बस बिसौनी मा बसिरहेकी त्यो नवविवाहिता माथि मेरा आँखाहरू अनायासै अडिए । मेरो छेऊको बेञ्जको कुनामा समेटिएर, संकुचित भएर, सर्माउँदै बसिरहेकी थिई । अनुहार राम्रोसँग देखिएको त थिएन, तर घुम्टोको छेऊबाट चियाइरहेको अनुहारको जति परिमाणमा देखिन्थ्यो, त्यही नै उसको सुन्दरताको अनुमान लगाउन पर्याप्त थियो । दुबै खुट्टामा पोतिएको बुट्टेदार रङ्ग, खुट्टाको औँलामा चाँदीको बिछिया अनि मोटो-मोटो चाँदीको पाउजु उसको सुन्दरता माथि अझ प्रभाव थप्दै थियो ।
ऊसँगै उसको पति पनि बसिरहेको थियो, आँखामा कालो चस्मा लगाएर । जिङ्गरिङ्ग परेको कपाल र पहेँलो दाँतमा बिँडी तान्दै बस कुरिरहेको ऊ देख्दैमा कुरुप देखिन्थ्यो । उनीहरूलाई देख्दैमा सबैले यो भन्न सक्थे कि- ‘लङ्गुरले अप्सरा भेटेछ ।’
मेरो आँखा केही बेर यता उता घुमेर फेरि त्यही नवविवाहिता माथि नै अडिन्थ्यो । उसलाई देखेर म सोच्थें कि “भगवान्ले सुन्दरता पनि कहाँ-कहाँ दिन्छन् ? यो केटीको परिवारवालाहरूले आखिर यो मान्छेमा के देखेर यति राम्री कन्या दिएछन् ?” मलाइ मनै-मन त्यो मानिस प्रति ईर्ष्या जागृत भएर आउन थाल्यो ।
मोरो आँखा अझै पनि त्यहिँ गएर टिकिरहेथ्यो ।
केही बेर मै बस आइपुग्यो । बस बिसौनीमा सवारीहरूको चहल-पहल बढ्न थाल्यो । नवविवाहिताको पति ले म भए तर्फ हेऱ्यो र भन्यो – “हजुर, एकैछिन यो सामान हेरिदिनुस् है, म यसलाई बसमा राखेर आउँछु ।” ऊ फुर्तिकासाथ अगाडि बढ्यो र आफ्नी पत्नीलाई काखमा उठायो ।
अब छक्क पर्ने मेरो पालो थियो ?
सुन्दर नवविवाहिताको बिछिया, पाउजु र बुट्टेदार डिजाइनले सजाइएका दुवै खुट्टा पोलियोग्रस्त थिए ।
१९९९
राजकमल सक्सेनाको हिन्दी लघुकथा ‘पैर’को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
