परेवाको जस्तै प्रेम
परेवाको जस्तै जोडी
कस्तो कर्णप्रिय लवज, तर…
परेवा पनि धोकेबाज हुँदारहेछन्
मैले प्रत्येक्ष देखेको छु
म त्यसको साक्षी छु
परेवाको जोडी हुर्कदै थियो
प्रेमको पखेटा लाग्दै थियो
वातावरण प्रेममय हुँदै गयो
प्रेमाकाशमा प्रेमजोडी
परेवाको जस्तै जोडी
कहिले अनन्त आकाशमा बिलाउँथे
कहिले बादलसँग लुकामारी खेल्थे
आफ्नै आकाश थियो
आफ्नै संसार थियो
आफ्नै कल्पनाको प्रेम सागर थियो
त्यही सागरमा प्रेम डुबुल्की लगाउँथे
सर्वत्र प्रेम थियो
सर्वत्र प्रेमजोडी थियो
परेवाको जस्तै प्रेम
परेवाको जस्तै जोडी, प्रेमजोडी
प्रेम फक्रंदै गयो
प्रेमाश्रय आवश्यक भयो
र एउटा सुन्दर प्रेम गुंड बनाए ती प्रेमजोडीले
प्रेम निशानी स्वरुप
प्रेम अण्ड पलाए
प्रेम ओथारोमा समाहित भयो
प्रेम नकोरलिंदै कालो बादल मडारियो
सम्साझै कालो कागले झम्ट्यो
कालरात्रिमा
प्रेमको संसार तहस नहस भयो
परेवा प्रेम खण्डित भयो
प्रेमी परेवा शहीद भयो
एकाबिहानै विक्षिप्त प्रेमिका
आफ्नो खण्डित प्रेमलाई सांच्दै गरेको देखापरिन्
भत्केको गुंडका सिन्काहरू मर्मत गर्न थालिन्
परेवाको प्रेम मरेको थिएन
त्यही दिन
खण्डित प्रेमकि प्रेमिकाले देखिन्
परेवाको अर्को नव जोडीले
त्यही रुखमा आफ्नो प्रेमिल संसार पाए
आफ्नो कल्पनाको प्रेम गुंड स्थापित गरे
उही भावना र उस्तै सपना
प्रेमाकाशमा कैयौं प्रेम डुबुल्कि लागे
यहाँ पनि, परेवाको जस्तै प्रेम थियो
परेवाको जस्तै जोडी थियो
प्रेमजोडी थियो
तर, सबै परेवाको प्रेम परेवाको जस्तो हुँदो रहेनछ
सबै परेवाको जोडी परेवाको जस्तो हुँदो रहेनछ
नव प्रेमी परेवाको मन भरिंदै आयो
नव प्रेमी परेवा खण्डित प्रेमकि प्रेमिका तर्फ लहसियो
नव जोडीमा खटपट शुरू भयो
नव प्रेमी परेवाले हठात् सम्बन्ध तोड्यो
र खण्डित प्रेमिका समक्ष प्रेम प्रस्ताव राख्यो
आफ्नो पुरानो सम्बन्ध पूर्णरूपमा विच्छेद भएको प्रमाण पेश गर्यो
नव प्रेमीको प्रेमहठ समक्ष
खण्डित प्रेमिका पग्लिइन
र आफूलाई समर्पित गरिन्
नव प्रेमिकाको मुटु विस्फोट भयो
तर, उक्त आवाज ऊ बाहेक कसैले सुनेन
आफ्नो प्रेम कायम राख्न प्रयास नगरेकि होइनन्
तर, धोकेबाज परेवाले उक्त प्रेमको मूल्य बुझेन
र प्रेम नफक्रिंदै वली चढ्यो
नव प्रेमिका, परेवाको जस्तो प्रेमको खोजीमा अलप भइन्
सबै परेवाको जोडी परेवाको जस्तै जोडी हुँदैनन्
सबै परेवाको प्रेम परेवाको जस्तै प्रेम हुँदैन
परेवा पनि धोकेबाज हुँदारहेछन्
परेवा पनि नि:स्वार्थ प्रेमका भोका हुँदारहेछन्
तर, परेवा मान्छे जस्ता हुँदारहेनछन्
सम्बन्ध विच्छेद नगरी अर्को सम्बन्ध गाँस्दा रहेनछन्
(दुई जोडी परेवा पालनको क्रममा रचनाकारले देखेको सत्य घटनामा आधारित रचना)
