न मा पनि चन्द्रबिन्दु ???
भाषिक सन्दर्भमा ङ ञ ण न म जस्ता यी नासिक्य वर्णहरुले प्रयोग हुनु पर्दा कुनै स्थानमा सामान्य नासिक्य भएर काम गर्दछन् र कुनै स्थानमा असामान्य वा बढी नासिक्य भएर काम गरिरहनु पर्छ । कतै भने कम नासिक्य भएर पनि आर्थी संरचनाको भार यिनले बहन गरेका हुन्छन् । ण र ञ वर्ण तत्समबाहेकका नेपाली शब्दहरुमा उच्चारणमा छैनन् तर ङ न म भने छन् र यिनमध्ये केहीले सामान्य कम नासिक्य, सामान्य नासिक्य र अधिक नासिक्य भएर पनि शब्दमा अर्थ भेद गरेका छन् । शब्दमा अर्थभेद गर्ने क्षमता देखियो भने तिनलाई वर्णको हैसियत प्राप्त हुन्छ ।

कुनै शब्दको पछिल्तिर नासिक्य वर्ण छन् भने तिनका सुरुतिरका वर्ण पनि हल्का नाके हुन्छन् जसलाई नासिक्यरञ्जन भनिन्छ । जस्तोः आमा पनि पानी घाम धान झाङ चाङ आदि । यहाँ आमा लेखिन्छ तर आँमा बोलिन्छ । यसै गरी पनि लेखिन्छ तर पँनि बोलिन्छर । पछिल्लो नासिक्य वर्णले थपक्क आफू भन्दा पहिलेको वर्णलाई आफू जस्तै नाके बनाएको पाइन्छ । तर बनाउनु अनिवार्य नै भने हैन । त्यस्तो बनाउने प्रक्रियालाई नासिक्य रञ्जन भनिएको हो । कुनै बेला आफू भन्दा पहिलेका दुई तिन वर्णलाई नै नासिक्य वर्णले रञ्जन गराउँछ । जस्तोः म घर गइनँ ।

यो वाक्यका अन्तमा रहेको अति नासिक्य नँ ले आफूभन्दा पूर्वका ग र इ समेतलाई नाके बनाएको छ । यो वाक्यको क्रिया सही रुपमा गँइँनँ सुनिन्छ । यसरी सुनिए पनि लेखनमा भने नँ मा मात्र चन्द्रबिन्दु दिइन्छ । नासिक्य रञ्जित सबै वर्णहरुमा चन्द्रबिन्दु दिने परिपाटी छैन । यहाँको यो चन्द्रबिन्दु प्रथम पुरुष एक वचनबोधका लागि हो । यसै ठाउमा सीता गर गइन भनियो भने न मा नासिक्यता कम पारेर उच्चारण गर्नु पर्ने हुन्छ । तृतीय पुरुषको एक वचनको भूतकालको स्त्रीवाची अकरण क्रियाको अर्थबोध गर्नका लागि न मा नासिक्यता कम गरेर उच्चारण गर्नुपर्ने रहेछ भनेर बुझिनु पर्ने भो अब । यसो गरेपछि आफूपूर्वका वर्णहरुलाई यसले प्रभावित नै गर्न सक्तैन । यसैले नासिक्यता अघिक र कम हुनाले अर्थभेद गरेको देखियो । जब कुनै वर्ण अर्थभेदक भएर आउँछ वर्णविज्ञानमा त्यो वर्ण हुने अधिकारसम्पन्न वर्ण हुन्छ । यसैले यो नासिक्य वा चन्दबिन्दु पनि वर्ण नै हो तर आफू एक्लै लेख्न र उच्चारण गर्न नसकिने प्रकृतिको भएकोले यो खण्डेतर वर्ण मात्र हो । अर्थात क ख ग म जस्तो अलग गरेर लेख्न नसकिने वर्ण हो । खण्ड गरेर लेख्न नसकिने वर्ण हो । जुन खालको भए पनि एक वर्ण हुने अधिकार यसमा छ । तर यो अलग लेखिन्न यसैले नासिक्यलाई खण्डेतर वर्णका रुपमा लिनु पर्छ । यसरी निरनुनासिक वा कम नासिक्य वर्णलाई नासिक्य वर्ण वनाउनु र अर्थभेद गराउनु नै चन्द्रबिन्दुको काम हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *