर्म फल नै त हो
यदि हाम्रो भन्ने जब भाव आउँछ
तब दुःख सदा भाग्नेछ
सुख आफै दैलोमा आउने छ

अरुको दुःखलाई हाँसीहाँसी सहनेछ
दुःख भगाउने सङ्कल्प गर्नेछ
यसैमा जीवन सदा डोर्याउनेछ
मृत्यु पारि पनि आउने छ
त्यही त कर्म हो

उसको नै नाम सदा रहनेछ
सबैको माया बर्षिरहनेछ
उसलाई नै सबैले सम्झिरहनेछ
यदि उसमा आफु मात्रै छैन भने

मृत्यु हार होइन
यो यात्रा अविरल हो
जिउनु मात्र होइन जिन्दगी
आफ्नो हातमा जिउनु पो जिन्दगी

यो संसारका लागि
मृत्यु अवश्य हाम्रो बशमा छैन
मृत्यु टिकट हो त्यो यात्राको
कर्म त्यसको शुल्क
अर्को संसारका लागि यात्रा खुला छ
जति असल कर्म हुनेछ
त्यत्ति राम्रो गन्तब्य हुनेछ

यस्तो मुस्कानले मरो साथी
आँसुलाई हराइदेऊ मरो प्यार
आजलाई नछोड भोलिलाई भनी
आजलाई पक्डन सकेन भने गयो
त्यसैले आजलाई पकड त्यही हो जीवन

कहर पाखा लाग्नेछ
बहार आउनेछ
उसैको जित सदा हुनेछ
जो हुनेछ सच्चा कर्मी
ऊ हुनेछ सच्चा धर्मी
अनि
उसको मृत्यु कहिल्यै हुनेछैन

मनले जिती यस्ता कुराहरु गरे पनि
मनलाई शान्त पार्न ठेले पनि
मनले पनि हारेको क्षण हो यो

जस्तै आपत परे पनि
आकाश गर्जे पनि
आँधि तुफान आएपनि
सुनामी आए पनि
ठुलो भुकम्प आए पनि
घातक खतरै खतरामा पनि
हिम्मत हारेका छैनौं

सागरको मोति निकालेर पनि
आकाशको उचाइ माथि गएर पनि
विश्वासको दियो बाली
मृत्युलाई हामी चुनौती दिन्छौं

अटुट विश्वास पनि एक शक्ति हो
त्यसको बल बलियो हुन्छ
बाधा अड्चन सबै पाखा लाग्नेछ
बाधा अड्चन सबै पाखा लाग्नेछ

(यो कविता उहाँमा समर्पण गरेँ) मृत्युसँग पौँठेजोरी खेलिरहनुभएको श्रद्धेय ससुरा बुबा बलदास खरेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

२०७६ बैशाख १७
विजु सुवेदी विजय

Leave a Reply

Your email address will not be published. Required fields are marked *