Skip to content


पति वियोगमा
रातो त्यागेकी विधवा झैं
सेतै फुल्छौ तिमी जिन्दगीभर
ए सेतो गुलाफ !
कुन काल खण्डमा तिम्रो ‘जीवन’ मर्यो ??
दैवले कहिले तिम्रो ‘सिन्दुर’ खोस्यो ??
र प्रण लियौ तिमीले
जिन्दगीभर सेतै फुल्ने,
रातो रंगसँग पारपाचुके गर्ने ??

सम्झेर बितेको तिम्रो “प्रियतम”
रून्छौ किन तिमी हरपल हरदम ??
भुतलाई सम्झेर भविष्य बिगार्न
कुन धर्मले सिकायो, मन मारेर बाँच्न ??
कहाँ लेखेको छ, तिमी हाँस्नु हुन्न ??
कुन ईश्वरले भन्छ, तिमी रंगिनु हुन्न ??

तिमी फुल्ने धर्ती यहीँ हो, जहाँ अरू फुल्दछन्
तिमीले फेर्ने श्वास उही हो, जो अरू फेर्छन्
तिमीले ताप्ने घाम त्यहीँ हो, जो अरू ताप्छन्
र पनि किन तिमी रंगिन बगैंचामा
सेतै फुल्छौ ??
के तिमी भित्र रंगिन सपना फुल्दैन ??

आफ्नो रंगिन जीवनलाई सेतै पारेर
आफ्नो मन भित्रको मनलाई मारेर
कुन ‘गीता’ पढ्छौ र तिमी ??
जीवन अँध्यारो पारेर
कुन भगवानलाई पुज्छौ र तिमी ??
मन्दिर बाहिरै बसेर

चार पोका रगत शरीरभित्रै बोकेर
कसले भन्छ तिमीलाई सेतै फुल्नु भनेर ??
इच्छा-आकांक्षा सबै मनमै मारेर
कसले भन्छ तिमीलाई मर्दै जीउँनु भनेर ??

सर्वाधिक
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *