Skip to content

पितामा पनि केही हुन्छ
कसैको तुलना हुन्न आमाको ममतासँग
आमाको ममता जस्तै स्नेह हुन्छ पितासँग ।।

पिताको भूमिका केही नकार्ने जब देख्छु म
पिताको योग्यतामाथि सोचेर केही लेख्छु म ।।

आमाको भूमिका हुन्न भन्ने यो हैन आशय
उनको भूमिकामाथि हुँदैन धेर संशय ।।

परेली पिरले भिज्छन् आमाका तर बाबुमा
छाती भित्रै लुकाएर राख्तछन् पिर काबुमा ।।

आमाको योग्यतामाथि किञ्चत् शङ्का म गर्दिनँ
बाबुको योग्यता बेग्लै छ भन्न पछि पर्दिनँ ।।

आमाका दशधाराले हामी हुन्छौं हराभरा
छातातुल्य पिता हुन्छन् आमा हुन्छिन् वसुन्धरा ।।

पिताले थाप्तछन् थाप्लो भाग्छन् दुर्लङ्घ्य आपदा
घरमा जब उर्लन्छन् अनिकाल र आपदा ।।

पिताकै पहिले पर्छन् थाप्लोमाथि अनेकन
बिब्ल्याँटाहरुको भारी भन्दैनन् थाप्न सक्तिनँ ।।

घोडाले बग्गी हाँके झैं परिवार चलाउँछन्
आफ्ना सन्ततिका लागि आफैंलाई जलाउँछन् ।।

पिताको योग्यतालाई नकार्ने जब देख्छु म
कसैले बाबुका लागि भन्दैन केही लेख्छु म ।।

श्रमको खालमा हाम फालेर बाबु तप्त छन्
गुणगान यतातर्फ आमाकै मात्र जप्तछन् ।।

आमाको तुलना हुन्न यो कुरा ध्रुवसत्य छ
तर के बाबुको मूल्य भन्नुहोस् के असत्य छ ?

आफ्ना सन्ततिका लागि कर्म गर्छन् अहर्निष
साठी माथि हुँदासम्म बन्नै पर्दछ बत्तिस ।।

बाबु हुन् बाबु हु्न् बाबु सक्तैन जोसुकै हुन
कसैले पनि सक्तैन आमाको योग्यता छुन ।।

रापमा तापमा त्यस्तै श्रमको अग्निकुण्डमा
पिल्सिन्छन् बाबु हुन् एक्लै रहे तापनि झुन्डमा ।।

सधैं टन्टा सधैं लन्ठा रडाको परिवारमा
बोक्तैमा बाबुका केस फुल्दछन् घरबारीमा ।।

आफ्ना इच्छा डढाएर घरमा पूर्ति गर्दछन्
मर्यादासम्म राख्तैनन् छोराले फुर्ती गर्दछन् ।।

उनैका पसिनाबाट परिवार चलाउँछन्
तथापि कतिले ज्यूँदै उनैलाई जलाउँछन् ।।

बाचेसम्म सधैं राप तापमा बाबु पर्दछन्
मरेको आधि घन्टैमा छोराले पिण्ड गर्दछन् ।।

यसैले बाबुका धेरै खोज्न थाले विशेषता
भेटिन्छन् अहिलेलाई चूपै लाग्नपर्यो म ता ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *