Skip to content

प्रेमाव्हान

मेरी प्रेमिका
मेरो गरम खल्ती र उपहार दिने हातको तराजुमा जोख्छे मेरो प्रेमलाई
मेरी प्रेमिका
मेरो आलीशान महल र महंगो गाडीको आभाशसँग तौलिन्छे मेरो प्रेमलाई
मेरो प्रेम चौडा छातीभित्र अंकुरित निस्वार्थ अनुरागको बिज हो
तर म उनीको प्रेममा पलाँसको सुगन्धहीन बासना पाउँछु
मेरो प्रेम यथार्तताको धरातलमा उभिएको बिपना हो
तर म उनीको प्रेममा आफुलाई गगनमाथि बायुपंखी घोडसवार राजकुमारको काल्पनिक सपना पाउँछु
मेरो प्रेम रापिलो रविकिरणद्वारा सदैव आक्रान्त अटल हिमालको नपग्लिने हिमराशी
तर म उनीको प्रेममा कोमल पवनको एक झोक्काले पनि भात्किहाल्ने तासको महल पाउँछु
मेरो प्रेम, जीवनको रथरुपी आरोह अवरोहको अडग सारथी
तर म उनीभित्र पुष्पपरागमा नाच्दै रङ्ग बदलिरहने पुतली पाउँछु
मेरो प्रेम अमुल्य, अपरिवर्तनिय, अकाट्य र अभेद्य भावनापुन्ज
तर म उनीको प्रेममा भौतिकता र भावनाको सौदाबाजी पाउँछु
भौतिक र अभौतिक भावनाको असामन्जस्यता महसूश गर्छु
मेरो प्रेम अन्तस्करणबाट टुसाएको समर्पणको पुष्प बिरुवा
यो स्वार्थ र कपटरहीत धरातलमा मात्रै जिउन सक्छ, मौलाउन सक्छ
मेरो अनुरागमा अबर्णनीय निस्कपट ब्यग्रता छ, अभेद्य र अलौकिक अटलता छ
यसलाई गोलधरको असह्य रापले पनि जलाउन सक्दैन
यसलाई निहारिकाको अकल्पनीय ठिहीले पनि जमाउन सक्दैन
यसलाई अचुक ब्रह्मास्त्रले पनि भेदन गर्न सक्दैन

प्रेम समर्पण र बिस्वासको अवयवहरुले बनेको सुन्दर महल हो
यो सुन्दर महलका भित्ताहरुलाई शंकाको सानो पराकम्पनले पनि चर्काउन सक्छ
अबिस्वासको सानो भुमरीले पनि यो सुन्दर महलको छानो उडाउन सक्छ
स्वार्थ र परअवहेलनाको बाछिटाले पनि यो बलियो महल धरासाई हुनसक्छ
त्यसैले, आऊ प्रीये
यथर्तताको धरातलमा ठडिएको यो प्रेममहललाई जोगाऔं
कल्पनाको बायुपङ्खी घोडाबाट उत्रेर बिपनाको प्रेममहलमा बिराजमान होऔं
भौतिक सुखानुभूतिको तटबाट निस्वार्थ सागर तर्दै भावनात्मक प्रेमकिनारामा बिश्राम गरौँ
हामी बिस्वास र समर्पणको माला गुँथी एक अर्कालाई लगाइदिऊँ
तिम्रो दर्दमा म दुखिदिउँला अनि रोदनमा म अश्रुधारा बगाइदिउँला
तिम्रो मुस्कानमा म हर्षाश्रु बगाउँला अनि सफलतामा अभिमानको संगीत रचौँला

आऊ प्रिये आलिंगनको डोरीले बाँधिएर प्रेमगीत गुनगुनाऔं
” साथै जिऔं साथै मरौं दु:खसुख साटी
हासोँ खेलौं नाचौं गाऔं प्रेममन्च माथी
तिम्रो दुख मलाई देऊ मेरो खुसी लैजाऊ
जन्म जन्म पुनर्जन्म तिमी मेरै भैजाऊ ”

*******************इती**************************

Leave a Reply

Your email address will not be published. Required fields are marked *