ससुराबा ! टाढैबाट प्रणाम
यो अवहेलित ज्वाईंको देब्रे हातको सलाम
मलाई तिम्री छोरी त फुलबारीकी माली हुन् भनेर भन्थ्यौ त
तर उनी त कालीरूपी ताण्डव नर्तकी पो परिछिन्
तिम्री छोरी त गुलावकी फूल हुन् भनेर मलाई भिडाएथ्यौ त
तर उनी त मरुभूमिकी तीखो काँडे सिउँडी पो परिछिन्
तिम्री सन्तान त स्वर्गकी परी हुन् भनेर मलाई लोभ्याएथ्यौ त
उनी त बचनबाण हान्ने धनुषको ताँदो पो परिछिन्
छुरामुखे सासूआमापुत्री त शान्त सागर छिन भनेर धक्कु लगाउँथ्यौ त
उनी त बर्खाकी बौलाहा खहरे पो परिछिन्
मेरो बिहेखर्च ब्याजसहित फर्काऊ
तिम्री छोरी तिम्रै घरतीर लर्काऊ
तिमी कन्जुस पातकी बुढालाई के थाह ?
बोतलको झोलको आनन्द
तिमी खट्टी महतारीकी जनकलाई के महत्व ?
घ्याम्पाभित्र कुहिएको जाँडको बुलन्द
तिमी नशापानलाई कुकृत्य देख्छौ
म यसलाई दर्दनाशक ओखती देख्छु
तिमी नशालुलाई मतिभ्रष्ट ठान्छौ
म यसलाई पीडानाशक अस्त्र मान्छु
हाम्रो साइनो मेल भित्रको बेमेल हो
हाम्रो संसार शान्त सागरभित्रको खहरे भेल हो
तिमी उदय,म अस्त
तिमी चिन्तित,म मस्त
तिमी पीडक,म पीडित
तिमी अधोमुखे,म हशमुख
हा हा हा हा
म उनीलाई सदा बत्तीसदन्ते किच्च हाँसोले बोलाउँछु
उनी मलाई कुचोको अभिषेकले बयलजुरे टुटुल्कोको प्रेम उपहार दिन्छिन्
मैले उनीलाई मेरो ढुकुटीनाथ बनाएँ
तर उनीले मलाई आफ्नै घरको भिखारी दर्ज्याइन्
मैले उनीलाई मेरै सम्पतीको सूरक्षाप्रमुखमा मनोनयन गरें
तर उनीले मलाई आफ्नै घरको सम्पति चोर्ने चोर बनाइन्
मैले उनीलाई मेरै महलको रानी बनाएँ
तर उनीले मलाई चिसो रातमा दलिनमा सुत्ने भुस्या कुकुर दर्याइन्
उनी ऐश्वर्य, गृहनाथ र सदा हर्षित
म भट्टीको ॠणी,जाँडखर्चले चिन्तित र सदा बिश्मित
हामी जोईपोई नदीका दुई किनारा
उनी सबैकी हाई हाई म बबुरो कठै विचारा
त्यसैले हे ससुराबा !
तिमी परमन नबुझ्ने परधनका आरिसे मनुवा
तिमी आफ्नो नाशो आफैँ लैजाऊ
मलाई आफ्नै सम्पतीको रस पियुन देऊ ।
इति
