तालिएको सम्झना वेगिएको मन


“एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी ।

“स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग ।

“हो, बिहानीको सिरसिरे हावाको उत्सवमा सहभागी बनौँ न त ।” मैले पनि जनाएथेँ सहमति ।

अनि त के चाहियो र ! वैशाख फुल्न लागेको २०७६ सालको पोखरेली आँगनमा निस्कियौँ हामी ।

हामी कति छिटै हुर्रिएर फेवाको किनारमा पुगिसकेछौँ ।

ताल टल्कियो हरियो छायामा । चराहरूले छुँदै उडे तालको सङ्लो पानी र आकासको नीलो छाया । ताल किनारको सडकमा पनि छ फूलको वर्षा र शीतल हावाको स्पर्श । मन लहसिएको छ रोमाञ्चक दृश्यहरूसँग ।

फेवातालमा एकछिन टहलिने हाम्रो चाहना अनुरुप लाइफ ज्याकेट लिएर आइसकेका थिए नवराज भट्ट । अनि हातेमालो गर्दै उक्लियौँ डुङ्गामा हामी ।

“दुइवटा डुङ्गा जोडेर बनाएको छतरी डुङ्गा हो यो ।” पानीमाथि जिन्दगानी उतारिरहेका मकवानपुरे माझीदाई किरण लामा बोलेथे ।

पानीका सेता फोका र फिँजसँग चलमलाइरहेथे अनगिन्ति पतवारहरू । पतवारका चोटिला डामहरू छोडिइरहेथे तालमुन्तिर । तालका मसिना लहरसरि मनभरि हल्लिरहेथे अनेक तरङ्ग । तालभरि लहरिइरहेथ्यो मान्छेहरूको उमङ्ग । उमङ्गको हँसिलो दर्पण प्रतीत भइरहेथ्यो प्रियजनको नयनताल ।

फेवातालको लहरमा छरिएको थियो मधुर गीत । छातीमा गढेको त्यो कालजयी गीत सम्झेर मनमा उठिरह्यो वाफिलो तरङ्ग । मनले गाएको हो कि तालको पानीले, ठम्याउन सकिनँ मैले– “फेवातालमा साइँली डुङ्गा सलल, सम्झनामा तिम्रो तस्विर झलल, … ।”

“के गरिरहेछन् मान्छेहरू यहाँ ? ”

“रहरको अनन्त तलाउमा जीवन डुङ्गा खियाइरहेछन् । त्रासद भुमरी छल्दै बाँचिरहेछन् सुखद संयोग ।”

मनको सवालमा मनकै थियो जवाफ ।

वरपर डुलेर थाकेपछि एक नजर आफूतिर पनि लगाएँ मैले– डुङ्गामा ढलपलाउँदै जीवन नदीको धारिलो प्रवाहमा हेलिइरहेछु म पनि ।

“डुङ्गामा पानी छिर्न नदिन कपास कोचेर अलकत्रा जस्तो पुरेनले टालिन्छ ।” पानीको कलकल संगीतजसरी मनमा गुञ्जिन्छ माझीदाईको बोली । उनको बोलीको जादुले होला– हर्पन, भदौरे र तामागीलाई सम्झेर तालिएको ताल पनि सुस्तरी हल्लिएथ्यो । मक्किएको जिन्दगीका घाउहरू त्यसरी नै टाल्न पाए, एउटा कामना अङ्कुरण भएथ्यो मनमा । अनि, ताल हेरेर भोकप्यास बिर्सिएका बस्तीसँग एकाकार हुन चाहेथेँ म पनि ।

माझी बिनाका डुङ्गाहरू पनि हल्लिरहेथे तालमाथि । माझीदाईका संघर्षका कयौँ कथाहरू तालको पानीमा त्यसै बगेर गइरहेथे शायद । अरूलाई तार्दातार्दै आफै डुबिसके कि माझीदाईका सपनाहरू ?

सपनाभन्दा धारिलो भएर मुटुमा छोइएथ्यो केही चिज।

“अतिक्रमित फेवाको आँसु त होइन यो ?” ठिहिर्‍याउने तालको चिसो पानी छोएर आफैसँग सोधेथेँ मैले ।

बेखबर माझीहरूको उद्धार गर्न नसके पनि जमानाले फेरि सम्झ्यो माझीदाईलाई– “माझीदाई पोखरा फेवातालको, लाममाया साँच्चैको नलाम भो ख्यालख्यालैको, … ।”

हरिया पहाडका सुन्दर दृश्यहरू तैरिनाले झन् सफा भएको छ फेवा । माछापुच्छ्रेको छाया र अन्नपूर्णाको माया सङ्गालेर तालबाराहीलाई फन्को मार्‍यौँ हामीले । डाँडाको टुप्पामा देखियो धौलागिरी । बालसखाको अत्याचारले रोइरहेको बेला भेटिएका आमाबाबु जस्तो लाग्यो धौलागिरी मलाई ।

अनि लहरै हाँसिरहेका हिमालचुलीलाई हेरिरहेँ मैले । तालमा पौडिरहेको हिमाललाई अधैर्यतापूर्वक खोजिरहेँ मैले । खुलेको हिमाल र खुलस्त हाँसेको आफन्त उत्तिकै चित्ताकर्षक लाग्छन् मलाई ।

तालबाराही टेक्यौँ हामीले । प्यागोडा शैलीमा बनेको मन्दिरको काष्ठकला बेजोड थियो । गजुर र टुँडालमा थियो परेवाको स्वच्छन्द नाच । मन्दिर वरपर तालमा थियो माछाको एकछत्र राज । डाँडाबाट तालको खुसी मस्तले नियालेर हाँसिरहेथ्यो शान्ति स्तुप । मनका भित्ताभरि टल्किरहेथ्यो स्तुपको मुस्कानी गजुर ।

तालबाराही मन्दिर र फेवालाई पृष्ठभूमिमा राखेर खिचिन आइपुगे विवाहित जोडी । मिलाईमिलाई खिचिदिनुभयो सञ्जय । आफ्नो फोटो हामीलाई पनि देखाए मायालु जोडीले ।

“एक्सपर्ट हुनुहुँदोरहेछ ।” केटीको प्रशंसा सुनियो ।

मुस्कानमा पनि साटियो कृतज्ञता र धन्यवाद । तैपनि युगल मुस्कान जस्तो बेजोड लागेन बेजोडी मुस्कान मलाई । प्रेमील जोडीको फोटोले मोहित बनाए पनि खुलेर रमाउन सकिनँ म । कहिलेकाहीँ रमाइलोमा पनि रमाउन दिँदोरहेनछ परिस्थिति ।

सराङकोट, ड्यामसाइड र पुम्दीभुम्दीतिरका हरेक दृश्यलाई फेवातालको पानीले धोएँ र सजाएँ मनमा । सराङकोटे क्षितिजबाट चराझैँ उडेर फेवाको पश्चिमी किनारमा ओर्लिरहेथे प्याराग्लाइडिङ गर्नेहरू । डुङ्गामा, किनारमा, बल्छीमा अल्झिरहेथे युगल जोडीहरू र केही बेजोडीहरू ।

“हो, सङ्लिन आउनुपर्ने रहेछ तालछेउ ।” फेवादेखि ओझेल हुँदा मनले बोलेथ्यो विछोडको वेदना ।

लेकसाइड, हल्लनचोक र जिरोकिलोमिटर छुँदै निस्कियौँ हामी । बाग्लुङ बसपार्क हुँदै टेक्यौँ विन्ध्यवासिनीको आँगन । घान्द्रुक, सिक्लेस, धम्पुस, पञ्चासे नछोए पनि तृप्तिले भरियो हृदय । विगतसँग अनुभूति साटेर मन मुटुमा सजाएँ पोखरेली धरा । हो, मनभन्दा विशाल कहाँ हुन्छ र संसार ? मुटुभन्दा पर कहाँ हुन्छ र धड्कन ?

धड्कन निचोरेर सञ्जयले सुनाउनुभएथ्यो– “सम्झनाका तालैतालको पोखरासँग एक अनौठो नाता छ, … ।”

“आत्मीय सम्बन्धका अनेक पोखरेली सम्झना तालिइरहेछन् यो मुटुमा पनि ।” मन थामेर भनेथेँ मैले पनि ।

आ–आफ्ना मुटुका कमजोर पानाहरूलाई साइनो सम्बन्धका तुनाले कसेर परदेशीसरह बाहिरिएथ्यौँ हामी पोखराबाट । तर, पाइला जहाँ पुगे पनि सम्झनाको गहिरो तालमै खस्दोरहेछ वेगिएको मन हरपल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “तालिएको सम्झना वेगिएको मन”

  1. नयाँघरे शैलीमा रचिएको संस्मरण
    नयाँघरे शैलीमा रचिएको संस्मरण को प्रस्तुतिकला बेजोड छ । नयाँघरेलाई भुसुक्कै बिर्सिएर भेषराजसँग म पनि फेवातालमा तालिइरहेँ । भेषराजकै मनसँग मेरो मन पनि पोखराका कुनाकाप्चा बेगिईरह्यो घण्टौँघण्टासम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *