भाइ कैले पूरा गर्लास् गन्न तेरै बाँकी रह्यो
आफ्नो भन्न कैलै पाउलास् भन्न मेरै बाँकी भयो ।।
छोरा छोरी नातिसम्म मेरा केही छैनन् बाँकी
तेरो भने उपध्याहा यौटा धन्न बाँकी रह्यो ।।
त्यसले तँलाई सुख शान्ति केही पनि दिने छैन
भनौं भन्थे तेरा कानमा यसै भन्न बाँकी रह्यो ।।
छाप्छाप्ती छन् भ्रष्टहरु तलदेखि माथिसम्म
तिनलाई पुर्ने यौटा ठुलो खाल्टो खन्न बाँकी रह्यो ।।
हाम्रो मुलुक गरिवीको चपेटामा परेको छ
धनी पार्न चाहन्थें म देश विपन्न बाँकी रह्यो ।।
जम्मा गरें केही तर कहाँ मिल्थ्यो माथि लान
भए जति लाने कुरा सबै यतै टन्न रह्यो ।।
स्वतन्त्र यो देश हाम्रो दक्षिणबाट आँखा लाउँछन्
सार्वभौम बन्नु पर्थ्यो तर बन्न बाँकी रह्यो ।।
