भयो जिन्दगानी नदीको किनारा
किनारानिरैको भएँ सर्वहारा
तिमी हौ प्रभो एक यस्तो सहारा
तिमी धाम मेरा तिमी राम मेरा ।।
तिमी देवका देव हौ हे महेश
तिमीदेखि अर्काे यहाँ के छ शेष
कता छौ तिमी आज रित्तै छ डेरा
तिमी विष्णु मेरा तिमी श्याम मेरा ।।
पुकारा गरेको छु मैले सुनेनौ
सुनेकै भए फेरि केही गुनेनौ
परेछौ कि भन्ने भएको छ घेरा
तिमी चन्द्र मेरा तिमी घाम मेरा ।।
न त्यो प्रेम बाँड्यौ न सद्भाव बाँड्यौ
न त्यो दिव्य मुस्कान नै थोर बाँड्यौ
नबाँडे पनि हौ तिमी नाम मेरा
तिमी राम मेरा परंधाम मेरा ।।
नदेखेर के भो जतै छौ ततै छौ
नियाले यतै छौ नियाले उतै छौ
तिमी यत्न मेरा र आराम मेरा
शुभारम्भ मेरा र विश्राम मेरा ।।
मलाई यहाँ छैन इच्छा विशेष
अनेकौं तिमीमै छ सामथ्र्य शेष
यसैले तिमी एक उच्छ्वाश मेरा
तिमी प्राण मेरा तिमी श्वास मेरा ।।
तिमी हेरिबस्छौ यहाँ लाञ्छना छ
हजारौ्र यहाँ वेदना वेदना छ
कतै सार्न लाग्यौ कि आफ्नो कटेरा
तिमी श्याम मेरा घनश्याम मेरा ।।
